coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

घानाको लक्ष्य बदलाभन्दा नकआउट चरण

प्रशिक्षणका क्रममा घानाको टोली ।तस्बिर: एएफपी

घाना र उरुग्वेबीच शुक्रबार हुने समूह ‘एच’ को अन्तिम खेलले अझ पनि सन् २०१० को विश्वकपको क्वार्टरफाइनलको झल्को दिनेछ। जुन खेल अझ पनि घानाको फुटबल इतिहासकै पीडादायी खेलका रूपमा रहेको छ। अनि यस खेलमा सबैले भुल्नै नसक्ने नाम हो, उरुग्वेका स्ट्राइकर लुइस स्वारेज।  

क्वार्टरफाइनलको अन्तिम मिनेटमा चलिरहँदा स्वारेजले नियतवश घानाका खेलाडीले गरेको प्रहार पोस्टमा हातले रोकेका थिए। घानाका असामोभ जियानले पेनाल्टीको अवसर गुमाए। अन्ततः पेनाल्टी सुटआउटमा उरुग्वेले घानाको यात्रा अन्तिम आठमै सीमित बनाइदियो। घाना आफ्नो फुटबल इतिहासकै सबैभन्दा ठूलो उपलब्धिको संघारमा पुगेर पनि निराश भयो।

यस पटक उरुग्वेभन्दा घाना अघिल्लो चरणमा स्थान बनाउन, केही सहज स्थितिमा छ। दुई खेलमा ३ अंक जोडेको घाना दोस्रो स्थानमा छ। दुई खेलमा ६ अंक जोडेको पोर्चुगल शीर्ष स्थानमा रहँदै यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ। दक्षिण कोरिया र उरुग्वेको समान एक अंक छ।  

पहिलो खेलमा पोर्चुगललाई ३–२ को नतिजा सुम्पिएको घानाले दोस्रो खेलमा दक्षिण कोरियालाई ३–२ ले हराउँदै अन्तिम १६ को सम्भावना बलियो पारेको थियो। उरुग्वेलाई बराबरीमा रोके मात्र पनि घानाका लागि नकआउट चरणको टिकट पक्का गर्न पर्याप्त हुनेछ। यता उरुग्वेसँग भने नकआउट चरण प्रवेशका लागि घानामाथि जितबाहेकको विकल्प छैन।  

पहिलो खेलमा दक्षिण कोरियासँग गोलरहित बराबरीमा रोकिएको उरुग्वे दोस्रो खेलमा पोर्चुगलसँग २–० ले पराजित भएको थियो।

आन्द्रे एयु, सन् २०१० मा उरुग्वेसँगको पीडादायी हार व्यहोरेका टोलीका एक मात्र सदस्य हुन्, जो अहिले कतार विश्वकपमा टोलीको नेतृत्व सम्हालिरहेका छन्।

एयु आफूहरूको लक्ष्य उरुग्वेसँग बदलाको भाव भन्दा पनि नकआउट चरण प्रवेशको रहेकाले त्यसमा मात्र केन्द्रित रहेको बताउँछन्।

‘सन् २०१० को त्यो घटनाले मलाई मात्र होइन अरूलाई पनि पीडा दिएको थियो र अझ पनि दिन्छ,’ उनले भने, ‘तर हाम्रो लक्ष्य अन्तिम १६ को टिकट पक्का गर्ने हो। उरुग्वेविरुद्ध बदला लिने होइन। हामी जित मात्र चाहन्छांै।’

समूह ‘एच’ कै अर्को खेलमा दक्षिण कोरियाको सामना गर्दा पोर्चुगल भने समूहचरणको सुरुआती दुई खेलदेखिको जित लय कायम राख्न चाहन्छ।  

समूहविजेता बन्न पोर्चुगललाई दक्षिण कोरियाविरुद्ध एक अंक पनि मात्र पर्याप्त हुनेछ। दक्षिण कोरियालाई भने सन् २०१० पछि पहिलो पटक समूहचरण पार गर्न पोर्चुगलविरुद्ध जितको विकल्प छैन। २०१४ र २०१८ मा भने दक्षिण कोरियाको यात्रा समूहचरणमा सीमित भएको थियो।

उरुग्वेविरुद्ध गोलरहित बराबरीसहित कतार विश्वकपको यात्रा सुरुआत गरेको दक्षिण कोरियाका लागि दोस्रो खेलमा घानालाई सुम्पिएको नतिजा सबैभन्दा महंगो साबित बन्न सक्छ। २–० ले पछि परको स्थितिमा उत्कृष्ट पुनरागमन गरेको दक्षिण कोरिया अन्ततः ३–२ ले निराश भएको थियो।

समूह ‘जी’ मा पनि ब्राजिलले दुई खेलमा शतप्रतिशत नतिजा निकाल्दै यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको छ। त्यसैले समूहचरणको अन्तिम खेलमा क्यामरुनको सामना गर्दा ब्राजिलका प्रशिक्षक टिटेले प्रमुख खेलाडीलाई आराम दिँदै युवा खेलाडीलाई अवसर दिने सम्भावना रहेको छ।

समूह ‘जी’ मा ब्राजिलको दुई खेलमा ६ अंक छ भने दोस्रो स्थानको स्विट्जरल्यान्डको तीन अंक छ। सर्बिया र क्यामरुनको समान एक अंक छ।

बराबरीले पनि ब्राजिल समूह ‘जी’ को विजेता बन्नेछ। क्यामरुनका लागि भने अन्तिम १६ प्रवेशको सम्भावना कायम राख्न जित्नैपर्ने दबाब छ। पहिलो खेलमा  

स्विट्जरल्यान्डलाई नतिजा सुम्पिएको क्यामरुनले दोस्रो खेलमा सर्बियालाई बराबरीमा रोक्दै समूहचरण पार गर्ने सम्भावना जीवित राखेको थियो। तर उच्च लयमा रहेको ब्राजिलको जित गति रोक्नु क्यामरुनका लागि सहज भने छैन। क्यामरुन सन् १९९० पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाउन चाहन्छ।

ब्राजिल भने सन् २००६ पछि पहिलो पटक समूहचरणमा शतप्रतिशत नतिजा निकाल्ने लक्ष्यमा छ। यी दुई टोली विश्वकपमा दुई पटक आमनेसामने भएका छन् र दुवै पटक ब्राजिलले जित निकालेको छ।

यता सर्बियाविरुद्ध मैदान उत्रँदा स्विट्जरल्यान्डलाई भने नकआउट चरण प्रवेशका लागि बराबरी पनि पर्याप्त हुनेछ। सर्बियालाई भने समूहचरण पार गर्न स्विट्जरल्यान्डविरुद्धको जितले मात्र पनि पर्याप्त नहुन सक्छ।

प्रकाशित: १६ मंसिर २०७९ ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App