८ असार २०८१ शनिबार
image/svg+xml
खेल

भियतनामसँग नेपाल पराजित

नेपालकी सरु लिम्बु (रातो) भियतनामकी एनगुएन थी डोङसँग बल खोस्ने प्रयास गर्दै। तस्बिर सौजन्य: नागरिक

भियतनामलाई ५–१ को नतिजा सुम्पिएसँगै पेरिस ओलम्पिक २०२४ अन्तर्गत एसियाली छनोटको दोस्रो चरणमा स्थान बनाउने नेपाली महिला राष्ट्रिय फुटबल टोलीको लक्ष्यमा धक्का लागेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न समूह ‘सी’ को पहिलो लेगअन्तर्गत पहिलो हाफमा गोलका केही अवसर गुमाएको नेपालले दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गर्दै भियतनाममाथि दबाब सिर्जना गरेको थियो।

११औं मिनेटमा फमा हाई येनको गोलमा भियतनामले अग्रता लिएको थियो। ३५औं मिनेटमा कप्तान ह्युन न्हुले पेनाल्टीको सदुपयोग गर्दैै भियतनामको अग्रता दोब्बर पारेकी थिइन्। नेपालकी समीक्षा घिमिरेले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि भियतनामले पेनाल्टीको अवसर पाएको थियो। ३८औं मिनेटमा नेपालकी अमृता जैसीले गरेको आत्मघाती गोलमा भियतनामले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो।

४८औं मिनेटमा ह्युन न्हुले भियतनामका लागि चौथो गोल गरिन्। ७९औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले गोल गरिन्। उनले सरु लिम्बुको पासलाई जाली चुमाएकी थिइन्। उनको यो ४१औं अन्तर्राष्ट्रिय गोल हो। इन्जुरी समयको पहिलो मिनेटमै नेपालकी कप्तान तथा गोलकिपर एन्जिला तोम्बापो सुब्बा आफ्नो पोजिसनमा नरहेको मौकाको फाइदा उठाउँदै एनगुएन थी डोङले भियतनामका लागि पाँचौं गोल गरिन्। नेपालका मुख्य प्रशिक्षक अनन्त थापाले बलियो प्रतिद्वन्द्वी भियतनामविरुद्ध कम्तीमा अंक बाँड्ने लक्ष्यसहित मैदान उत्रिए पनि त्यो सफल नभएको बताए।

‘आज हामीले विश्वकप खेल्न कस्तो स्तरको फुटबल खेल्नुपर्ने रहेछ भन्ने अनुभव गर्ने अवसर पायौं,’ थापाले भने, ‘भियतनामको टोली प्राविधिक रूपमा निकै अब्बल देखियो। हामीले गोल गर्ने सुनौलो अवसर पाए पनि अमीषा कार्कीले सो अवसरको सदुपयोग गर्न सकिनन्। सायद त्यो गोल भएको भए खेलको नतिजा अर्काे आउन सक्थ्यो। हामीले गल्ती गरिरह्याै र उनीहरूले त्यसको फाइदा उठाइरहे।

’थापाले पहिलो खेलमा गरेको गल्तीमा सुधार गर्दै दोस्रो खेलमा राम्रो नतिजा ल्याउने बताए। उनले भने, ‘हामीले आज नतिजाको हिसाबमा फराकिलो हार व्यहोरे पनि टोलीले बलियो टोलीविरुद्ध गरेको प्रदर्शनले सन्तुष्ट छु। शनिबार हुने दोस्रो लेगमा राम्रो नतिजाका लागि खेल्छौं।’

समूह ‘सी’ मा यसअघि नेपालसहित भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए। तर प्यालेस्टाइन र अफगानिस्तानले आन्तरिक कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपाल र भियतनामले पहिलो चरणमा दुई लेगमा प्रतिस्पर्धा गर्नुपरेको थियो।

छनोट चरणमा सहभागी २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको विजेताले दोस्रो चरणमा स्थान बनाउने छ। उत्तर कोरिया, जापान, अस्ट्रेलिया, चीन र दक्षिण कोरिया गरी फिफा वरीयताको शीर्ष ५ स्थानमा रहेका राष्ट्रले भने यसअघि नै दोस्रो चरणमा स्थान बनाइसकेका छन्। पहिलो चरण पार गरेका ७ र दोस्रो चरणमा सोझै प्रवेश पाएका ५ गरी १२ टोलीले दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन्। भियतनामका प्रशिक्षक मिया डुच चुङले आफूहरूको जित फराकिलो देखिए पनि नेपाली टोलीले राम्रो प्रदर्शन गरेको बताए।

‘हामीले आज सहज जित निकाल्यौं,’ चुङले भने, ‘हामीलाई खेलमा लय भेट्टाउन केही समय लाग्यो। तर समयमै गोल निस्किएपछि खेल्न सहज भयो। नेपाली टोलीले पनि रामो खेल्यो। उनीहरू शारीरिक रूपमा हामीभन्दा अब्बल छन्। प्राविधिक पक्षमा ध्यान दिने हो भने उनीहरूले धेरै राम्रो प्रदर्शन गर्न सक्छन्।’ 

प्रकाशित: २३ चैत्र २०७९ ०१:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App