१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

लिटल फ्लावर प्रिमियर लिगको तयारी पूरा

धनगढीमा शनिबारबाट सञ्चालन हुने विद्यालयस्तरीय यु-१९ राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को तयारी पूरा भएको छ।

आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले शुक्रबार फाप्ला क्रिकेट मैदानमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो। सोही अवसरमा सातौं संस्करणको प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरिएको थियो।

नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य तथा कैलाली अध्यक्ष विक्रम विष्टले ट्रफी सार्वजनिक गरेका हुन्। सो अवसरमा विष्टले यो प्रतियोगिताले उमेरसमूहका क्रिकेटर उत्पादनमा महत्त्वपूर्ण टेवा पुर्‍याएको बताए। ‘एलपिएल वास्तवमै ग्रासरुटमा खेलाडी उत्पादनको राम्रो प्लेटफर्म बन्न सफल भएको छ,’ विष्टले भने, ‘अहिले यसै प्रतियोगिताबाट उत्पादन भएर राष्ट्रिय टोलीमा परिसकेका खेलाडीसमेत हाम्रै अघि उदाहरण छन्।’

उनले यी लगायत यस्ता अन्य प्रतियोगिताको संरक्षण र बढावा दिनुपर्नेमा जोड दिँदै क्यान त्यसका लागि सबै सहयोग गर्न तत्पर रहेको उल्लेख गरे। सो क्रममा आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगिता सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। ‘उद्घाटन समारोहका लागि गर्नुपर्ने तयारीबाहेक प्रतियोगिता सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको छ,’ शाहीले भने, ‘यो प्रतियोगितालाई थप परिष्कृत र व्यवस्थित बनाउँदै लैजाने हाम्रो प्रयास जारी छ।’

प्रतियोगिताको शनिबार बिहान एक समारोह बीच उद्घाटन गरिनेछ।

यो संस्करणमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। फाप्ला क्रिकेट मैदानमा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले दुई लाख ५१ हजार १ सय ११ र उपविजेताले एक लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी र मेडल पाउनेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उदीयमान खेलाडीलाई नगद पाँच हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई दुई हजार प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक विद्यालयले आफ्नो टोलीमा चार जना नेपालको यु-१९ टोलीका सदस्य समावेश गर्न पाउनेछन्।  

प्रकाशित: २१ माघ २०७९ ०१:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App