वसुन्धरा नेसनल एकेडेमी (बिएनए) को आयोजनामा बुधबारदेखि सुरु हुने छैटौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ४८ टोलीको सहभागिता रहने भएको छ।
सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टोलीको सहभागिता रहने बिएनएका प्रिन्सिपल टंककुमार चापागाईंले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
सिनियर ब्वाइज टोलीलाई ८ समूह तथा बाँकी समूहका टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ। सिनियर ब्वाइजको खेल भने थ्री बाइ थ्री फम्र्याटमा हुनेछ।
साताव्यापी प्रतियोगिता सञ्चालन गर्न करिब चार लाख रूपैयाँ खर्च हुने बिएनएका को-ओर्डिनेटर सन्तोष फुयालले बताए। खेलहरू वसुन्धरास्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ। सिनियर ब्वाइजमा ग्रिनल्यान्ड, जुनियर ब्वाइजमा एन्जल्स हार्ट र सिनियर गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन्।
प्रकाशित: २७ वैशाख २०८० ०१:३४ बुधबार