९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

म्यानचेस्टर डर्बीमा युनाइटेड सफल

मार्कुस रासफोर्डको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेड शनिबार म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटीलाई २–१ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ।

६०औं मिनेटमा ज्याक ग्रिलिसले गरेको गोलमा सिटीले अग्रता लिएको थियो। तर, ७८औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए। खेल सकिन ८ मिनेट बाँकी रहँदा रासफोर्डले गरेको गोल युनाइटेडको जित लय कायम राख्न पर्याप्त बन्यो। इरिक टेन हागको टोलीले सबै खाले प्रतियोगितामा गरी पछिल्ला १३ खेलमा १२ खेल जितेको छ। यता केही दिनअघि मात्र साउथहम्टनसँग २–० ले पराजित हुँदै इङ्लिस लिग कपको क्वार्टरफाइनलबाट बाहिरिएको सिटीको खराब लय दोस्रो खेलसम्म कायम रह्यो।

युनाइटेडमाथि जित निकाल्दै शीर्ष स्थानको आर्सनलसँग अंक दूरी घटाउने लक्ष्य राखेको पेप ग्वार्डिओलाको टोली ओल्ड ट्राफोर्डमा निराश बन्यो। युनाइटेड १८ खेलबाट ३८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ। सिटी भने समान खेलमा ३९ अंकसहित दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको आर्सनलभन्दा पाँच अंक कम हो। आर्सनलले सिटी र युनाइटेडभन्दा एक खेल कम खेलेको छ। यस अघि शुक्रबार भएको खेलमा एस्टन भिल्लाले प्रिमियर लिग अंकतालिकाको १४औं स्थानमा रहेको लिड्स युनाइटेडलाई घरेलु मैदानमा २–१ ले स्तब्ध बनायो।

युनई इमिरेको टोलीले लिड्सविरुद्ध जित निकाल्दा पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो। एस्टन भिल्लाले दोस्रो हाफमा एक गोल थप्दा एक गोल पनि बेहोर्‍यो। एस्टन भिल्लाको मैदानमा आतिथ्यता गरेको लिड्सविरुद्ध घरेलु टोलीले तेस्रो मिनेटमा नै अग्रता लिएको थियो। लियोन बेली गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा थप आक्रामक देखिएको भिल्लाका लागि ईमी बुएन्डियाले ६४औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे।

खेल सकिन सात मिनेट बाँकी रहँदा प्याट्रिक बामफोर्डले लिड्सलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन। ‘लिगमा कठिन अवस्थामा निकालेको सफलताले हामीलाई राहत मिलेको छ। पछिल्ला खेलमा हामीले सुधारिएको प्रदर्शन गरिरहेका छौं,’लियोन बेलीले भने, ‘पहिलो हाफ दबाबमा परे पनि गोल निकाल्दा सहज भयो। अग्रता जोगाउन सक्दा जित सम्भव भयो।’

यस जितसँगै एस्टन भिल्लाले १९ खेलबाट २५ अंक जोडेको छ। एस्टन भिल्ला ११औं स्थानमा छ। पराजित लिड्स भने १७ अंक जोडेर १४ औं स्थानमा छ।

प्रकाशित: १ माघ २०७९ ००:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App