४ मंसिर २०८१ मंगलबार
image/svg+xml
खेल

अर्जेन्टिनी प्रशिक्षकको राजीनामा

ब्युनस आयर्स- प्रमुख प्रशिक्षक जेरार्डो मार्टिनोले पदबाट राजीनामा दिएपछि अर्जेन्टिना फुटबल टोलीको संकट अझै गहिरिएको छ। कोपा अमेरिकाको समाप्तिसँगै स्टार खेलाडी  लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका थिए भने ओलम्पिक सुरु हुनु महिना दिनअघि प्रशिक्षक मार्टिनो पदबाट अलग भएका छन्।

अर्जेन्टिना फुटबल संघ (एएफए) द्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'व्यवस्थापनसँगको मनमुटाबका कारण ओलम्पिकमा टोलीलाई संगठित गर्न कठिन भएकाले मार्टिनो र उनको टोलीले राजीनामा दिइएको हो।'

कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएलगत्तै मेसीले संन्यास घोषणा गरेका थिए। त्यसको दुईसाता नबित्दै मार्टिनोको कदमले अर्जेन्टिना फुटबललाई अर्को धक्का लागेको छ। अहिले मेसीलाई संन्यास फिर्ता गराउन उनका समर्थकहरूले प्रदर्शन गर्दै आइरहेका छन्।

अर्जेन्टिनी सञ्चारमाध्यमका अनुसार राष्ट्रिय टोलीका खेलाडीलाई क्लबहरूले नछाडेका कारण मार्टिनोले दिक्क भएर राजीनामा दिएको उल्लेख गरेका छन्। युभेन्ट्सका पाब्लो डेबाला र इन्टर मिलानका माउरो इकार्डी जस्ता मुख्य खेलाडीलाई क्लबले छाडेका छैनन्।

सन् २०१४ विश्वकपपछि बार्सिलोनाका प्रशिक्षक समेत रहेका मार्टिनोले अर्जेन्टिनाको नेतृत्व गरेको थियो। थप समयमा पुगेको विश्वकप फाइनलमा अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित भएको थियो। ५३ वर्षे अर्जेन्टिनी मार्टिनोको नेतृत्वमा टोलीले २९ खेलमा जित, ७ बराबरी र ३ खेल हारेको थियो।

मार्टिनोको प्रशिक्षणमा अर्जेन्टिना गतवर्ष पनि कोपा अमेरिकाको फाइनलमा पुगेको थियो। गतवर्ष र यसवर्ष दुवैपटक अर्जेन्टिना चिलीसँग पराजित भएको थियो। दुवैपटक चिली पेनाल्टीमा विजयी भयो।

जुन २६ को पराजित भएसँगै अर्जेन्टिनाले लगातार तेस्रोवर्ष ठूलो प्रतियोगिताको फाइनल गुमाएको हो। अर्जेन्टिनाले २३ वर्षयता कुनै पनि ठूलो प्रतियोगिता जितेको छैन।

'पुनः पराजित हुनु झन् पीडादायी हुन्छ,' मार्टिनोले हारपछि भनेका थिए। मार्टिनो पनि मेसीकै सहर रोसारियोका बासिन्दा हुन्। मार्टिनोको प्रशिक्षणमा पाराग्वे  २०१० विश्वकपको क्वार्टरफाइनल पुगेको थियो। 

खेलजीवनको पहिलो क्लबमा प्रशिक्षक बनेर फर्केका मार्टिनोले २०१३ मा निवेल्स ओल्ड ब्वाइजलाई अर्जेन्टिना लिगको च्याम्पियन बनाएका थिए। त्यसपछि उनी बार्सिलोना पुगेका थिए।

एएफए यति बेला संकटमा गुजि्ररहेको छ। मेसी र म्यारोडोनाले पनि संघको व्यवस्थापनको आलोचना गरेका थिए। कोपाका लागि अमेरिका जानुअघि मार्टिनोले ६ महिनादेखि पारिश्रमिक नपाएको बताएका थिए। लिग कसरी सञ्चालन गर्ने भन्ने विवादमा लुइस सेगुराले गत साता एएफए प्रमुखबाट राजीनामा दिएका थिए। ठूला क्लबहरुले अहिलेको पद्धती खारेज गर्दै सुपर लिगमा जानुपर्ने चाहना राखेका छन्।

अर्जेन्टिना ओलम्पिक कमिटीका अध्यक्ष जेरार्डो वेर्थिनले एक अन्तर्वार्ताका क्रममा अर्जेन्टिनाले ओलम्पिकको फुटबल प्रतिस्पर्धा नखेल्ने ५० प्रतिशतमात्र सम्भावना छ। ब्राजिलमा अगस्ट ५ देखि ओलम्पिक सुरु हुँदैछ।

प्रकाशित: २३ असार २०७३ ०४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App