विदेशी टोली एभेनियर एफसी क्यामरुन २३औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ।
धरान–१६ स्थित रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसि) झापालाई १–० को गोलअन्तरले हराउँदै पाहुना टोली च्याम्पियन भएको हो। खेलको ६५औं मिनेटमा सावा अलीले गरेको गोल नै एभेनियरलाई उपाधि दिलाउन पर्याप्त बन्यो। उनले डी बक्सनजिकबाट दोस्रो बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो। च्याम्पियन क्यामरुनी टोलीले ट्रफीसँगै नगद १० लाख र उपविजेता झापाले नगद पाँच लाख रूपैयाँ प्राप्त गरे।
प्रतियोगिताको उत्कृष्ट खेलाडी झापाका मिलन राई घोषित भए र उनले नगद एक लाख प्राप्त गरे। तीन गोल गरेका झापाका निसान लिम्बुले सर्वाधिक गोलकर्ताको पुरस्कारस्वरूप नगद ३५ हजार पाए। प्रतियोगिताको उत्कृष्ट डिफेन्डर क्यामरुनका सङ्गु, उत्कृष्ट गोलकिपर एन्फा मोरङका प्रञ्जय गच्छदार, उत्कृष्ट स्ट्राइकर झापाका यमी घोषित भए। उत्कृष्ट मिडफिल्डर क्यामरुनका जोय अल्डो र उत्कृष्ट प्रशिक्षक क्यामरुनका आशिक थापा घोषित भए। विधागत उत्कृष्टले जनही नगद २५ हजार रूपैयाँ पाए।
म्यान अफ दी फाइनल घोषित हुँदै क्यामरुनका रिचर्ड विल्सनले नगद १० हजार रूपैयाँ प्राप्त गरे। धरानका विनोद राईले उदीयमान खेलाडी घोषित भएबापत नगद १० हजार रूपैयाँ पाए। विजेतालाई आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राई, एन्फाका अध्यक्ष पंकज नेम्बाङ, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघालगायतले ट्रफी तथा पुरस्कार वितरण गरे।
प्रकाशित: २१ फाल्गुन २०७९ ०२:३९ आइतबार