२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

युवाको परिपक्व प्रदर्शन

स्पेनका मिडफिल्डर पेड्री।

स्पेनका मिडफिल्डर पेड्री गत साता मात्र २० वर्षमा प्रवेश गरे, तर उनका टोली सहयात्री कोकले भने कतार विश्वकप २०२२ मा उनले गरेको प्रदर्शनबाट टोलीकै भेट्रान खेलाडीले पनि धेरै कुरा सिक्न सक्ने बताए।  

सन् २०२० मा स्पेनिस ला लिगाको क्लब बार्सिलोनाबाट गरेको प्रदर्शनपछि मात्र पेड्री चर्चामा आएका थिए, जो २०२० को युरो कपमा स्पेनका लागि प्रमुख खेलाडी रहेका थिए।  

मिडफिल्डर पेड्री जारी विश्वकपकै प्रभावशाली युवा खेलाडीका रूपमा देखा परेका छन्। स्पेनले समूह ‘ई’ को पहिलो खेलमा कोस्टारिकामाथि ७–० को जित र दोस्रो खेलमा जर्मनीसँग १–१ को बराबरी खेल्दा पेड्रीले उत्कृष्ट प्रदर्शन गरेका छन्। पेड्रीसँगै १८ वर्षका गाभीले पनि राम्रो प्रदर्शन गर्दै आएका छन्।

‘पेड्रीसँगै गाभीको प्रदर्शनले टोलीमा ठूलो प्रभाव परेको छ। युवा खेलाडी भए पनि उनीहरूले अनुभवी खेलाडीझैं प्रदर्शन गरिरहेका छन्,’ कोकले भने, ‘पेड्री कम उमेरका भए पनि टोलीकै भेट्रान खेलाडीले उनीबाट धेरै कुरा सिक्न सक्छन्। मैदानमा उनी निकै प्रभावशाली देखिन्छन्। म पनि उनीबाट सिकिरहेको छु। एउटा खेलाडीले सिक्ने कुरा कहिले पनि सकिएको हुँदैन। चाहे कम उमेरको खेलाडी होस् वा बढी उमेरका खेलाडी, एकले अर्कोको राम्रो पक्षको सम्मान गर्नुपर्छ।’

३० वर्षका कोकको यो तेस्रो विश्वकप सहभागिता हो। उनले आफूसँगै सर्जियो बुस्केट, जोर्डी अल्वा र सेजर एज्पिलिक्वेटा सधैं युवा खेलाडीलाई प्रोत्साहन गर्न तयार रहेको बताए।

‘टोलीमा सबै एकै उमेरका खेलाडी हुँदैनन्। कोही युवा हुन्छन् त कोही अनुभवी। एउटा खेलाडीले भन्दा पनि टोली भावनाले सफलता मिल्ने हो,’ उनले भने, ‘युवा खेलाडीको उपस्थितिले टोलीको जोस बढाउँछ। अनुभवी खेलाडीबाट भने उनीहरूले धैर्य गर्न सिक्नुपर्छ। युवा जोस र सिनियर खेलाडीको अनुभवबाट हुने सन्तुलनको हामीले फाइदा उठाउन सक्नुपर्छ।’

स्पेनले समूहचरणको अन्तिम खेलमा जापानको सामना गर्नेछ। २ खेलमा ४ अंक जोडेको स्पेन शीर्ष स्थानमा छ। समान खेलमा जापान र कोस्टारिकाको ३ अंक छ भने जर्मनीको १ अंक छ। जापानविरुद्धको बराबरीले मात्र पनि स्पेनको अन्तिम १६ को टिकट पक्का गर्नेछ।

प्रकाशित: १४ मंसिर २०७९ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App