८ असार २०८१ शनिबार
image/svg+xml
खेल

सामाजिक उत्तरदायित्वको रकम खेलकुदमा प्रयोग होस्

खेलक्षेत्रमा व्यवसायको सामाजिक उत्तरदायित्व कोष (सिएसआर) को रकम प्रयोग गर्नका लागि पहल गरिदिन नेपाल सुपर लिग (एनएसएल) की अध्यक्ष आश्रयता कार्की चौधरीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेकी छन्।

चौधरीले बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रचण्डलाई भेट गरी सिएसआरको रकम प्रयोग गर्न सके त्यसले खेलक्षेत्रमा पुर्याउन सक्ने सकारात्मक प्रभावहरूको विषयमा ध्यानाकर्षण गराएकी हुन्। चौधरीका अनुसार प्रचण्ड पनि यस विषयमा सकारात्मक देखिएका छन्। उनले नेपाल सुपर लिगले निजी क्षेत्रलाई जोड्दै खेल र खेलाडीका लागि आवश्यक लगानी भिœयाउने र नेपाली खेलक्षेत्रलाई थप व्यावसायिक र अन्तर्राष्ट्रियकरण गर्न प्रयास गरिरहेको बताइन्। भेटघाट कार्यक्रममा एनएसएलका प्रबन्धक निर्देशक श्रीयान्स कार्की र सिइओ सुदीप शर्मा पनि उपस्थित थिए।  

‘नेपाली खेलक्षेत्रले असीमित सम्भावना बोकेको छ। सीमित स्रोत, साधन र लगानीका बावजुद पनि नेपाली खेलकुद क्षेत्रले सधैं उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको छ। उचित लगानी र निजी क्षेत्रलाई पनि संलग्न गराउने हो भने समग्र नेपाली खेलकुद क्षेत्रले काँचुली फेर्न सक्छ,’ प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ध्यानकर्षण पत्रमा भनिएको छ, ‘खेलाडी र खेलकर्मी खेलेर जीवन निर्वाह गर्ने वातावरण बनाउन सकिन्छ। त्यसका लागि व्यवसायहरूले सामाजिक उत्तरदायित्व (सिएसआर)मा छुट्ट्याइएको रकमलाई खेलक्षेत्रमा प्रयोग गर्न पाइने नियम लागू गर्न सकिएमा यसले लगानी बढ्न गई समग्र खेलक्षेत्रलाई माथि उकास्न सहयोग पुग्नेछ।’ प्रधानमन्त्रीले पनि यस विषयमा आफू सकारात्मक रहेको जानकारी गराएका थिए। 

प्रकाशित: ५ जेष्ठ २०८० ०१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App