६ वैशाख २०८१ बिहीबार
खेल

‘जोकोभिच सर्वकालीन महान्’

अस्ट्रेलियन ओपनको उपाधिसहित स्पेनका राफाइल नाडालको नाममा रहेको २२औं ग्रान्ड स्लामको कीर्तिमान बराबरी गरेसँगै सर्बियाका नोभाक जोकोभिचले विश्व टेनिसमा सर्वकालीन पुरुष खेलाडी को हुन् भन्ने विषय पुनः चर्चामा ल्याएका छन्।

कीर्तिमानी १०औं पटक अस्ट्रेलियन ओपन जितेका कारण जोकोभिच महान् खेलाडी हुन् भन्ने आवाज चर्को छ। अस्ट्रेलियन ओपनमा जोकोभिचसँग हारेका उनका प्रतिद्वन्द्वी स्टेफानोस सित्सिपास उनलाई सर्वकालीन खेलाडी मान्छन्।

‘जोकोभिच विश्व टेनिसका सर्वकालीन खेलाडी हुन् र यसमा दुबिधा छैन,’ सित्सिपासले भने, ‘अस्ट्रेलियन ओपनमा पनि उनी कीर्तिमानी १०औं पटकका विजेता हुन्।’

आइतबार रड लाभार एरेनामा जोकोभिचले सित्सिपासमाथि ६–३,७–६(७–४),७–६ (७–५) को जित निकालेका थिए। सित्सिपासमाथिको जितसँगै जोकोभिच गत जुनपछि पुनः विश्व वरीयताको शीर्ष स्थानमा उक्लिएका थिए। जोकोभिच चिर प्रतिद्वन्द्वी नाडालभन्दा एक वर्ष कान्छा छन्। जसका कारण उनी २३औं ग्रान्ड स्लाम जित्ने सम्भावना जीवितै राखेको छ।

अस्ट्रेलियन ओपनअघि एलिडेल ओपन जितेका जोकोभिच सोही प्रतियोगितादौरान ह्यामस्ट्रिङको समस्याबाट गुज्रिएका थिए। जसका कारण अस्ट्रेलियन ओपनका केही खेलमा समेत उनले पटकपटक मेडिकल स्वास्थ्य सहायता लिएका थिए। तर क्वार्टरफाइनलबाट भने उनी पूर्ण रूपमा फिट देखिएका थिए। २२औं ग्रान्ड स्लामको कीर्तिमान र पूर्ण रूपमा फिट भएकाले पनि जोकोभिचको मनोबल उच्च बनेको छ।

यता चोटका कारण अस्ट्रेलियन ओपनको यात्रा दोस्रो चरणमा अन्त्य गरेका नाडाल पुनः कोर्ट फर्कनेमा शंका छ। गत वर्ष अस्ट्रेलियन ओपन र फ्रेन्च ओपन जितेका नाडाल निरन्तर चोटसँग जुधिरहेका छन्। फ्रेन्च ओपनमा उनी चोटका कारण प्रतियोगिताको बीचबाटै बाहिरिने संघारमा रहे पनि अन्ततः उनी सो चुनौती पार गर्दै उपाधि जित्न सफल भएका थिए। फ्रेन्च ओपन लगत्तै उनले संन्यास लिने चर्चा नचलेको पनि होइन तर उनले कोर्टमै रहने निर्णय लिएका थिए।

विश्व टेनिसमा पुरुषतर्फ १५ वर्ष राज गरेका रोजर फेडेररले अन्तर्राष्ट्रिय टेनिसबाट संन्यासको घोषणा गरिसकेका छन्। उनी २०औं पटकका ग्रान्ड स्लाम विजेता हुन्।

साधारण व्यवहार र विवादबाट टाढा रहन रुचाउने भएकै कारण फेडेरर विश्व टेनिसका समर्थकमाझ प्रिय खेलाडी बनिरहे। जोकोभिच कहिलेकाहीं विवादमा मुछिए पनि समर्थकले उनलाई पनि रुचाएको पाइएको छ।

सन् २०२१ मा जोकोभिचले पेटको मांसपेशीको चोटका बावजुद अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए। तर कोभिड १९ विरुद्धको भ्याक्सिन नलगाएकै कारण गत वर्ष मेलबर्न पुगे पनि डिपोर्ट भएका कारण उनको अस्ट्रेलियन ओपनको उपाधि रक्षा गर्ने लक्ष्यले पूर्णता पाएन। त्यसअघि पनि कोभिड १९ विरुद्धको खोप नलगाएकै कारण उनले युएस ओपनसमेत खेल्ने अवसर गुमाएका थिए। यी दुई प्रतियोगिता खेल्न पाएका भए जोकोभिचको नाममा २३ वा २४आंै ग्रान्ड स्लामको कीर्तिमान बन्न सक्थ्यो।

नाडालले केही समयमा चोटमुक्त हुँदै कोर्टमा पुनरागमन गर्लान्, जसले उनको पनि २३औं ग्रान्ड स्लामको लक्ष्यलाई जीवित राख्नेछ। तर लगातारको चोट र परिवारलाई समेत समय दिनुपर्ने भएकाले पनि नाडालले फ्रेन्च ओपनबाटै संन्न्यासको घोषणा गर्ने सम्भावना प्रबल रहेको छ। 

प्रकाशित: १७ माघ २०७९ ०१:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App