४ मंसिर २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

अन्धोपन निवारणमा ‘डायबेटिक रेटिनोप्याथी’ चुनौती

डेढ दशकदेखि मधुमेहले ग्रस्त सिरहा कल्याणपुर नगरपालिका–८ का मोहम्मद अन्सारुल हुसेन डेढ वर्षदेखि आँखा देख्दैनन्। मधुमेहका बिरामीले आँखाको नियमित जाँच गराउनुपर्छ भन्ने जानकारी अभावमा डायबेटिक रेटिनोप्याथी हुँदा उनले दृष्टि गुमाएका हुन्।

डेढ दशकअघि वैदेशिक रोजगारका लागि खाडी मुलुक गएका बेला उनी अस्वस्थ भई फर्केका थिए। जाँच गराउँदा मधुमेह पुष्टि भयो। सोही रोगका कारण उनको वैदेशिक रोजगारी गुम्यो। उनले घरमै सिलाइको काम गर्न थाले। त्यही कमाइबाट पाँचजनाको परिवार जसोतसो चलिरहेको थियो। अचानक उनको दृष्टि धमिलियो। सुरुमा सियोमा धागो पसाउन नसक्ने भएका उनी पछि सिलाइ नै गर्न नसक्ने अवस्थामा पुगे। देख्नै छाडेपछि उनी सगरमाथा चौधरी आँखा अस्पताल लहान पुगे। त्यहाँ चिकित्सकले उनको दृष्टि फर्काउन हरप्रयत्न गरे तर सम्भव भएन। मधुमेहले उनको दृष्टि पर्दामा गम्भीर क्षति पुर्‍याइसकेकाले उनले फेरि देख्न सक्ने सम्भावना लगभग समाप्त भइसकेको सगरमाथा चौधरी आँखा अस्पतालका रेटिना विशेषज्ञ डा. सञ्जीव चौधरीले बताए।

एउटा कोठामा अन्सारुलको परिवारका पाँचजनाका कोचिएर बस्छन्। देख्न नसक्ने भएपछि उनको आयस्रोत नै रोकिएको छ। पतिले आँखा देख्न छाडेपछि जेठी छोरी १५ वर्षीया रयिबा खातुन, माइली छोरी १० वर्षीया सकिना खातुन र कान्छा छोरा सात वर्षीय मोहम्मद हुसेनलाई पढाउन नसकिएको पत्नी नजमा खातुनले बताइन्।

‘मधुमेह भएका उहाँलाई आँखा जँचाउनुपर्छ भनेर कुनै डाक्टरले भनेनन्,’ नजमाले नागरिकसँग भनिन्, ‘बिरामी भएको १५ वर्षसम्म कपडा सिलाउनुभयो। आँखा जाँचका लागि रकम जुटाउँदै थिएँ। त्यतिकैमा आँखा लगभग नदेख्ने हुनुभयो,’ उनी भन्छिन्, ‘उपचारका लागि भएको ढिलाइले गर्दा यस्तो भयो।’

४० वर्षकै उमेरमा हुसेन अर्काको सहारामा हिँड्डुल गर्न बाध्य छन्। अगाडि पस्केर दिएको खाना पनि ठम्याउन सक्दैनन्। खाना पस्केर दिएपछि खान भन्नुपर्छ। शौचालयदेखि ओछ्यानसम्म उनलाई अरूको सहारा चाहिन्छ।

त्यस्तै दुई दशकदेखि मधुमेहले ग्रस्त भारत विहार राज्य मधुवनीका ५६ वर्षीय मोहम्मद सलिमले अन्ततः झन्डै आँखाको दृष्टि गुमाउनुपर्ने स्थिति आएको थियो। नियमित रूपमा आँखाको परीक्षण गराउनुपर्छ भन्ने जानकारी नभएका सलिमले एक्कासि नदेख्ने समस्या निम्तिएपछि आँखा परीक्षण गराउँदा मधुमेहले दृष्टिमा असर परेको जानकारी उनले पाए। डायबिटिज रेटिनोप्याथीका कारण आँखाको पर्दामा पुगेको क्षतिलाई सुधार गर्ने र थप फैलिन नदिन लेजरलगायत पद्धतिबाट उपचार थालिएको सगरमाथा चौधरी आँखा अस्पतालका रेटिना विशेषज्ञ डा. चौधरीले जानकारी दिए।

‘उनको आँखाको दृष्टि सम्पूर्ण गुम्नबाट जोगाउन सफल भएका छौं,’ उनले भने, ‘उहाँ उपचारमा आउन निकै ढिला गरिसक्नुभएकाले राम्रो भिजन फर्काउन कठिन छ। अर्काको सहारामा हिँडडुल गर्नुपर्ने अवस्थाबाट भने उहाँ जोगिनुभएछ।’

विश्व स्वास्थ्य संगठनका अनुसार डायबेटिक रेटिनोप्याथी अन्धोपनको एउटा प्रमुख कारण हो। उनले भने, ‘अन्धोपनको प्रमुख कारकमध्ये एउटा मधुमेह रोगले समेत स्थान लिएको छ। बदलिँदो जीवनशैली र खानपानले निम्तिएको मधुमेहले अन्य अंगसँगै आँखामा समेत प्रभाव पार्दैछ।’

एक अध्ययनका आधारमा मुलुकमा करिब दश जना मानिसमध्ये एक जनामा मधुमेह छ। मधुमेह भएका चारजनामध्ये एकको आँखाको दृष्टि कमजोर पारिरहेको छ। मधुमेहका एक सय जना बिरामीमध्ये ८० जनाको आँखाको दृष्टिमा नकारात्मक प्रभाव देखिने डा. चौधरीले बताए।

समयमै उपचार नभए मधुमेहका कारण आँखासम्बन्धी समस्या डायबेटिक रेटिनोप्याथी भई दृष्टि क्षमताको कमीसँगै अन्धताको अवस्था निम्तिने खतरा हुन्छ,’ उनले भने। मधुमेहका रोगी डायबेटिक रेटिनोप्याथीको प्रभावबारे अनजान हुन्छन्, जो शरीरमा रक्तनलीको अनियमित परिवर्तनले हुन्छ र आँखाको पर्दालाई क्षति पुर्‍याउँछ। मधुमेहले आँखापछाडिको पर्दा (रेटिना) मा भएको रक्तधमनीलाई क्षति पुर्‍याउने प्रक्रिया नै डायबेटिक रेटिनोप्याथी हो।

डायबेटिक रेटिनोप्याथीको समस्या बढ्दै गएर पछिल्लो समय अन्धोपनको प्रमुख चुनौती बन्दै गएको डा. चौधरी बताउँछन्। हाल यस्तो समस्या बढी मात्रामा मध्यम र उच्च वर्गमा देखिएको छ। निम्न वर्गमा समेत यो समयस्या देखिन थालेको उनले बताए। मधुमेहले शरीरका प्रमुख अंगहरूजस्तै मस्तिष्क, मुटु, मिर्गाैला र आँखालाई क्षति पुर्‍याउँछ। डायबेटिक रेटिनोप्याथी बिनाकारण अन्धो हुने एउटा प्रमुख समस्या हो, जसको रोकथाम सम्भव छ।

मधुमेहले रक्तनलीको पर्खाललाई प्रभावित गर्छ, जसले रेटिनासम्म अक्सिजन लिएर जाने नसा कमजोर हुन्छ। मधुमेह जति लामो समय रहिरहन्छ, डायबेटिक रेटिनोप्याथीको सम्भावना त्यति नै बढ्छ। युएस डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसअन्तर्गत नेसनल आई इन्स्टिच्युटको तथ्यपत्रअनुसार केही व्यक्तिमा रेटिनामा भएको रक्तनली सुन्निएर चुहिने गर्छ। यस्तै केही व्यक्तिमा असामान्य रक्तनलीहरू रेटिनानजिक बन्ने गरेका हुन्छन्। आँखाको पछाडि रहने रेटिना संवेदनशील तन्तु हो। राम्रो दृष्टिका लागि एउटा स्वस्थ रेटिना आवश्यक हुन्छ। डायबेटिक रेटिनोप्याथीले मुख्यतः दुवै आँखा प्रभावित हुन्छन्।

सगरमाथा चौधरी आँखा अस्पतालका वरिष्ठ प्रबन्धक अभिषेक रोशनका अनुसार मधुमेह भएकाहरूले डायबेटिक रेटिनोप्याथीका लक्षणहरू देखिएपछि उपचार गर्ने भनेर पर्खनुहुँदैन किनकि यसको प्रारम्भिक अवस्थामा कुनै लक्षण र दुखाइ देखिन्न। यसको निदान भनेकै बर्सेनि न्यूनतम एकपटक आँखा परीक्षण गर्नु हो।

रेटिनाको एउटा खण्ड मेकुला रगत चुहिएर सुन्निँदा दृष्टि धमिलो हुन्छ। यो स्थितिलाई मेकुलर इडिमा भनिन्छ। यदि रेटिनाको सतहमा नयाँ रगतको नली बन्छ भने यसले आँखाभित्र रगत चुहिएर दृष्टिमा अवरोध पुर्‍याउँछ। यसको उपचारमा भने हाल मुलुकमा लेजर, एन्टिभिइजिएफएजेन्ट इन्जेक्सन र भिट्रेक्टोमी सेवा छन्। सगरमाथा चौधरी आँखा अस्पताल लहानमा यी तीनवटै उपचार सेवा उपलब्ध रहेको रोशनले बताए।

लेजरले रेटिनामा अक्सिजनको आवश्यकतालाई कम गर्छ। यस्तै एन्टिभिइजिएफएजेन्ट इन्जेक्सनले रेटिनामा रक्तनलीको विकासलाई रोक्छ भने भएका कमजोर रक्तनलीलाई बलियो बनाउँछ। यस्तै भिट्रेक्टोमीअन्तर्गत आँखाभित्र रक्तश्रावलाई बाहिर निकालिन्छ। संसारमा पाँच सय ३७ मिलियन व्यक्ति (२० देखि ७९ वर्षसम्म) मधुमेहबाट प्रभावित रहेको विश्व मधुमेह संगठनको अध्ययनले देखाएको छ। यो संसारको कुल जनसंख्याको १०.५ प्रतिशत हो। टाउकोदेखि खुट्टासम्म र विशेष गरी शरीरका अत्यन्त संवेदनशील अंगहरूमा असर पुर्‍याउने मधुमेहको मुख्य तारो आ“खा पनि प्रमुख अंग हो।

रेटिनोप्याथी लक्षण

चस्माको पावर बारम्बार परिवर्तित हुनु, बारम्बार आँखामा संक्रमण हुनु, बिहान उठेपछि कम देखिनु, रेटिनाबाट रगत आउनु, टाउको दुखाइ कायम रहनु वा एक्कासि दृश्यशक्ति कम हुनुलगायत हुन्। डा. चौधरीले डायबेटिक रेटिनोप्याथीबाट जोगिन नियमित आँखा परीक्षण, रगतमा कोलेस्ट्रोल र चिनीको मात्रालाई नियन्त्रित राख्नु, आँखा दुखेर अँध्यारोजस्तो महसुस भए तुरुन्त आँखा चिकित्सकसँग परामर्श लिनु, मधुमेहका रोगीलाई वर्षमा न्यूनतम एकपटक आँखा परीक्षण गराउन सुझाउँछन्।

मधुमेहका लक्षण

रगतमा निर्धारित सीमाभन्दा बढी चिनीको मात्रा हुनु नै मधुमेह हो। खाली पेट हुँदा रगतमा चिनीको स्तर सामान्यतः ११० मिलिग्रामभन्दा कम र ७५ ग्राम ग्लुकोज खाएको दुई घण्टापछि १४० मिलिग्रामभन्दा कम भएको अवस्था सामान्य हो। तर मधुमेहको स्थितिमा खाली पेटमा रगतमा चिनीको स्तर १२६ र ७५ ग्राम ग्लुकोज खाएको दुई घण्टापछि २०० मिलिग्रामभन्दा बढी हुन्छ।

थकाइ लाग्नु, कमजोरी हुनु, खुट्टा दुख्नु, ग्लुकोज ऊर्जामा परिवर्तित हुन नपाउनु, खुट्टाको घाउ निको नहुनु र गैग्रिनको रूप लिनु यसका मुख्य लक्षण मानिन्छ। बढी पिसाब र भोक लाग्नु, तीव्र रूपमा तौल घट्नु, बारम्बार चस्माको पावर परिवर्तित गर्नु, यौनांग चिलाउनु र संक्रमण हुनु यसका प्रमुख लक्षण हुन्।

प्रकाशित: ४ मंसिर २०८१ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App