५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय भलिबलको ट्रफी सार्वजनिक

एनएससी-काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको ट्रफी सोमबार सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच ट्रफी सार्वजनिक गरे।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिता जेठ ८ गतेदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुँदै छ।

प्रतियोगितामा दक्षिण र मध्य एसियाबाट ८ राष्ट्रको सहभागिता रहने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी गराए। नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्बेकिस्तान र काजाकिस्तानले प्रतियोगितामा भाग लिनेछन्। सदस्य–सचिव घिसिङले नेपाली टोलीलाई ह्याट्रिक उपाधिका लागि शुभकामना दिँदै भने, ‘तपाईंहरूले दुई पटक उपाधि जितेर आफूलाई प्रमाणित गरिसक्नुभएको छ। मलाई विश्वास छ, तपाईंहरूले फेरि उपाधि जितेर ह्याट्रिक गर्दै इतिहास रच्नुहुनेछ। सफलताका लागि कप्तान, खेलाडी, प्रशिक्षक, भलिबल संघका पदाधिकारी सम्पूर्णलाई शुभकामना छ।’

अध्यक्ष चन्दले प्रतियोगिताका लागि राखेपले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै २०८० को अन्त्यतिर काभा क्लब भलिबल च्याम्पियनसिप आयोजना गर्ने सोच रहेको बताए।

कार्यक्रममा प्रतियोगिताका लागि ढोरपाटन क्लबले पनि आर्थिक सहयोग हस्तान्तरण गरेको थियो। क्लबकी वरिष्ठ उपाध्यक्ष छलकुमारी छन्त्यालले भलिबल संघका कोषाध्यक्ष श्याम श्रेष्ठलाई १ लाख नगद हस्तान्तरण गरिन्।

प्रकाशित: २६ वैशाख २०८० ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App