२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

थाई प्रशिक्षणले निखारिएकी डुवाना

२०७६ मंसिरमा नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा गौरिका सिंहले ४ स्वर्ण जित्दा १३ वर्षीया डुवाना लामाले जितेको २ रजतको चर्चा ओझेलमा पर्‍यो। यद्यपि दक्षिण एसियाली स्तरमा दुई रजत पनि ठूलो उपलब्धि थियो। व्यक्तिगत विधामा २ र रिले विधामा तीन कांस्य जितेर डुवानाले आफूलाई भावी स्टारका रूपमा संकेत गरिसकेकी थिइन्।  

तीन वर्षपछि गत कात्तिकमा गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुदमा उनले त्यसलाई प्रमाणित गरिन्। फिस्टेल एकेडेमीको पौडी पोखरी (सर्ट कोर्स)मा डुवानाले पाँच राष्ट्रिय कीर्तिमानसहित ९ स्वर्ण र १ रजत जितिन्। पौडीमा एउटै खेलाडीले दर्जनभन्दा बढी स्पर्धामा सहभागी हुन पाउँछन्। राष्ट्रिय खेलकुदको एकै प्रतियोगितामा एउटै खेलाडीले सबैभन्दा धेरै १२ स्वर्ण जितेका छन्। करिष्मा कार्की (पाँचौं राष्ट्रिय खेलकुद) र गौरिका सिंह (आठौं राष्ट्रिय खेलकुद)पछि धेरै स्वर्ण जित्ने रेकर्ड डुवानाकै नाममा छ।

३५ स्वर्णका लागि भएको प्रतियोगितामा डुवानाले सर्वाधिक संख्यामा स्वर्ण जितेकी हुन्। तीन वर्षअघि नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुदमा पनि उनले ५ स्वर्ण र ६ रजत जितेकी थिइन्। पौडीमा बटरफ्लाई र ब्रेस्टस्ट्रोक डुवानाको सबैभन्दा मन पर्ने विधा हुन्। त्यसैले पनि आफूलाई सोही विधामा परिस्कृत गर्दै लगेकी छन्।  

गत असारमा हंगेरीमा आयोजित १९औं फिना विश्व च्याम्पियनसिप र त्यसको दुई महिनापछि पेरूमा आयोजित आठौं फिना विश्व जुनियर स्विमिङ च्याम्पियनसिपमा डुवानाले नेपालको प्रतिनिधित्व गरेकी थिइन्। ५० मिटर र १०० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गरेकी डुवाना जुनियर विश्व च्याम्पियनसिपमा आफ्नो हिटमा पहिलो बनेकी थिइन्। उम्दा करिअरको सपना साकार पार्न परिवार छाडेर थाइल्यान्डमा पढाइ र प्रशिक्षणलाई निरन्तरता दिनु डुवानाका लागि बाध्यता र अवसर दुवै हो। पछिल्लो झन्डै तीन वर्षदेखि डुवानाले थाइल्यान्डमा प्रशिक्षण गरिरहेकी छन्।  

१३औं सागपछि थाइल्यान्डमा स्थायी बसोबास सुरु गरेयता उनको प्रदर्शनमा पनि उल्लेख्य सुधार आएको छ। त्यसअघि पनि उनले नेपालमा स्कुल बिदा भएको समयमा थाइल्यान्डमा प्रशिक्षण गर्ने गरेकी थिइन्। नेपालमा सुविधासम्पन्न पूर्वाधार नहुँदा आफ्नो करिअर विकासका लागि परिवारबाट टाढा रहनु नेपाली स्विमिङ खेलाडीको बाध्यता हो।  

मनाङ स्थायी घर भएकी डुवानाले साढे पाँच वर्षदेखि स्विमिङ सुरु गरेकी हुन्। नेपालको ‘ए’ डिभिजन क्लब मनाङ मस्र्याङ्दीको पदाधिकारी रहिसकेका बुबा मुखिया लामाले छोरीको चाहना पूरा गर्न कुनै कसर बाँकी राखेका छैनन्।  

शंकर होटलको पौडी पोखरीमा सिकेर ६ वर्षको उमेरमै लिटिल एन्जल्स अन्तरविद्यालय पौडी प्रतियोगितामा कान्छी खेलाडीको पुरस्कार पाएयता डुवानाले आफू सहभागी कुनै पनि घरेलु प्रतियोगितामा खाली हात हुनु नपरेको बुबा मुखिया बताउँछन्। प्रशिक्षक शुभ श्रेष्ठले डुवानालाई स्विमिङको पहिलो र आधारभूत ज्ञान दिएका हुन्। ‘सानोमा पानीलाई असाध्यै माया गर्ने र तैरिने प्रयास गरेको देखेपछि प्रशिक्षणमा राखेका हौं। ८ वर्षको हुँदा यु–१० विधामा स्वर्ण जित्न थालिसकेकी थिइन्,’ बुबा मुखिया स्मरण गर्छन्। घरेलु प्रतियोगितामा डुवानाले त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गर्ने गरेकी छन्। गत नवौं राष्ट्रिय खेलकुदमा पनि उनले आर्मीकै लागि पदक जितेकी हुन्।  

१६ वर्षीया यी किशोरी नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष प्रदान गर्ने पल्सर स्पोर्टस अवार्डमा पिपल्स च्वाइस अवार्डका लागि मनोनयनमा परेकी छन्। समर्थक, प्रशिक्षक र खेलपत्रकारको मतका आधारमा विजेता घोषणा हुने यो अवार्डमा उनीसँगै क्रिकेटका आशिफ शेख, टेनिसकी अभिलाषा विष्ट, फुटबलका अञ्जन विष्ट र भलिबलकी उषा भण्डारी छन्।

प्रकाशित: १२ फाल्गुन २०७९ ०१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App