३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

खेलाडीले पारिश्रमिक पाउँछन्, खेल रोकिँदैन-क्यान

नेपाल क्रिकेट संघ (क्यान) जनरल म्यानेजर वृतान्त खनालले सबै खेलाडीले दुई दिनभित्र पारिश्रमिक पाउने र त्यसका लागि खेलाडी पनि सहमत भएको बताएका छन्।

मंगलबार खेलाडीले आफूहरूले पाउनुपर्ने पारिश्रमिक समयमा नपाएको भन्दै खेल्न नमानेपछि उत्पन्न विवादका कारण खेल नै प्रभावित हुन पुगेको थियो। मंगलबार साँझ क्यानले ६ वटै फ्रेन्चाइज टोलीसँगै बैठक बसेपछि खेलाडीको पारिश्रमिक दुई दिनभित्र नै पूर्ण रूपमा दिन फ्रेन्चाइज टोली सहमत भएको क्यानले जनाएको छ। त्यो निर्णयमा खेलाडी पनि सहमत भएको र अब नियमित रूपमा खेल सञ्चालन हुने क्यानका जनरल म्यानेजर खनालले दाबी गरे। लुम्बिनी अल स्टार्सले ५० प्रतिशत र पोखरा एभन्जर्सले १५ प्रतिशत पारिश्रमिक दिइसकेको उनले बताए।

बुधबारबाट काठमाडौं नाइट्सका साथै अन्य टिमको पनि पारिश्रमिक प्रक्रिया अगाडि बढ्ने खनालको भनाइ छ। ‘मंगलबार राती फ्रेन्चाइज टोलीसँग क्यानको बैठक बस्यो। त्यहाँ फ्रेन्चाइजहरूले दुई दिनभित्र सबै पारिश्रमिक दिने बाचा गर्नुभयो। उहाँहरूले खेलाडीलाई पनि कनभिन्स गराउनु भएको छ। खेलाडी पनि सहमत भइसकेका छन्,’खनालले भने। सोमबार राती सेभेन थ्रीका मालिक जतिन अहलुवालिया मैदानमा थिए। तर, मंगलबार जतिन कीर्तिपुरमा नदेखिएपछि उनी भागेको प्रचार फैलाइएको उनले बताए।

‘विदेशी कम्पनीलाई नेपालमा खाता खोल्न समस्या भइरहेको थियो। तर, त्यो प्रक्रिया पनि पूरा भएपछि फेरि भारतबाट पैसा पठाउन समस्या भयो। उनी आफैं भारत जानुपर्ने भएकाले उनी कीर्तिपुर आएनन्,’उनले भने, ‘त्यससँगै सेभेन थ्रीका मालिक भाग्यो भनेर हल्लै हल्लामा समाचार बन्यो।’ त्यसपछि झन् खेलाडी त्रसित भएको उनको भनाइ छ।

आगामी दिन क्यानको नेतृत्व गर्न चाहने र नेपालमा फ्रेन्चाइज लिगबाट व्यक्तिगत लाभ कमाइरहेका समूहले वर्तमान क्यान नेतृत्वलाई बदनाम गराउने उद्देश्यले उक्त भ्रामक सूचना प्रवाह गरिरहेको पनि उनको आरोप छ। खनालले नेपाली क्रिकेटलाई शुद्धतामा राख्ने क्यानले प्रयास गरेको पनि बताएका छन्।

‘एउटा आशांकाकै आधारमा हामीले दुई टिमका गरी चार जनालाई निलम्बनमा राखेका छौं। खेलाडीले कसैबाट समस्या छ भन्नेबितिक्कै हामीले कारबाही गरेका छौं भने हामी कसरी गलत भयौं?,’खनालले प्रश्न गरे, ‘मैदान बाहिर हुने बेटिङ हामीले रोक्न सक्दैनौं। त्यसमाथि पनि मैदान बाहिर हुने बेटिङबारे सिआइबीले कारबाही गरिरहेको छ। तर, पनि हामीलाई एकतर्फी आरोप आइरहेको छ।’

एउटा व्यक्तिले आफ्ना खेलाडीलाई फिक्सिङको प्रस्ताव राखेको भन्ने नेपाल क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले क्यानलाई दिएको सूचनाकै आधारमा एक खेलाडी र म्यानेजरलाई कारबाही गरिएको पनि क्यानका जनरल म्यानेजरले जानकारी दिए। ती दुई जना मंगलबार टिम बाहिर नै रहेको उनले स्पष्ट पारे। 

प्रकाशित: २० पुस २०७९ ०१:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App