१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

‘नकआउट चरणको सपनै देखेको थिइनँ’

स्विट्जरल्यान्डविरुद्ध बुधबार ह्याट्रिक गरेका पोर्चुगलका गोन्जालो रामोसले विश्वकपको नकआउट चरणमा खेल्ने सपना आफूले कहिल्यै नदेखेको बताएका छन्।

पहिलोपटक पहिलो रोजाइमा पर्दै देशको प्रतिनिधित्व गरेका २१ वर्षीय रामोसले जारी विश्वकपमा गरेको यो पहिलो ह्याट्रिक हो। युरोपेली प्रतिद्वन्द्वी स्विट्रज्यान्डविरुद्ध रामोसले अनपेक्षित सुरुआत दिलाउँदा पाँच पटकका बालोन डी’अर विजेता क्रिस्टियानो रोनाल्डो भने बेन्चमा नै रहेका थिए। उनको अनुपस्थितिमा पनि टोलीले बुधबार ६-१ को फराकिलो जित निकाल्दा अन्तिम ८ मा स्थान बनाउन सफल भयो। मैदानमा उपस्थित दर्शकको अत्यधिक आवाजपछि प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई ७४औं मिनेटमा मैदान प्रवेश गराएका थिए। आधा दर्जन गोल भएको खेलमा रोनाल्डो मैदान प्रवेश गरे पनि गोल भने गर्न सकेनन्।

‘धेरै आकांक्षी भए पनि मैले विश्वकप जस्तो प्रतियोगिता, त्यो पनि नकआउट चरणमा ह्याट्रिक गर्ने सपना कहिल्यै पनि देखिनँ। पहिलो रोजाइमा पर्दै तीन गोल गर्ने सोच कल्पनामा पनि थिएन,’ ह्याट्रिक गरेका रामोसले भने, ‘हामीले यस्तो अवस्थामा हरेक खेललाई नियाल्दै रणनीति बनाउनुपर्छ। यो जितले मनोबल मिलेको छ र क्वार्टरफाइनलमा मोरक्कोसँगको खेलका लागि केन्द्रित हुनुपर्नेछ। अब यो नतिजाले केही हुँदैन। हामी अब अर्को खेलका लागि तयारी हुनुपर्छ।’

रोनाल्डोले पोर्चुगलका लागि डेब्यु गर्दा ह्याट्रिक गरेका रामोस दुई वर्षका थिए। उनै रोनाल्डो अहिले पनि टोलीका लागि खेलिरहेका छन् र उनको खेलप्रतिको लगाव र मिहिनेतलाई रामोसले निकै सम्मान व्यक्त गरे। रोनाल्डो सुरुआती ११ मा नपरेको अवस्थामा ड्रेसिङ रुममा कस्तो थियो भन्ने प्रश्नमा रामोसले कुनै टीकाटिप्पणी नभएको प्रतिक्रिया दिए।

‘रोनाल्डो पहिलो रोजाइभन्दा बाहिर रहँदा टोलीको कुनै पनि सदस्यले कुनै टीकाटिप्पणी गरेनन्। हामी खेलमा केन्द्रित थियौं। कप्तानको हिसाबमा रोनाल्डोको भूमिका निकै राम्रो थियो,’ रामोसले थपे, ‘बेन्चमा रहँदा पनि रोनाल्डोले सबै खेलाडीलाई धेरै सहयोग र ऊर्जा दिएर खेल्न प्रेरणा दिएका छन्। मलाई मात्र होइन सबै खेलाडीलाई हौसला प्रदान गरेका हुन्।’

स्विट्जरल्यान्डविरुद्ध फराकिलो जित निकाल्ने क्रममा रामोसका अलावा पेपे, राफाइल गुइरेइरो, राफाइल लिआओले टोलीका लागि एकएक गोल गरेर रामोसलाई साथ दिए। रामोसले रोनाल्डोसँगै रोबर्टो लेवान्डोवस्की र ज्लाटान इब्राहिमोभिक आफ्ना आदर्श खेलाडीसमेत भएको बताए।

रामोसले बुधबार स्विट्जरल्यान्डविरुद्ध खेल्दा उनको पोर्चुगलका लागि चौथो खेल थियो। स्विट्जरल्यान्ड विरुद्धका तीन गोल गरेसँगै रामोसले ४ खेलबाट ४ गोल नै पूरा गरेका छन् भने विश्वकपका तीन खेल खेल्दा ३ गोल नै उनको नाम रह्यो। नाइजेरियाविरुद्ध विश्वकप छनोट खेलमा डेब्यु गरेका रामोसले यसै विश्वकपमा एक एसिस्ट पनि गर्न भ्याए।

२०१९ देखि पोर्चुगलको दोस्रो डिभिजन क्लब बेन्फिाका ‘बी’ मा खेलिरहेका रामोस २०२० मा शीर्ष डिभिजनमा जोडिएका थिए। २०२० बाट जोडिएका उनले क्लबका लागि ४५ खेल खेल्दा २० गोल पूरा गरेका छन्।  

प्रकाशित: २२ मंसिर २०७९ ०३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App