५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

भलिबल विकास गर्न ट्यालेन्ट हन्ट गरिदैं

गतवर्ष गण्डकी प्रदेश खेलकुद परिषदले एथलेटिक्सको ट्यालेन्ट हन्ट गर्यो। १५ लाख रुपैयाँ खर्च गर्यो। १५ लाख रुपैयाँले ४० जना खेलाडीलाई एथलेटिक्सका खेलाडीलाई आवासीय सुविधा प्रदान गर्ने निर्णयसहित प्रदेशका ११ वटै जिल्लाबाट खेलाडी छनोट गरेको थियो।  

गतवर्ष एथलेटिक्समा गरेको ट्यालेन्ट हन्ट अहिले नयाँ सदस्य सचिवको आगमनसँगै नयाँ खेलमा  ट्यालेन्ट हन्ट गर्ने योजना सार्वजनिक गरेको छ। गतवर्ष तेजबहादुर गुरुङ प्रदेश खेलकुद परिषद गण्डकीको सदस्य सचिव हुँदा एथलेटिक्समा ट्यालेन्ट गरेका थिए। उनी आफैं पनि भुतपूर्व खेलाडी मञ्चमा समेत आवद्ध थिए। भुतपुर्व खेलाडी मञ्चले वर्षेनी पोखरा म्याराथन गर्दै आएको छ। एथलेटिक्समा आवद्ध उनले तत्कालिन समयमा एथलेटिक्स खेलाडी उत्पादन गर्ने लक्ष्यसहित १५ लाख रुपैयाँ खर्च गरेका थिए।  

दुईदिन अघि मात्रै नवलपुरका श्रीधर शर्माले प्रदेशको सदस्य सचिवको जिम्मेवारी पाएसँगै पदबहाली समेत गरेका हुन्। पदबहालीको दोस्रो दिनमा उनले भलिबल खेलको विकास र विस्तार गर्ने योजना अघि सारे। शर्मा आफैं पनि भलिबलका खेलाडी हुन्। राष्ट्रिय खेल भलिबल पछिल्लो समय पोखरामा निकै कमजोर बन्दै गएको छ। भलिबल खेल शिथिल हुदैं गएको छ। प्रदेश खेलकुद परिषद गण्डकीले खेल्छ गण्डकीलाई अघि सारेका छन्। त्यही कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको महिला भलिबल खेलको विकासमा अघि बढ्ने योजनासहित छलफल शुरु गरेको छ।

परिषदको बुधबार बसेको बैठकले खेल्छ गण्डकी मार्फत प्रदेशको भलिबल खेल विकासका लागि अघि बढाउने निर्णय गरेको हो। परिषदका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा बसेको बैठकमा कार्यपत्र प्रस्तुत गर्दै परिषदका सदस्य तथा खेल्छ गण्डकी कार्यक्रमका संयोजक खगेन्द्र क्षेत्रीले प्रदेशको महिला भलिबल खेलाडी उत्पादन कमजोर बन्दै गएको बताउँदै अब प्रदेशले खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने औंल्याए। उनले आार्थिक वर्ष २०७९/०८० का लागि विनियोजित रकमको ३० लाख रुपैयाँ खर्च गरिने उल्लेख गरे।  

नेपालको राष्ट्रिय खेल समेत रहेको भलिबलमा पछिल्लो समय प्रदेशको टिम कमजोर बन्दै गएकोमा सबैका लागि चिन्ताको विषय रहेको उल्लेख गर्दै उनले खेल्छ गण्डकी मार्फत पहिलो फेजमा महिला भलिबल खेलाडी उत्पादनमा खर्च गर्नुपर्ने बताए। एसइई दिएर बसेका विद्यार्थीहरुलाई ट्यालेन्ट हन्टको माध्यमबाट  ११ वटै जिल्लाबाट ४० जना महिला भलिबल खेलाडीलाई पोखरामा १० दिने आवाशिय सुविधा सहितको प्रशिक्षण दिइने छ। ४० जनाबाट १२ जना छनौट गरी उनीहरुलाई पोखरामा नै राखेर छात्रवृत्ति  ११ र १२ कक्षा अध्ययन गर्ने सुविधाका लागि समेत परिषदले समन्वय गर्ने उनले प्र्रस्तु गरेको कार्यपत्रमा उल्लेख छ । उच्च मावी शिक्षा परिषद गण्डकी, निजी विद्यालयहरु, निजी क्षेत्रको सहभागिता, भलिबल संघ, शिक्षा मन्त्रालय संग समन्वय गरेर अघि बढ्ने परिषदले जनाएको छ।

खेल्छ गण्डकी कार्यक्रम प्रदेशकै खेलकुद विकासका लागि महत्वपूर्ण कार्यक्रम रहेको बताउँदै सदस्य सचिव शर्माले पहिलो चरणमा महिला भलिबल खेलाडी उत्पादनका लागि खर्च गरिने भए पनि क्रमैसंग आगामी दिनमा सबै खेलहरुका लागि सुरुवात गरिने बताए। उनले भने ‘यो कार्यक्रम प्रदेशको खेलकुद विकासका लागि एक महत्वपूर्ण र सकारात्मक कार्यक्रम हो। हाम्रो पहिलो ध्यान खेलाडी उत्पादनमा नै हो। खेलहरुलाई क्रमैसँग यस प्रकारका परियोजना अघि बढाउने छौं साथै १० औं राष्ट्रिय खेलकुदमा सर्वाधिक पदक जित्ने लक्ष्यका साथ अघि बढ्छौं।’

प्रकाशित: ४ जेष्ठ २०८० ०७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App