१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

दोस्रो बागमती प्रदेश खेलकुद जेठ ७ गतेबाट, तयारी तीव्र

प्रदेश खेलकुदको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री, सदस्य सचिव लगायत।

बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा यही जेठ ७ गतेबाट दोस्रो प्रदेश खेलकुद प्रतियोगिता हुने भएको छ।

प्रदेशका खेल प्रतिभाको खोजी, प्रदेशको टिम तयार र खेलाडीलाई नियमित अभ्यास र प्रशिक्षणको वातावरण बनाउने उद्देश्यका साथ हुन लागेको प्रदेश खेलकुदको तयारी अन्तिम चरणमा पुगेको छ। 

यस वर्ष विभिन्न १३ वटा विधामा ७९४ पदकका लागि २ हजार ५०२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। अघिल्लो वर्ष ८ वटा विधामा स्पर्धा भएकोमा यस वर्ष फुटबल, भलिबल, एथ्लेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, उजु, जुडो, क्रिकेट, रग्बी, ब्याड्मिन्टन, पौडी र आईटिएफ तेक्वान्दोको खेल सञ्चालन हुने बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए।

‘एक हजार ७५ महिला र एक हजार ४२७ पुरुष गरी २ हजार ५०२ जना खेलाडीले २१९ स्वर्ण, २१९ रजत र ३५६ कास्य गरी ७९४ पदका लागि खेल्नेछन्’, उनले भने, ‘पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार समेत प्रदान गर्नेछौँ। प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले जनही क्रमशः नगद ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।’

प्रतियोगिताका लागि करिब ९ करोड ४२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। ७ गते बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले दोस्रो प्रदेश खेलकुदको उद्घाटन गर्ने कार्य तालिका रहेको छ।

हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने उद्घाटनमा खेलाडीहरुको मार्चपास सहित नेपाल आर्मी र नेपाल प्रहरीको प्रस्तुति, झाँकी र राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने भण्डारीले बताए। 

महिला तथा पुरुष फुटबल, एथ्लेटिक्स, महिला र पुरुष भलिबल, रग्बी, कराते, तेक्वान्दो, आइटिएफ तेक्वान्दो, बक्सिङ र ब्याड्मिन्टन हेटौंडामा हुनेछ भने उसु र जुडो काठमाडौंमा हुनेछ। पौडी ललितपुरमा र महिला तथा पुरुष क्रिकेट प्रतियोगिता चितवनमा हुनेछ।

‘हामीले सकेसम्म धेरै खेल प्रदेशको राजधानी हेटौंडामै गर्ने जमर्को गरेका छौं । दोस्रो बागमती प्रदेश खेलकुदका लागि विभिन्न उपसमिति बनाएर काम गरिरहेका छौं’, सदस्य सचिव भण्डारीले भने, ‘तयारी करिब अन्तिम चरणमा पुगेको छ। पिप्ले–क्याम्पा रंगशालामा एथ्लेटिक्स ट्याक बनाउने र चौर मर्मत तथा सर-सफाइको काम भैरहेको छ।’

खेलकुदलाई प्राथमिकता दिएका छौं: मन्त्री मोक्तान

बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रदेश सरकारले खेलकुदलाई विशेष प्राथमिकतामा राखेको बताएकी छिन्।

‘प्रदेश खेलकुद प्रतियोगितालाई बागमती प्रदेशकै सानको रुपमा अघि बढाएका छौं । यसको तयारी करिब पूरा भएको छ’, मन्त्री मोक्तानले भनिन्, ‘खेल क्षेत्रको विकास गर्ने उद्देश्यले यस वृहत् प्रतियोगितालाई निरन्तरता दिँदै आएका छौं।’

खेल क्षेत्रको लगानीलाई थप व्यवस्थित गरिने उनको भनाई थियो। ‘हामीले खेलकुदसहित प्रदेशको सर्वाङ्गीण विकासका लागि काम गरिरहेका छौं’, मोक्तानले थपिन्, ‘अन्य कुनै प्रदेशले यसरी प्रदेश खेलकुद नगरिरहेको अवस्थामा हामीले खेलकुद विकास परिषद्मार्फत यसलाई निरन्तरता दिइरहेका छौं। आगामी वर्षहरूमा पनि यसले निरन्तरता पाउनेछ।’ 

प्रकाशित: २ जेष्ठ २०८० १०:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App