२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अस्ट्रेलियन ओपन: नाडालको सुखद सुरुआत

ब्रिटेनका ज्याक ड्रापरमाथि सोमबार सहज जितसहित साबिक विजेता राफाइल नाडालले अस्ट्रेलियन ओपनको उपाधि रक्षा गर्ने यात्रामा सुखद सुरुआत गरेका छन्।  

यता निक किर्गियोस भने चोटका कारण खेल छोड्न बाध्य भए। नाडालले ड्रापरमाथि रड लाभर एरेनामा ७–५,२–६,६–४,६–१ को जित निकाले।  

‘म निकै उत्साही छु,’ कीर्तिमानी २२औं पटकका ग्रान्ड स्लाम विजेता नाडालले भने, ‘रड लाभर एरेनामा जितसहित उपाधि रक्षााको यात्राको सुरु गर्न पाउँदा खुसी लागेको छ। पछिल्लो केही महिना मेरा लागि सुखद हुन सकेको थिएन।’  

नाडालले दोस्रो चरणमा अमेरिकाका म्याकिन्जे म्याडोनाल्डको सामना गर्नेछन्।  

किर्गियोसले भने खेलअघि कोर्टमै पत्रकार सम्मेलनमार्फत घुँडाको चोटकै कारण प्रतियोगिताबाट नाम फिर्ता लिएको घोषणा गरेका थिए।

‘म निकै दुखी छु,’ विम्बल्डनका उपविजेता किर्गियोसले भने, ‘मैले यसअघि यहाँ निकै राम्रो खेल्दै आएको थिएँ। गत वर्ष मैले डबल्सतर्फको उपाधि जितेको थिएँ। यो प्रतियोगिताले मेरो खेलजीवनमा ठूलो अर्थ राख्दै आएको छ। यस प्रकारले प्रतियोगिताबाट बाहिरिँदा निकै दुख लागेको छ।’

वर्षको पहिलो ग्रान्ड स्लामको रूपमा रहेको अस्ट्रेलियन ओपनमा यसअघि नै चोटका कारण केही शीर्ष खेलाडीले नाम फिर्ता लिएका थिए।

विश्व नम्बर एक कार्लोस अल्भारेजले चोटका कारण प्रतियोगिता नखेल्ने घोषणा गरेका थिए। त्यस्तै दुई पटककी अस्ट्रेलियन ओपन विजेता जापानकी नाओमी ओसाकाले गर्भवती भएका कारण प्रतियोगिताबाट नाम फिर्ता लिएकी थिइन्।  

कीर्तिमानी नौ पटकका अस्ट्रेलियन ओपनका विजेता नोभाक जोकोभिचले यसै संस्करणमार्फत प्रतियोगितामा पुनरागमन गर्दै छन्। गत वर्ष कोभिड १९ विरुद्धको खोप नलगाएकै कारण मेलबर्नबाट जोकोभिचलाई डिपोर्ट गरिएको थियो। उनले मंगलबार पहिलो खेल खेल्दै छन्।  

त्यस्तै तेस्रो वरीयताका स्टेफानोस सितसिपास, १०औं वरीयताका हुबर्ट हुर्काज र ११औं वरीयताका क्यारुन नोरीले पनि सुखद सुरुआत गरे।  

महिलातर्फ इगा स्वायटेकले पनि विजयी सुरुआत गरिन्। स्वायटेकले जर्मनीकी ज्युल नेइमेयरलाई ६–४, ७–५ ले हराइन्।  

‘पक्कै म मेरो खेलमा केन्द्रित थिएँ। ज्युल पनि राम्रो खेलाडी हुन् र उनी मेरा लागि चुनौती बन्न सक्छिन् भन्ने मलाई थाहा थियो,’ स्वायटेकले भनिन्, ‘पहिलो चरण सधँै चुनौतीपूर्ण हुने गर्दछ। उनको चुनौती पन्छाएँ, त्यसैले म खुसी छु।’

त्यस्तै कोको गौफ र जेसिका पेग्युलाले पनि जित निकाले। गौफले चेक रिपब्लिकाकी क्याटेरिना सिनियाकोभामाथि ६–१,६–४ को जित निकालिन् भने पिग्युलाले रोमानियाकी ज्याक्लिन क्रिस्टेनलाई ६–०,६–१ ले हराइन्।

प्रकाशित: ३ माघ २०७९ ०२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App