१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

विराटनगरको लगातार दोस्रो जित

अर्धशतक पूरा गरेपछि विराटनगरका रोहित पौडेल। तस्बिर सौजन्य: क्यान

उपकप्तान रोहित पौडेलले सम्हालिएको ब्याटिङ प्रदर्शन गर्दा विराटनगर सुपर किङ्सले नेपाल टी–२० लिगमा लगातार दोस्रो जित निकालेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा विराटनगरले पोखरा एभेजर्न्समाथि ८ विकेटको सहज जित निकालेको थियो। पोखराले प्रस्तुत गरेको एक सय ३६ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्‍यो।

पहिलो बलमा ओपनर अर्जुन साउदलाई गुमाएको विराटनगरको सुरुआत भने सम्झनलायक रहेन। अर्जुनलाई पहिलो ओभरको पहिलो बलमै अमिर हम्जाले विकेटकिपर उपुल थरांगाबाट क्याच गराएका थिए। दोस्रो विकेटका लागि गौरान्सु शर्मा र रोहितले ७८ रनको साझेदारीसहित विराटनगरको इनिङ सम्हालेका थिए। जाहिर खानबाट क्याच हुनुअघि शर्माले ३२ बलमा २ चौका र १ छक्काको मद्दतमा ३३ रन जोडे। त्यसपछि ब्याटिङका लागि आएका हुसेन तलातसँग रोहितले तेस्रो विकेटका लागि अविजित ६० रनको साझेदारी गर्दै विराटनगरका लागि सहज जित दिलाएका थिए।

रोहितले ५७ बलमा ६ चौका र ३ छक्काको मद्दतमा अविजित ७१ रन जोडे भने तलातले २३ बलमा ३ चौकाको मद्दतमा अविजित २८ रन जोडे।

पोखरामाथि विराटनगरको यो लगातार दोस्रो जित हो। बुधबार भएको पहिलो भेटमा तलातकै अर्धशतकमा विराटनगरले पोखरामाथि ६ विकेटको जितसहित अंक खाता खोलेको थियो।

पोखराको भने यो लगातार पाँचौं हार हो। पोखराका हम्जा र खानले समान एक विकेट लिए।  

यसअघि टस हारेर ब्याटिङका लागि लागि आएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रनको योगफल खडा गरेको थियो। पोखराका लागि हम्जाले २५ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३७ रन जोडे।

त्यस्तै ओपनर सुमित महर्जनले २५ बलमा २ चौका र १ छक्काको मद्दतमा २६ तथा कप्तान उपुल थरंगाले २४ बलमा २ चौका र १ छक्काको मद्दतमा २५ रन जोडे।

विराटनगरका आन्द्रे म्याकर्थीले ४ ओभरमा २२ रन खर्चंदै ३ विकेट लिए। त्यस्तै सडाब आलम, नन्दन यादव र राज नन्नले समान १ विकेट लिए।

विराटनगर ४ खेलमा २ जित र २ हारको नतिजापछि ४ अंकसहित चौथो स्थानमा छ भने पाँच खेलमा पाँचै खेल हारेको पोखरा छैटौ स्थानमा बस्दै अंकविहीन रहेको छ। ४ खेलमा शतप्रतिशत नतिजा निकालेको लुम्बिनी अल स्टार्स ८ अंकसहित शीर्ष स्थानमा छ भने जनकपुर रोयल्स ४ खेलमा ३ जित र एक हारको नतिजापछि ६ अंकसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानको काठमाडौैं नाइट्सको ४ अंक छ। पाँचौं स्थानको फार वेस्ट युनाइटेडको ४ खेलमा मात्र २ अंक छ।

बिहीबारै सम्पन्न दोस्रो खेलमा जनकपुरले फार वेस्टमाथि ८ विकेटको जितसहित दोस्रोे स्थानमा उक्लिएको छ। सन्दीप जोरा र चाडविक वाल्टनले तेस्रो विकेटका लागि अविजित १ सय ५१ रनको साझेदारी गरेसँगै जनकपुरले फार वेस्टले प्रस्तुत गरेको १ सय ७० रनको लक्ष्य १८.२ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको थियो।

तेस्रो ओभर लिएर आएका करण केसीको तेस्रो बलमा पवन सर्राफ र अन्तिम बलमा ट्रेभोन ग्रिफ्ट पवेलियन फर्किएपछि जनकपुर दबाबमा परेको थियो। तर सन्दीप र वाल्टनले सम्हालिएको प्रदर्शन गरेसँगै जनकपुरले सहज जित पक्का गर्‍यो।

सन्दीपले ५४ बलमा ३ चौका र ५ छक्काको मद्दतमा अविजित ७७ र वाल्टनले ४२ बलमा २ चौका र ५ छक्काको मद्दतमा अविजित ६० रनको योगदान दिए। यसअघि टस हारेर ब्याटिङका लागि आएको फार वेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६९ रनको योगफल खडा गरेको थियो।

फार वेस्टका करणले १७ बलमा ३ चौका र ४ छक्काको मद्दतमा अविजित ४६ रन जोडेका थिए। उनले अन्तिम ओभर लिएर आएका जितेन्द्र मुखियालाई लगातार तीन छक्का, चौथो बलमा चौका र पाँचौं तथा अन्तिम बलमा समान २ रन प्रहार गरी कुल २६ रन जोडेका थिए।

जनकपुरका ललित राजवंशीले २ तथा सोमपाल कामी र जितेन्द्रले समान १ विकेट लिए। बिहीबारै सम्पन्न दोस्रो खेलमा जनकपुर फार वेस्टमाथि ८ विकेटको जितसहित दोस्रोे स्थानमा उक्लिएको छ। 

प्रकाशित: १५ पुस २०७९ ००:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App