स्टोक– ह्यारी केन र डेल अलीले समान दुई गोल गरेपछि टोटेनह्यामले सोमबार प्रिमियर लिगमा स्टोक सिटीलाई ४–० ले हराएको छ। शीर्षस्थानको लिचेस्टर सिटीसँगको अंकअन्तर ५ मा घटाएको टोटेनह्यामले उपाधि सम्भावना पनि जीवित राखेको छ।
लिगका अन्तिम ४ खेल बाँकी रहँदा उपाधिको सम्भावना कायम राखेको टोटेनह्याम सन् १९६१ यता माथिल्लो स्तरमा च्याम्पियन बन्न सकेको छैन । त्यसअघि टोलीले १९५१ मा उपाधि जितेको थियो । लिचेस्टरले पनि अहिलेसम्म माथिल्लो स्तरको लिग जितेको छैन।
माउरिसियो पोचेटिनोको टोलीले पछिल्लो ५ खेलमा पाएको यो चौथो जित हो । केनले नवौं मिनेटमा सबै प्रतियोगितामा गरी सिजनको २६ औं गोल गर्दा टोटेनह्यामले खेलमा अग्रता बनायो । दोस्रो हाफको १६ औं मिनेटमा अर्का इङ्ल्यान्ड खेलाडी अलीले गोल गरेपछि खेलमा टोटेनह्याम पूर्ण रूपमा हाबी भयो । कनेले ७१ औं मिनेट र २० वर्षे अलीले ७९ औं मिनेटमा अर्को गोल गरेका थिए।
प्रिमियर लिगमा एकसमय टोटेनह्याम त्यति बेलाका शीर्ष टोली म्यानचेस्टर सिटीभन्दा ९ अंकले पछाडि छ । तर, सिजनको अन्त्यतिर आइपुग्दा सिटीको भन्दा स्पर्सको ८ अंक बढी छ । लिचेस्टरको ७३, टोटेनह्यामले ६८ तथा तेस्रो स्थानको सिटी र चौथो आर्सनलको समान ६० अंक छ । जारी सिजनमा अहिलेसम्म टोटेनह्यामभन्दा बढी गोल गर्ने र कम गोल खाने अर्को क्लब छैन । टोलीले ६४ गोल गरेको छ भने २५ गोलमात्र खाएको छ । टोटेनह्यामले लिचेस्टरको सामना गर्नुअघि वेस्ट ब्रोम र चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ । 'म खेलमा रमाइरहेको छु । अहिलेको अवस्थामा हामी डराउनुपर्ने केही छैन,' अलीले भने, 'हामी यही लय अघि बढाउन चाहन्छौं।'
प्रकाशित: ८ वैशाख २०७३ ०२:५३ बुधबार