१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

लोटस आईलाई एलपिएल उपाधि

साबिक विजेता सत्यवती एकेडेमीलाई ७ विकेटले पराजित गर्दै लोटस आई इङ्लिस स्कुलले शनिबार सातौं संस्करणको विद्यालयस्तरीय अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को उपाधि जितेको छ।  

कैलालीको धनगढीमा सम्पन्न फाप्ला क्रिकेट मैदानमा सत्यवती एकेडेमीले प्रस्तुत गरेको ९२ रनको लक्ष्य लोटसले ११.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्‍यो। लोटसका लागि लक्की कडायतले ४१ रन बनाए। उनले ३२ बलमा ७ चौका प्रहार गरे। त्यस्तै आयुब चन्दले २८ तथा वीरेन्द्र नाथले १४ रन बनाए।

सत्यवतीका गौतम केसी र प्रतीक श्रेष्ठले समान १ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ रोजेको सत्यवतीले १९.१ ओभरमा सबै विकेट गुमाएर ९१ रनको योगफल खडा गरेको थियो। सत्यवतीका लागि ओपनर इमरान शेखले २७, कप्तान सुजन गौतमले १७ तथा सोनु अन्सारीले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। इमरान र सोनुले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरेता पनि त्यसपछि सत्यवतीका ब्याटरले सम्हालिएको प्रदर्शन गर्न सकेनन्।

लोटसका नरेन साउद र प्रेम शाहले समान ४ विकेट लिए। प्लेयर अफ दी म्याच घोषित साउदले ४ ओभरमा मात्र ६ रन खर्चिए। त्यस्तै शाहले ४ ओभरमा ८ रन खर्चिए। हिक्मत महरा र सुवास रावलले समान १ विकेट लिए।  

उपाधिसहित लोटस आई स्कुलले २ लाख ५१ हजार १ सय ११ रूपैयाँ तथा विजेता ट्रफी प्राप्त ग¥यो भने उपविजेता सत्यवतीले १ लाख २५ हजार ५ सय २५ रूपैयाँ प्राप्त गर्‍यो।

प्रतियोगिताको प्लेयर अफ दी सिरिज लोटस आई स्कुलका आयुब चन्द चुनिए। उनले ५ खेलमा १ सय ७९ रन बनाउनुका साथै ५ विकेट लिएका थिए। आयुबले २० हजार नगद पुरस्कारसहित ट्रफी प्राप्त गरे। बेस्ट ब्याटर लोटसकै योगेस भाट क्षत्री र बेस्ट बलर पनि लोटसकै सन्तोष विज भए। उनीहरूले जनही १० हजार प्राप्त गरे। उदीयमान खेलाडी लिटल फ्लावरका सुबोध तिवारी भए। उनले ५ हजार नगद पुरस्कार प्राप्त गरे। विजेता खेलाडीहरूलाई पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरले पुरस्कार वितरण गरे।

प्रकाशित: ७ फाल्गुन २०७९ ००:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App