१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

एलार्डिसको सम्भावना

लन्डन- साम एलार्डिसलाई उनको क्लब सन्डरल्यान्डले फुटबल संघ (एफए) सँग कुराकानी गर्न अनुमति दिएपछि उनी इङ्ल्यान्डको नयाँ प्रशिक्षक बन्ने सम्भावना चुलिएको छ। ६१ वर्षे प्रशिक्षकले मंगलबार एफएका पदाधिकारीसँग पहिलो चरणको कुरा गरेपछि क्लबसँग छलफल अघि बढाउन अनुमति मागेका थिए।

१० वर्षअघि पनि इङ्ल्यान्ड प्रशिक्षक बन्न एफएसमक्ष उनले अन्तर्वार्ता दिएका थिए। तर त्यो बेला एफएले स्टिभ म्याकक्लारेनलाई रोजेको थियो। फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियनसिपमा इङ्ल्यान्डले लज्जाजनक नतिजा बेहोरेपछि मुख्य प्रशिक्षक रोए हड्सनले राजीनामा दिएका थिए। हड्सनले छाडेपछि रिक्त भएको पदपूर्तिका लागि एफएले उपयुक्त उम्मेदवार खोजी गरिरहेको छ। अन्तिम १६ को खेलमा ३ लाख ३० हजारमात्र जनसंख्या भएको सानो देश आइसल्यान्डसँग पराजित भएपछि पत्रकार सम्मेलनमै निराश प्रशिक्षक हड्सनले राजीनामा दिएका थिए।

अघिल्लो सिजन एलार्डिसको नेतृत्वमा मुस्किलले रेलिगेसन टारेको सन्डरल्यान्डले चाँडोभन्दा चाँडो यो विषय टुंगियोस भन्ने चाहना राखेको छ। एलार्डिसले छोड्ने निर्णय लिए प्रिमियर लिगमा अर्को कठिन सिजनका लागि टोलीले अर्का प्रशिक्षक व्यवस्था गर्नुपर्नेछ। 'एफएले इङ्ल्यान्डको प्रशिक्षक हुने सम्भावित उम्मेदवारहरूसँग गोप्य रुपमा छलफल चलाइरहेको रहेछ। त्यसैले उनीहरूले हाम्रा प्रशिक्षकसँग छलफल अगाडि बढाउन सन्डरल्यान्ड फुटबल क्लबसँग पनि अनुरोध गरेका थिए,' सन्डरल्यान्डले विज्ञप्तिमा भनेको छ, 'साम एलार्डिसले पनि अनुरोध गरेपछि हामीले सहमति जनायौं।'

आगामी सिजनका लागि क्लबले बनाएको योजनामा एलार्डिसको भूमिका निकै महŒवपूर्ण रहेको बताउँदै क्लबले उनलाई आफूसँगै रहेको हेर्ने चाहना राखेको छ। 'हामी अर्को अत्यन्तै चुनौतीपूर्ण सिजनलाई तयार हुनु छ। हामी क्लबमा मैदानभित्र र बाहिर पनि स्थायित्व चाहन्छौं। त्यसका लागि हामीलाई एलार्डिसको आवश्यकता छ। हामी उनी यही रहुन् भन्ने चाहन्छौं,' क्लबले जनाएको छ, 'तथापि हामी उनको सरुवाबारेको विषय चाँडै टुंगियोस भन्ने चाहन्छौं। हामी यो महŒवपूर्ण समयमा तयारीमा जुट्नुपर्ने अवस्था छ। त्यसैले हामी एफए र एलार्डिस दुवैलाई चाँडो निर्णय गर्न अनुरोध गर्न चाहन्छौं।'

१९९२ मा  लिमेरिक सिटीबाट आइरिस च्याम्पियनसिप बाहेक एलार्डिसको नेतृत्वमा अहिलेसम्म कुनै पनि टोलीले व्यावसायिक फुटबलमा कुनै महŒवपूर्ण उपाधि जित्न सकेको छैन। तथापि उनी हड्सनको विकल्पमा चर्चामा आएका केही नाममध्ये एक हुन्। उनीसँगै विश्व खेलकुदको सबैभन्दा चुनौतीपूर्णमध्ये एक जागिरका लागि हलका प्रशिक्षक स्टिभ ब्रुस, आर्सनलका भेट्रान प्रशिक्षक आर्सेन वेंगर, अमेरिकाका जर्मन प्रशिक्षक योर्गान क्लिन्सम्यान, तथा बर्नमाउथमा सनसनीपूर्ण काम गरेका युवा इङ्लिस प्रशिक्षक इडी होवेका नाममा चर्चा चलिरहेको छ।

बोल्टन, न्युक्यासल, ब्ल्याकबर्न र वेस्ट ह्यामबाट पनि प्रशिक्षण अनुभव बटुल्नाका बाबजुद कुनै उपाधि जित्न नसकेका एलार्डिसलाई अन्यभन्दा बढी सम्भावना बोकेका विकल्पमा लिइएको छ। देखिने खालको उपलब्धि नभए पनि सबैबाट सम्मानित हुनु र खेलाडीलाई उत्साह प्रदान गर्ने प्रशिक्षकमा चिनिनु उनको विशेषता हो।

अन्तर्राष्ट्रिय फुटबलमा लगातार निराशा सामना गरिरहेको इङ्ल्यान्डको टोली विश्वकप २००६ को क्वार्टरफाइनल पुगेयता उल्लेख्य प्रदर्शनबाट चुक्दै आएको छ। स्कटिस प्रशिक्षक स्येन गोरान इरिक्सनको नेतृत्वमा त्यतिबेला क्वार्टरफाइनलको पेनाल्टी सुटआउटमा पोर्चुगलसँग पराजित इङ्ल्यान्ड दुई वर्षपछि युरो २००८ मा छनोट हुनै सकेन। युरोपियन च्याम्पियनपिमा छनोट हुन नसकेपछि त्यतिबेला म्याकक्लारेनले जागिर गुमाउनुपरेको थियो। त्यसयता फाबियो कापोलो र हड्सनको नेतृत्वमा दुई विश्वकप र दुई युरोपियन च्याम्पियनसिप खेल्दा टोली नकआउट चरण पुगेको यसपालि पहिलोपटक थियो।

प्रकाशित: ३० असार २०७३ ०३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App