१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

लिमचुङबुङमा भलिबलः पुरुषतर्फ झापा र महिलातर्फ भोजपुर विजयी

विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष राई र खेलकुद अध्यक्ष बुढाथोकी। तस्विरः महेश्वर

उदयपुरको बिकट पहाडी गाउँपालिका लिमचुङबुङमा आयोजित भलिबल प्रतियोगिता पुरुषतर्फ दमक र महिलातर्फ आमचोक गाउँपालिका विजयी हुँदै सम्पन्न भएको छ। नयाँ वर्ष २०८० को स्वागतमा गाउँपालिकाद्वारा आयोजित प्रतियोगितामा झापा र भोजपुरका खेल समूहले विजयी हासिल गरेका हुन्। 

मंगलबार दिउँसो सम्पन्न फाईनल खेलमा दमक नगरपालिकाले सदरमुकाम त्रियुगा नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै विजयी हुँदा महिलातर्फ भोजपुरको आमचोक गाउँपालिकाले आयोजक लिमचुङबुङलाई पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो। पुरुषतर्फ उदयपुरकै ताप्ली गाउँपालिका तेस्रो हुँदा महिलातर्फ ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकालाई तेस्रो हुने मौका जुरेको छ। 

आयोजक गाउँपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष मनोज बुढाथोकीका अनुसार पुरुषतर्फ दमक र त्रियुगासहित उदयपुरकै ताप्ली, रौतामाई र घरेलु टिम लिचमुङबुङका क, ख र ग समूह गरी ७ टिमको सहभागिता थियो। त्यस्तै महिलातर्फ आमचोक, दिप्रुङ चुईचुम्मा, मानेभज्याङ, रौतामाई र घरेलु लिमचुङबुङका क र ख गरी ६ समूहको सहभागिता रहेको थियो। विजयी खेलाडी समूहलाई १ लाख नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ भने उपविजेताले ६० हजार तथा तेस्रो हुने टिमले ४० हजार पुरस्कार पाएका छन्। 

यता फुटबलतर्फको प्रतियोगितामा वडा नं. १ बाँसबोटे विजयी भएको छ। घरेलु टिमहरु ५ वडाको मात्र प्रतिस्पर्धा भएको फुटबलमा बाँसबोटेले वडा नंं २ ताम्लीछालाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो। मंगलबारै भएको फाईनलमा बाँसबोटेका खेलाडीहरू अमिन राई र युनिनले गोल गरेका थिए। मध्यान्तरपछिको खेलमा अमिनले पहिलो गोल गरेर समूहलाई अघि बढाएका थिए भने लगत्तै युजिनले सरासर २ गोल गरेर टिमलाई जितको सुनिश्चित गराएका थिए। 

ताम्लीछाका खेलाडी रेवत कार्कीले गरेको एक गोलले विपक्षी टिमलाई निल हुनबाट बँचायो। प्रतियोगितामा ३ नं. वडा बाराहा र ४ नं. बलम्ताले पनि सहभागिता जनाएका थिए। तर, दुवै टिम सेमिफाइनलभन्दा अघि बढ्न नसकेर पछि हट्न बाध्य भएका थिए। फुटबलतर्फ विजेताले ५० हजार, उपविजेताले ३० र तेस्रो स्थान पाउने समूहले २० हजार नगद पुरस्कार पाएका छन्।  

लिमचुङबुङ गाउँपालिका जिल्लाकै पर्यटनको उच्च सम्भावना बोकेको स्थानीय तह हो। स्थानीय पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले नयाँ वर्ष ०८० लाई स्वागत गर्दै विविध गतिविधि समेट्ने गरी ‘बृहत् हाटबजार कार्यक्रम’ आयोजना गरिएको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताए। पर्यटन विकासमा टेवा पुराउँदै स्थानीय कृषि उपजको प्रदर्शन तथा बिक्री वितरण बढाउने उद्देश्यले खेलकुदसहितको हाटबजार सञ्चालन गरेको राईले बताए। 

वैशाख १ गतेदेखि ५ गतेसम्म सञ्चालित हाटबजार कार्यक्रममा स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य तरकारी, फलफूल तथा पशुपन्छीको प्रदर्शन र बिक्री वितरण स्टलहरू राखिएका थिए। वडा नं. ३ बाराहा कटुवाल भन्ज्याङस्थित राई चोकमा आयोजित हाटबजार कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताए। उनका अनुसार ५ वटै वडाका अगुवा कृषकदेखि सर्वसाधारणसम्मको जमघटले आन्तरिक पर्यटनमा बृद्धि गर्नुका साथै कृषि उपजको बिक्री वितरण गर्ने अवसर मिलेको छ। 

विगत २ वर्षयता गाउँपालिकाले सञ्चालन गर्दै आएको ‘अध्यक्ष कृषि परियोजना’ अन्तर्गत व्यवसायिक कृषि उद्यममा लागेका झण्डै २ दर्जन हाराहारी अगुवा कृषकहरुलाई कार्यक्रममा सम्मानसमेत गरिएको थियो। गाउँपालिकाले गरेको कृषि, व्यापार, खेलकुद र पर्यटनसँग सम्बन्धित यस्तो कार्यक्रम स्थानीयहरूका लागि बहु उपयोगी सावित भएको अधिृकत गुरुङले बताएका छन्। 

प्रकाशित: ६ वैशाख २०८० १३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App