१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

त्रियुगामा ‘प्रथम मेयर रनिङ सिल्ड प्रतियोगिता’ सोमबारदेखि

सदरमुकाम त्रियुगा नगरपालिकाले सोमबारदेखि ‘प्रथम मेयर रनिङ सिल्ड प्रतियोगिता ०७९’ सुरु गर्दैछ। नगरपालिकाले आइतबार दिउसो पत्रकार सम्मेलन गरी पुस १८ देखि २३ गतेसम्म चल्ने प्रतियोगिताबारे जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार प्रतियोगितामा नगरपालिकाभरीका माध्यामिक तहका विद्यालयबाट छात्रछात्राहरु सहभागी हुने छन्। सामुदायिक तथा संस्थागत दुवैतर्फका विद्यालयको सहभागिता हुने प्रतियोगितामा विभिन्न १० इभेन्टका खेलहरु समावेश गरिने नगरपालिका युवा तथा खेलकुद विकास समितिले जनाएको छ। 

गाईघाटस्थित त्रियुगा नमूना माविको प्रांगणमा हुने प्रतियोगितामा प्रतियोगितामा  नगरभरीका २२ माध्यमिक तहका विद्यालयबाट खेलाडीको सहभागिता रहनेछ। जसमा सामुदायिक र संस्थागत दुवैतर्पmका विद्यालयबाट छात्र–छात्राले भाग लिने नगवरपालिकाकी कर्मचारी सिर्जना गुरागाईले बताइन्।

प्रतियोगितामा तेक्वान्दो, सितेरियो कराते, कबड्डी, भलिबल र एथ्लेटिक्सका बिभिन्न इभेन्टमा प्रतिस्पर्धा गराइनेछ। एथ्लेटिक्सतर्फ एकल तथा समूहगत दौड प्रतियोगिता हुने छ भने अन्य इभेन्टहरुमा सटफुट, लङजम्प, हाईजम्प, त्रिपल जम्प र ज्याबलिङ थ्रो खेलहरु समावेश गरिएको नगर कर्मचारी राजन धमलाले बताए।

उनका अनुसार एकल दौडतर्फ १ सय मिटर, २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटर दूरीमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै रिले दौडतर्फ १ सय गुणा ४ र ४ सय गुणा ४ मिटरमा स्पर्धा हुनेछ। रिले दौडतर्फ खेलाडीहरु प्रत्येक विद्यालयबाट छात्र र छात्रा गरी ४÷४ जनाले भाग लिनेछन् भने अन्य इभेन्टमा प्रति विद्यालय १ छात्र र १ छात्राले भाग लिनेछन्।

तेक्वान्दो र सितेरियो खेलमा छात्रातर्फ ४०, ४५ र ५० किलो तौल समूहका खेलाडीले भाग लिनेछन् भने छात्रतर्फ ४२, ४७ र ५२ किलो तौल समूहमा सहभागी हुने नगरपालिकाले जनाएको छ। साताव्यापी प्रतियोगितामा इभेन्ट बेसमा व्यक्ति भन्दा समूहलाई पुरस्कार प्रदान गरिने जानकारी धमलाले दिए।

जस अनुसार अधिक नं. ल्याउने खेलाडी समूहलाई १५ हजार, त्यसभन्दा कम ल्याउनेलाई १० हजार र तेस्रो स्थान पाउनेलाई ७ हजार ५ सय नगद पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। त्यसैगरी सांस्कृतिक कार्यक्रमतर्फ भने नृत्य र गायनमा प्रथम, द्वीतीय र तृतीय हुने समूहलाई पुरस्कार दिइने छ। प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार ५ सय र तेस्रो स्थान पाउनेलाई ५ हजार नगद पुरस्कारसहित सिल्ड र मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जिल्लाव्यापी हुने ‘राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता’जस्तै नगरस्तरीय खेलकुद प्रतियोगिताको रुपमा ‘मेयर रनिङ सिल्ड प्रतियोगिता’ आयोजना गर्न लागिएको बताए। चालु वर्ष पहिलो पटक गर्न लागिएकाले ‘जनतासाग मेयर कार्यक्रम’ मार्फत ५ लाख रुपैँयामा प्रतियोगिता गर्न लागेको उनले बताए। आगामी दिनमा प्रतियोगितालाई निरन्तरता दिन नगरपालिकाले वार्षिक कार्यक्रम नै बनाएर बजेट बिनियोजन गर्ने अधिकृत वनले बताए।

नगरपालिकाले वर्षेनी गर्दै आएको ‘मेयर कप फुटबल प्रतियोगिता’ पनि आयोजना गर्न बाँकी छ। बिगत वर्षहरुदेखि सञ्चालन हुँदै आएको मेयर कप भने केही समयपछि आयोजना गर्ने तयारी भईरहेको नगर युवा तथा खेलकुद विकास समितिले जनाएको छ।  

प्रकाशित: १७ पुस २०७९ १४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App