काठमाडौं- जगदम्बा लुम्बिनी फुटबल क्लब र त्रिभुवन आर्मी क्लबले प्रथम ललित स्मृती यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत बुधबार हुने फाइनलका लागि एक–अर्काविरुद्धको भिडन्त पक्का गरेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको सेमिफाइनलमा लुम्बिनीले सिएमजी संकटालाई १–० तथा आर्मीले रमपम झापा ११ लाई २–१ को नतिजामा हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन्।
पहिलो सेमिफाइनलमा मन्दिप थापाको गोलमा लुम्बिनीले जित हासिल गरेको थियो। दुवै टोलीले पाएका अनगिन्ती अवसर उपयोग गर्न नसकिरहेको अवस्थामा समय सकिन चार मिनेट बाँकी रहँदा थापाले गोल गर्दै लुम्बिनीलाई अग्रता दिलाएका थिए। तेजेन्द्र पुनको क्रसलाई उत्कृष्ट प्रहारमार्फत मन्दिपले गरेको गोल लुम्बिनीको जितका लागि पर्याप्त भयो।
लुम्बिनीका प्रशिक्षक विकास गुरुङले कृतिम मैदानमा खेल्न आफ्ना खेलाडी अझै अभ्यस्त भइनसकेकाले कठिन भएको बताए। 'पछिल्लो खेल वर्षाका कारण अप्ठयारो भएको थियो। आज पनि खेल्न निकै अप्ठयारो भयो। कृतिम मैदान तातेपछि खेल्न कति कठिन हुन्छ तपाईलाई थाहै छ,' गुरुङले पत्रकारलाई सम्वोधन गर्दै भने, 'पहिलो हाफ हामीले ४–४–२ को रणनीतिमा खेलेका थियौं। तर विपक्षीले पनि त्यही रणनीतिमा खेल्दा केही समस्या भयो। हामीले उनीहरुको रक्षापंक्ति तोडन सकेनौं। दोस्रो हाफमा हामीले लामो पास र पोस्टमा प्रहार गर्ने रणनीति लिएका थियौं। त्यसमा सफल भयौं।'
संकटाका प्रशिक्षक देवेन्द्रजंग शाहीले पाएका अवसरलाई उपयोग गर्न नसकेको बताए। उनले भने, 'हामीले पहिलो हाफमा विना दबाब खेल्यौं। तर दोस्रो हाफमा त्यसले निरन्तरता पाएन। मध्यान्तरपछि हामीले अवसर सिर्जना गर्न सकेनौं। मलाई लाग्छ आज हामीलाई भाग्यले पनि साथ दिएन।'
अर्को सेमिफाइनलमा आर्मीले एउटा पेनाल्टी अवसर खेर फाल्नाका बावजुद नतिजा हात पार्यो। सुरुमै दुई पटक पेनाल्टीको मौका पाएको टोलीका कप्तान अभिशेक रिजालले २० औं मिनेटमा पाएको पहिलो पेनाल्टी खेर फालेका थिए। उनको प्रहार पोस्टमा लागेर फर्किँदा विपक्षी रक्षकले बल क्लियर गरेका थिए। त्यसको ९ मिनेट नवित्दै टोलीले दोस्रो पटक पेनाल्टीको मौका पायो। दोस्रो पटकको मौकामा पेनाल्टी प्रहार गरेका दोर्जे तामाङको प्रहार झापाका गोलकिपर ओमविक्रम तामाङले रोकेका थिए। तर रिबाउन्डमा दोर्जेले नै गोल गर्दै आर्मीलाई अग्रता दिलाए।
पे्रजेन तामाङले मध्यान्तरपछिको केही वेरमै आर्मीको अग्रता दोव्वर पारे। उनले ५२ औं मिनेटमा गोल गरेर विभागीय टोलीलाई २–० ले अघि बढाएका थिए।
झापाका विश्वहाङ राईले ६९औं मिनेटमा गोल गदै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। विपक्षी रक्षापंक्तिको असमझदारीको फाइदा उठाउँदै राईले गोल गरेका थिए। त्यसपछि झापाले खेलमा पाएका अवसरलाई गोलमा परिणत गर्न सकेन। त्यस्तै फाइनलको सिठी बज्नु अघि आर्मीले गोल थप्न सकेन। आर्मीका राजेश परियारले खेलको अन्तिम समयमा पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो।
आर्मीका प्रशिक्षक चक्र तामाङले फाइनलअघि खेलाडीले उत्कृष्ट लय देखाएको बताए। 'खेलाडीले राम्रो खेले। तीव्र गतिमा खेलेर विपक्षीलाई दबाबमा राखे पनि हामी फिनिसिङमा चुकेका थियौं। तर हामीले त्यसमा पछि सुधार गर्यौं।'
आर्मीलाई लुम्बिनीले समुह चरणमा ६–० को अन्तरमा हराइसकेको छ। आर्मीका प्रशिक्षक तामाङले समुह चरणको हारको वदला लिने अवसर प्राप्त भएको बताए। उनले भने, 'वदला लिने यो उत्कृष्ट अवसर हो। हामीले उनीहरुको खेलको पूरा अध्ययन गरेका छौं। हामीलाई उनीहरुको वलियो र कमजोर पक्ष थाहा छ। हाम्रा खेलाडीले उनीहरुलाई कडा चुनौती दिनेछन।'
झापाका प्रशिक्षक प्रवेश कटुवालले टोलीले आर्मीसँग डराएर खेल्दा नतिजा गुमाउनुपरेको बताए। उनले भने, 'खेल अघि नै हाम्रा खेलाडी नर्भस भए। त्यसले सुरुदेखी नै दबाबमा खेल्नु पर्यो। आर्मीमा धेरै एकेडेमीको खेलाडी छन्। सुरुमै दुई पेनाल्टी विपक्षीले पाएपछि खेलाडी झन नर्भस भए। त्यसले खेलमा फर्कन कठिन भयो।'
प्रकाशित: १४ असार २०७३ ०३:१८ मंगलबार