५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

पोखरामा बुधबारदेखि बलियो नेपाल कप क्रिकेट हुने

बलियो नेपाल कप–२३ क्रिकेट प्रतियोगिताबारे जानकारी गराउँदै आयोजक। तस्बिरः उमेश पुन÷नागरिक

पोखरामा बुधबारदेखि बलियो नेपाल कप–क्रिकेट प्रतियोगिता हुने भएको छ। बलियो नेपाल न्यूट्रिसन ईनिसिएटिभको आयोजनामा बुधबारदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बलियो प्रतियोगिताको तेश्रो संस्करण हुने आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

ग्रासरुट क्रिकेटको विकास गर्दै खेलाडीलाई खेल्ने वातावरणसँगै उनीहरुलाई प्लेटफर्म प्रदान गर्ने उद्देश्यले आयोजित प्रतियोगिता चैत २७ गतेसम्म सञ्चालन हुने बलियो नेपाल न्यूट्रिसन ईनिसियटिभका वित्त तथा प्रशासन ब्यबस्थापक प्रकाश बख्रेलले जानकारी दिए।

प्रतियोगितामा ६ टिमले सहभागिता जनाउने आयोजकले बताएको छ। प्रतियोगितामा ईलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी र पल्सर क्रिकेट एक्सीलेन्स सेन्टरले सहभागिता जनाउने बख्रेलले बताए। उनका अनुसार टि–२० फम्र्याटमा खेलाईने प्रतियोगितामा सहभागि ६ टिमलाई दुई समूहमा विभाजन गरेर लिगकम नक–आउटका आधारमा प्रतिष्पर्धा गराईनेछ।

यसअघि बलियो नेपाल न्यूट्रिसन ईनिसियटिभको आयोजनामा लुम्बिनी प्रदेशका १२ जिल्लाको सहभागितामा पहिलो संस्करण र पाँचवटा प्रदेशको सहभागितामा काठमाडौंमा दोश्रो संस्करणको प्रतियोगिता सम्पन्न गरिसकेको छ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार र दोश्रो हुनेलाई २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिने जनाइएको छ। त्यस्तै, प्रतियोगितामा म्यान अफ दी सिरिज घोषित एक जना खेलाडीलाई नगद १० हजारसहित ट्रफी तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलर एकएक जनालाई नगद ७–७ हजार र ईमर्जिङ प्लेयरलाई नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने बलियो नेपाल न्यूट्रिसन ईनिसिएटिभका छुम्वी लामाले जानकारी दिए।  

त्यस्तै, प्रत्येक खेलमा म्यान अफ दी म्याच बन्न सफल खेलाडीलाई नगद २ हजार ५ सयसहित ट्रफी प्रदान गरिने उनले बताए। ‘पुरस्कार ठूलो कुरा होईन, ‘खेलाडीमा लुकेको प्रतिभा उजागर गर्ने र उनीहरुलाई खेल्ने प्लेटफर्म सिर्जना गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने। उनका अनुसार प्रतियोगितामा सहभागि टिमका सम्पूर्ण खेलाडीलाई खाने, बस्ने सुविधा आयोजकले बेहोर्नेछ।

पत्रकार सम्मेलनमा नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारख खड्काले प्रतियोगिता ग्रासरुट क्रिकेटको विकासमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे। ‘बलियो नेपाल न्यूट्रिसन ईनिसियटिभले ग्रासरुट क्रिकेटको महत्व बुझेको छ। त्यसैले त यसले प्रतियोगिता आयोजना गरेर खेलाडीलाई प्लेटफर्म प्रदान गर्दैछ,’ उनले भने। सबै मिलेर खेलाडीलाई खेल्ने वातावरण निर्माण गर्ने र प्लेटफर्म प्रदान गर्नुपर्ने भन्दै उनले थपे, ‘चाहे सिनियर पुरुष टिमका लागि होस् कि महिला वा अन्य कुनै उमेर समूहका खेलाडीका लागि, सबैलाई खेल्ने माहोल चाहिन्छ।’

नेपाल क्रिकेट संघ (क्यान)का सदस्य ऋषिराम गौतम र कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले क्रिकेटको विकासका लागि प्रतियोगिता हुनु खुशीको कुरा भएकाले यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २१ चैत्र २०७९ १०:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App