२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

स्पेनको दोस्रो डिभिजन क्लब नेपाल आउने

स्पेनको दोस्रो डिभिजन क्लब काथेरेन्यो दुई मैत्रीपूर्ण खेलका लागि नेपाल भ्रमणमा आउने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा ‘शान्तिका लागि फुटबल’ भन्ने नाराका साथ दुई मैत्रीपूर्ण फुटबल खेल्न स्पेनको काथेरेन्यो फुटबल क्लब नेपाल भ्रमणमा आउन लागेको हो। काथेरेन्योले काठमाडौं र पोखरामा १/१ मैत्रीपूर्ण खेल खेल्ने तयारी भएको आयोजक लुम्बिनी गार्डेन फाउन्डेसनका महासचिव एकराज गिरीले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए। उक्त खेल पोखरा रंगशाला र दशरथ रंगशालामा हुनेछन्।

काथेरेन्यो र गण्डकी–११ बीचको मैत्रीपूर्ण खेल पुस १३ गते पोखरा रंगशालामा हुनेछ। यसैगरी पुस १४ गते दशरथ रंगशालामा काठमाडौं–११ सँग दोस्रो मैत्रीपूर्ण खेल हुनेछ। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले गण्डकी–११ फुटबल टिमको कप्तानी जिम्मेवारी पाएका छन्। टोलीको प्रशिक्षणमा पोखरावासी राजेन्द्र तामाङ हुनेछन्। काठमाडौं–११ को टिमलाई पूर्वकप्तान विराज महर्जनले नेतृत्व गर्नेछन् भने प्रशिक्षकमा मेघराज केसी छन्।

स्पेनको राष्ट्रिय टोलीबाट खेलिसकेका म्यानुयल सान्चेज डेल्गाडो (मोनोलो) नेपाल भ्रमण टोलीमा हुनेछन्। सन् १९८८ देखि १९९२ सम्म स्पेनको राष्ट्रिय टोलीबाट खेल्ने क्रममा स्ट्राइकर मोनोलोले २८ अन्तर्राष्ट्रिय खेलमा ९ गोल गरेका थिए। विश्वकप १९९० मा मोनोलो स्पेनिस टिमको मुख्य खेलाडी थिए। फाउन्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले नेपाली राष्ट्रिय टोलीका वर्तमान तथा पूर्वस्टार खेलाडीहरू र स्पेनिस राष्ट्रिय टिमबाट विश्वकपको समेत अनुभव बटुलिसकेका खेलाडीबीचको प्रतिस्पर्धा अत्यन्तै रोमाञ्चक हुने अपेक्षा व्यक्त गरे।

नेपालमा फुटबलको विकास तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यले हुन लागेको मैत्रीपूर्ण खेलका लागि काथेरेन्योको साथमा स्पेनिस राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी र स्पेनिस फुटबल महासंघका उपाध्यक्ष पनि नेपाल आउने फाउन्डेसनले जनाएको छ। फाउन्डेसनले नेपालको पर्यटन प्रवद्र्धनमा यस मैत्रीपूर्ण खेलले धेरै सहयोग पुग्ने विश्वास लिएको छ। 

प्रकाशित: ८ पुस २०७९ ००:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App