पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ ओमेन ह्विलचेयर बास्केटबल एसोसिएसन (डब्लुडब्लुबिए) ले इन्टरभ्याली ह्विलचेयर बास्केटबल टुर्नामेन्ट २०७९ को उपाधि जितेका छन्।
नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्ट्स एसोसिएसनको आयोजनामा भएको प्रतियोगिताको निकै नै रोमाञ्चक फाइनल खेलमा आर्मीले जावलाखेल ह्विलचेयर स्पोर्ट्स क्लबलाई ४४–३३ अंकले पराजित गर्दै उपाधि उचालेको हो। पहिलो क्वार्टरमा ८–१० ले पछाडि परेको आर्मी खेलमा फर्कंदै दोस्रो क्वार्टरमा १०–९, तेस्रो क्वार्टरमा १४–१० र चौथो क्वार्टरमा १२–४ को अग्रता कायम गर्दै जित निकाल्न सफल भएको हो। आर्मीको जितमा दान थिङको २२ अंकको योगदान रह्यो। यस्तै आर्मीका रमेश खत्री मोस्ट भ्यालुएबल खेलाडी घोषित भए। तेस्रो स्थानमा बुद्धिसरा इन एक्सन रह्यो।
राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिलातर्फ ओमेन ह्विलचेयर बास्केटबल एसोसिएसनले आयोजक नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्ट्स एसोसिएसनलाई पराजित गर्दै उपाधि कब्जा गरेको हो। डब्लुडब्लुबिएले रजनी चामलिङ राईको १३ अंकको योगदानमा फाइनलमा आयोजकलाई १९–२ अंकको अन्तरले पराजित गरेको हो। रजनी मोस्ट भ्यालुएबल खेलाडी पनि घोषित भइन्। तेस्रो स्थानमा ह्विलचेयर स्पोटर््स एसोसिएसन नेपाल रह्यो।
विजयी शीर्ष तीन टोलीले क्रमशः नगद ४० हजार, ३० हजार र २५ हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताका विजयी टोलीलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, बाग्मती प्रदेश सांसद लक्ष्मी घिमिरे लगायतले पुरस्कार वितरण गरेका थिए।
विजयी टोलीलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि राखेपका सदस्यसचिव घिसिङले अपाङ्गता भएका व्यक्तिहरूको यस्ता प्रतियोगिताले सबलाङ्गलाई चुनौती दिएको भन्दै अस्तित्वमा रहेका दुई पारालम्पिक संघलाई एक बनाउँदै अफिसियल रूपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन परिषद्ले कदम चाल्ने बताए
प्रकाशित: २४ चैत्र २०७९ ०१:१० शुक्रबार