२५ असार २०८१ मंगलबार
image/svg+xml
खेल

गण्डकीभित्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाः ‘वैकल्पिक मैदान बने पोखरा क्रिकेट डेष्टिनेसन बन्नेछ’

मंगलबार नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेसँगै एशिया कपको लागि छनोट भएको छ। त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा संयुक्त अरब ईमिरेट्स (युएई) लाई सात विकेटले पराजित गर्दै २१ वर्षपछि एशिया कपमा छनोट भएको हो।  

कमजोर पूर्वाधार बीच नेपाली क्रिकेटले पाएको यो सबैभन्दा ठूलो उपलब्धी हो। अघिल्लो महिना मात्रै यु-१९ क्रिकेट टिम विश्वकप छनोट भएसँगै क्रिकेटमा नयाँ उत्साह थपिएको छ। पूर्वाधार निर्माण गर्नुपर्ने दबाव सरकारलाई परेको छ। इतिहास कोरेको नेपाली क्रिकेटले भने गतिलो पूर्वाधार पाउन अझै सकेको छैन्। राजधानीमा मुलपानी क्रिकेट मैदानले एकदिवसीय मान्यता पाएको छ। मुलपानी बाहेक नेपालमा एकमात्र अन्तर्राष्ट्रिय मैदानको रुपमा टियुको मात्रै चिनिन्थ्यो।  

मोसफल भने क्रिकेट पूर्वाधार अझै कमजोर छ। चितवनमा गौतमबुद्ध क्रिकेट रंगशाला अलपत्र छ। पोखराको अन्तर्राष्ट्रिय मैदानमा पर्याप्त पूर्वाधार छैन्। दाङको लमहीमा क्रिकेट मैदानसहितको पूर्वाधार तयार हुदैंछ। खेलकुदको शहर पोखरामा पनि अन्तराष्ट्रिय क्रिकेट मैदान बन्ने सपना अझै साकार बन्न सकेको छैन्। गण्डकी प्रदेश सरकार निर्माणसँगै आफनै अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लक्ष्य राखिएको थियो। जग्गा प्राप्ती भयो। तर लक्ष्य भने लक्ष्यहीनमा छ। नेपालले मंगलबार ऐतिहासिक उपलब्धी हासिल गरेसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशभित्र अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने अठोट लिएका छन्।  

मुख्यमन्त्री पाण्डेले आफनो सामाजिक सञ्जालमा लेखेका छन, ‘जित सारा नेपालीको भावनासँग जोडिएको छ। कमजोर पूर्वाधारका बीच यति उच्चस्तरीय प्रदर्शनबाट पुलकित भएको छु। साथै गण्डकीको क्रिकेट बिकासको लागि सरकारको नेतृत्वको हिसाबले केही नयाँ गर्ने अठोट लिएको छु। प्रदेशभित्र अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको लागि यही वर्षबाट आवश्यक बजेट बिनियोजन गरी पूर्वाधार निर्माणको काम थालनी गर्ने प्रतिबद्धता जनाउँदछु। पुनः एकपटक नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई ज्ञापन गर्दछु।’

जब जब उपलब्धी हासिल हुन्छ। तब सरकारको प्रतिबद्धता आउने गरेको छ। तर प्रतिबद्धता कार्यान्वयनमा भने आएको देखिदैन्। मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता अनुसार क्रिकेट खेलाडी, क्रिकेटप्रेमी तथा क्रिकेट संघ आशावादी देखिएको छ। प्रदेश सरकारले भोगाधिकार पाएको पोखरा–३३ पशुपतिघाटमा गण्डकी प्रदेश अन्तर्राष्ट्रिय मैदान बन्नेमा विश्वस्त देखिएको छ। पशुपतिघाटको १७५ रोपनी क्षेत्रफलको जग्गा क्रिकेट मैदानको लागि छुट्टाइएको छ। तर छुट्टाइएको जग्गामा प्रदेश सरकारको लगानी भने शून्य जस्तै छ।  

गण्डकी प्रदेश सरकारको बहुप्रतिष्ठित योजना प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने योजना अझै शुरु भएको छैन्। प्रदेश सरकारले क्रिकेट मैदानको लागि १ अर्ब ६५ करोड (अनुमानित) विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)  बनाएको तीनवर्ष वित्यो। ‘प्रदेश सरकारले विस्तृत अध्ययन प्रतिवेदन बनाउन गरेको खर्च बाहेक क्रिकेट रंगशाला बनाउन लगानी गरेको छैन्।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल बताउँछन्। उनका अनुसार क्रिकेट रंगशाला निर्माणको लागि कार्यदल समेत गठन गरी आवश्यक सुझाव पेश गरिएको थियो। सुझाव अनुसार तत्कालै आवश्यक पर्ने मैदान सम्याउने र पीच तयार गर्ने काम मात्रै भएपनि गर्नुपर्ने थियो। तर प्रदेश सरकारले बजेट नदिदाँ कुनै काम अगाडि बढ्न नसकेको उनको गुनासो थियो।  

अन्तराष्ट्रिय प्रतिस्पर्धाको लागि दुईवटा मैदान अनिवार्य चाहिन्छ। तर पोखरामा पोखरा रंगशालाभित्रको क्रिकेट मैदान बाहेक अर्को छैन्। पशुपतिघाटमा प्रदेश सरकारले लगानी गर्ने उदघोष गरेसँगै उत्साहित बनेका क्रिकेटप्रेमी निराश छन्। यद्यपी फेरी मुख्यमन्त्री पाण्डेको प्रतिबद्धताले आशा पलाएको छ।

 ‘मुख्यमन्त्रीको प्रतिबद्धता कार्यान्वयनमा हुनुपर्छ,’ क्रिकेट संघ कास्कीका अध्यक्ष सिग्देलको भनाई थियो। प्रदेश सरकारले जग्गा प्राप्तीपछि दुई करोड रुपैयाँ छुट्टाएको थियो। २५ लाख रुपैयाँ सेतीनदीको कटान रोक्न र बाँकी १ करोड ७५ लाख रुपैयाँले मैदान र पीचको काम गर्ने भनिएको थियो। तर बजेट वर्षेनी फ्रिज हुदैं गएपछि चर्चा सेलाउन पुग्यो।  

प्रदेश सरकारले पशुपतिघाटमा बनाउने भनिएको रंगशाला फेज आउट भएको छ। भौगोलिक अवस्थाकै कारण पशुपतिघाटमा क्रिकेट मैदान बनाउन नसकिने इंकित भईसकेपछि गण्डकी प्रदेश क्रिकेट संघले पोखरा—१४ बाच्छेवुडुवामा क्रिकेट मैदान बनाउन उपयुक्त हुने ठहर गरेको छ। ‘पशुपतिघाटमा क्रिकेट मैदान बनाउने ठूलै योजना अघि सारिएको थियो। तर भौगोलिक अवस्थाले फेजआउट भएको छ।’ प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष देवेनसन प्रजु भन्छन, ‘हामीले बैकल्पिक मैदान चाहियो भनेर लागिपरेका छौं। मुख्यमन्त्रीको अभिव्यक्तिले मूर्तरुप लिए पोखरा क्रिकेटको अर्को डेष्टिनेसन बन्छ।’  

केही समय अघि मात्रै तत्कालिन सामाजिक, स्वास्थ्य तथा खेलकुद मन्त्री पञ्चराम गुरुङसहित क्रिकेट संघका पदाधिकारीले तत्कालिन ल्याण्डफिल साईटको पुरिएको जग्गालाई क्रिकेट मैदान बनाउन सकिने बारे अध्ययन गरेको थियो। अध्ययन अनुसार क्रिकेट मैदान बनाउन सकिने सम्भावना देखिएको क्रिकेट संघका पदाधिकारीले औल्याएका थिए। ‘अब बैकल्पिक मैदानको अभावमा पोखरा सधै ओझेलमा पर्छ। त्यसैले क्रिकेट विकासमा कमजोर हुन नदिन बैकल्पिक मैदान खाँचो छ। प्रदेश सरकारले बनाउनैपर्छ । मैदान बन्यो भने क्रिकेटको डेष्टिनेशन बन्छ।’  

प्रकाशित: १९ वैशाख २०८० १०:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App