४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

फुटबल खेलाडीलाई सरकारको पारितोषिक

काठमाडौं- तीन महिनाअघि एएफसी सोलिडारिटी कपको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार सरकारबाट पुरस्कृत भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले विजेता २३ खेलाडीका साथै मुख्य प्रशिक्षक ग्योटुको कोजी, सहायक प्रशिक्षक राजुकाजी शाक्य, गोलकिपिङ प्रशिक्षक उज्ज्वल मानन्धर र फिजियो सुरज भुसाललाई चेक हस्तान्तरण गरेका थिए। खेलाडीलाई ३ लाख, प्रशिक्षकहरूलाई २ लाख र अन्यलाई ५० हजार रुपैयाँ प्रदान गरिएको थियो। कार्यक्रममा प्रधानमन्त्री दाहालले पुरस्कार वितरण कार्यक्रम पहिले नै तय भए पनि विभिन्न कारण पछि धकेलिएको बताए।

‘हामीले यो कार्यक्रम पहिल्यै गर्न खोजेका थियौं। तर कहिले खेलाडी विदेशमा हुने, त कहिले सरकारको आफ्नै व्यस्तताले गर्दा गर्न सकिरहेका थिएनौं,’ दाहालले भने, ‘आजको यस सम्मानले खेलाडीलाई भविष्यमा अझै राम्रो प्रदर्शन गर्न मनोबल प्रदान गर्ने अपेक्षा गरेको छु। देशलाई भावानात्मक रूपमा एकताबद्ध गर्न खेल र खेलाडीको महŒवपूर्ण भूमिका हुने गर्छ। देशमा अहिले संविधान जारी भएर कार्यान्वयनको अवस्थामा छ। यस्तो संक्रमणकालीन अवस्थामा तपाईंहरुको भूमिका अझ महŒवपूर्ण छ। पुरस्कार घोषणा हुने तर कार्यान्वयन नहुने उदहारण धेरै छन्। तर अब भविष्यमा त्यस्तो नहोस् भन्ने म चाहन्छु।’

सुजल श्रेष्ठको गोलमा नेपालले फाइनलमा मकाउलाई १–० ले पारजित गर्दै कात्तिक ३० गते सोलिडारिटी कपको उपाधि जितेको थियो। सेमिफाइनलमा लाओसलाई टाइब्रेकरमा ३–० ले पराजित गरेको थियो। समूह चरणको पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा ब्रुनाइलाई ३–० ले हराएको थियो। त्यसअघि नेपाली यु–२३ टोलीले दक्षिण एसियाली खेलकुद (साग) को फुटबलमा स्वर्ण पदक जितेको थियो भने बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकपको उपाधि उचालेको थियो। सरकारले साग विजेता टोलीलाई ३ लाख र बंगबन्धु गोल्डकप विजेतालाई २ लाख रुपियाँ नगद पुरस्कार दिने घोषणा गरेको थियो। खेलाडीले एक वर्ष बितिसक्दा पनि अझैे पुरस्कार पाउन सकेका छैनन्। साग गत वर्ष फागुनमा भारतको गुवाहटी र सिलोङमा भएको थियो।

त्यसअघि राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङले अन्तर्राष्ट्रिय स्तरको रंगशाला नहँुदा फुटबल मर्कामा परेको बताए। उनले एसियन कप छनोट प्रतियोगिताबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै अनिलले रंगशाला अभावमा ‘होम’ खेल अन्योलमा परेको बताए।

‘खुसी लागेको छ। यस्तो सम्मानले खेलाडीको मनोबल बढाउन मद्दत गर्छ। आगामी दिनमा योभन्दा राम्रो नतिजा ल्याउन प्रयास गर्नेछौं,’ अनिलले प्रधानमन्त्रीलाई गुहारे, ‘तर, एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला नहुँदा हामी घरेलु मैदानमा खेल्नबाट वञ्चित हुनुपरेको छ। हामी चाँडै एसिया कप छनोट खेल्न फिलिपिन्स जाँदै छौं। यो प्रतियोगता होम एन्ड अवेका आधरमा हुने भएकाले त्यसपछि होममा खेल्नुपर्ने हुन्छ। तर, हामीसँग त्यसका लागि रंगशाला छैन। घरेलु मैदानमा खेल्दा नतिजा नै फरक आउन सक्छ। त्यसैले यही कार्यक्रमबाट रंगशाला निर्माणमा पहल गरिदिनुहुन अनुरोध गर्दछु।’

एसियाली फुटबल महासंघ (एएफसी) ले छनोटका प्रारम्भिक चरण पार गरेको ग्वामले सहभागिता फिर्ता लिएपछि नेपाललाई एसियन कपको तेस्रो चरणको प्रतिस्पर्धामा सहभागी हुने महत्वपूर्ण मौका दिएको हो। होम एन्ड अवे (आफ्नो र विपक्षीको मैदान) पद्दतिमा खेल्नुपर्ने प्रतियोगितामा नेपालले फिलिपिन्स, ताजकिस्तान र यमनसँग प्रतिस्पर्धा गर्नेछ। अवे खेलका लागि उनीहरुको मैदानमा भ्रमण गरे पनि नेपालले होम खेलका लागि जुन १३ मा यमन, सेप्टेम्बर ५ मा ताजकिस्तान तथा नोभेम्बर १४ मा फिलिपिन्सलाई निम्त्याउनुपर्नेछ।

खेलकुदमार्फत विश्वका थुप्रै राष्ट्रले आर्थिक उन्नति गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले सम्बन्धित निकायसँग छलफल गरेर चाँडोभन्दा चाँडो रंगशाला निमर्ााणका लागि पहल गर्ने आश्वासनलाई निरन्तरता दिए।

‘खेलकुद मन्त्रालय र राखेपलगायतका सम्बन्धित निकायसँग छलफल गरेर चाँडोभन्दा चाँडो काम थाल्ने विश्वास दिलाउन चाहन्छु,’ अघिल्लो कार्यकालमा प्रधानमन्त्री हुँदा पनि काठमाडौंमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने आश्वासन दिएका दाहालले थपे, ‘हावापानी, सुन्दरता तथा यहाँको वातावरणका कारण विश्वका थुप्रै खेल नेपालमा गर्न सम्भव छ। यसले आर्थिक विकासमा पनि सहयोग गर्नेछ।’

नेपाललको एक मात्र अन्तर्राष्ट्रिय दशरथ रंगशाला भूकम्पका कारण क्षत–विक्षत भएपछि नेपालले घरेलु मैदानमा फुटबल खेल्न पाएको छैन। भूकम्प गएको २ वर्ष बित्न लाग्दा बल्ल रंगशाला पुनर्निर्माण कि मर्मत गर्ने विवादको टुंगो लागेको छ। राखेपका अनुसार रंगशाला मर्मत गरी पूर्ण रूपमा सञ्चालन गर्न अझै कम्तीमा ३ वर्ष लाग्नेछ।

प्रकाशित: ३ फाल्गुन २०७३ ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App