१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एम्बाप्पे नै निर्णायक हुने दाबी

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले शनिबार इङ्ल्यान्डविरुद्धको क्वार्टरफाइनलमा आफ्ना स्ट्राइकर किलियन एम्बाप्पे नै निर्णायक हुने दाबी गरेका छन्। डेसच्याम्प्सले इङ्लिस खेलाडीको ध्यान एम्बाप्पेलाई मात्र रोक्ने हुने र त्यो असफल प्रयास हुने दाबी गरे।

एम्बाप्पेले जारी विश्वकपको ४ खेलमा ५ गोल गरेका छन् र उनी सर्वाधिक गोलकर्ताको सूचीको अग्रस्थानमा छन्। पोल्यान्डविरुद्ध अन्तिम १६ मा ३(१ को जितसहित साबिक विजेता फ्रान्सले क्वार्टरफाइनलमा स्थान बनाउँदा एम्बाप्पेले दुई गोल गर्नुका साथै एक गोलका लागि अवसर सिर्जना गरेका थिए।

विश्वकप उपाधिको लक्ष्यमा रहेको फ्रान्सको टोलीको प्रदर्शन पनि एम्बाप्पेमा मात्र पनि टिकेको छैन। एम्बाप्पेसँगै फ्रान्सको क्वार्टरफाइनल यात्रामा सर्वकालीन गोलकर्ता ओलिभर जिरौड,औसामाने डेम्बेले र एन्टोनी ग्रिजम्यान पनि प्रभावशाली देखिएका छन्।

‘समूह चरणको पहिलो खेलबाट अन्तिम १६ सम्म हामीले सामना गरेका चारवटै टोलीको ध्यान एम्बाप्पेलाई रोक्ने थियो र मलाई लाग्छ इङ्ल्यान्डले पनि आफ्नो ध्यान एम्बाप्पेमै राख्नेछ,’ डेसच्याम्पसले भने, ‘तर पनि एम्बाप्पेसँग ती चुनौतीको सामना गर्दै खेलको नतिजामा प्रभाव पार्ने क्षमता छ। जुन यसअघिका खेलमा पनि उनले प्रमाणित गरिसकेका छन्। पहिलो दुई खेल (अस्ट्रेलिया र डेनमार्क) विरुद्धको खेलमा एम्बाप्पे उत्कृष्ट लयमा थिए। त्यही लयमा उनी पोल्यान्डविरुद्धको खेलमा थिएनन् तर पनि उनले आफ्नो उपस्थिति प्रमाणित गरे।

फ्रान्स ब्राजिलपछि पहिलोपटक विश्वकपको उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने लक्ष्यमा छ। ‘नकआउट चरणमा दोस्रो अवसर हुँदैन,’ डेसच्याम्प्सले भने, ‘टोली उपाधि रक्षा गर्ने लक्ष्यमा केन्द्रित छ। तर हामीले दबाब भने लिएका छैनौं। टोलीमा विशेष उत्साह पनि छ।’

यता सन् २०१८ देखि प्रमुख प्रतियोगितामा विशेष छाप छोड्दै आएको इङ्ल्यान्ड साबिकको विजेतालाई स्तब्ध पार्दैै सो लय कायम राख्न चाहन्छ।

रूस विश्वकप २०१८ को सेमिफाइनलसम्मको यात्रा तय गरेको इङ्ल्यान्डले घरेलु मैदानमा सम्पन्न युरो कप २०२० को फाइनलसम्मको यात्रा तय गरेको थियो। रूस विश्वकपको सेमिफाइनलमा क्रोएसियासँग निराश भएको इङ्ल्यान्ड युरो कपमा भने इटालीसँग पराजित भएको थियो।

जारी विश्वकपको चार खेलमा इङ्ल्यान्डले १२ गोल गरेको छ। मार्कुस रसफोर्ड र बुकायो साकाले समान ३ गोलसहित उच्च लयमा रहेको प्रमाणित गरेका छन्। यी दुई खेलाडीको स्वाभाविक लय फ्रान्सका लागि कठिन हुन सक्छ।

‘हामी अहिले स्वाभाविक लयमा छौं,’ इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले भने, ‘पछिल्ला दुई प्रमुख प्रतियोगितामा टोलीको यात्राले पनि हाम्रो मनोबल उच्च पारेको छ। हामी फ्रान्सलाई निराश पार्न सक्षम छौं।’

इङ्ल्यान्डले १९६६ को विश्वकपपछि प्रमुख प्रतियोगिताको उपाधि जित्न सकेको छैन। यता शनिबार नै हुने अर्को क्वार्टरफाइनलमा जारी विश्वकपमा डार्कहर्सको छवि बनाएको मोरक्कोले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलको सामना गर्दै छ।

समूह चरणमा क्रोएसियालाई रोक्नुका साथै बेल्जियमलाई हराएको मोरक्कोले अन्तिम १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० ले हराएको थियो । जुन नतिजाले मोरक्कोलाई पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको थियो । पछिल्लो १२ वर्षमा क्वार्टरफाइनल प्रवेश गर्ने पहिलो अफ्रिकी टोली बनेको मोरक्को पोर्चुगलको सामना गर्दा त्यही लय कायम राख्दै थप उपलब्धि हासिल गर्ने लक्ष्यमा रहेको छ।

त्यस्तै रोनाल्डोलाई विश्राम दिइएको अन्तिम १६ को खेलमा स्विट्जरल्यान्डमाथि ६–१ को प्रभावशाली जितसहित क्वार्टरफाइनलमा स्थान बनाएको पोर्चुगल सोही लय मोरक्कोविरुद्ध पनि कायम राख्न चाहन्छ। रोनाल्डोको स्थानमा अवसर पाएका गोन्जालो रामोसले ह्याट्रिकसहित आफ्नो उपस्थिति प्रमाणित गरेका थिए। जुन जारी विश्वकपको एक मात्र ह्याट्रिक हो। मोरक्कोविरुद्ध प्रशिक्षक फर्नान्डो सान्तोसले रामोसलाई अवसर दिने सम्भावना उच्च रहेको छ।

स्विट्जरल्यान्डविरुद्ध पहिलो रोजाइमा नपरेको भन्दै प्रशिक्षक सान्तोससँगको सम्बन्धमा चिसोपन आएको खबर सार्वजनिक भइरहँदा रोनाल्डोले भने टोली एकता कायम रहेको बताएका छन्। रोनाल्डो आफ्नो अन्तिम विश्वकप सहभागितालाई सार्थक पार्ने लक्ष्यमा छन्।

प्रकाशित: २४ मंसिर २०७९ ०२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App