११ मंसिर २०८१ मंगलबार
image/svg+xml
खेल

स्वाभाविक लयको अपेक्षामा ब्राजिल

 स्विट्जरल्यान्डका सेन्टर ब्याक निको इल्भेडीले सोमबार विश्वकप दाबेदार ब्राजिलको चुनौती सामना गर्न आफ्नो टोलीसँग क्षमता रहेको प्रतिक्रिया दिएका छन्।

‘यो विश्वकपमा रहेका हरेक टोली पराजित हुन सक्छन्,’बोरुसिया मोन्छेनग्लाडबाचका डिफेन्डर निकोले पाँच पटक विश्व च्याम्पियन ब्राजिलसँगको खेल अगाडि भने। दोस्रो हाफमा ब्रिइल एम्बोलोको गोलमा स्विट्जरल्यान्डले अफ्रिकन टोली क्यामरुनमाथि १–० को सुखद सुरुआत गरेको थियो। त्यो जितले टोलीमा ठूलो आत्मविश्वास पनि बढेको उनको विश्वास छ। पछिल्ला पाँच विश्वकप मध्ये स्विस टोली चार विश्वकपको नकआउट चरणमा पुगेको इतिहास छ।

ब्राजिललाई रोक्न सके स्विट्जरल्यान्ड पनि अन्तिम १६ मा पुग्नेछ। चोटका कारण ब्राजिलका स्टार स्ट्राइकर नेइमार नरहेको फाइदा लिने योजनामा स्विट्जरल्यान्ड छ। समूह ‘जी’ मा स्विस टोली, क्यामरुन, ब्राजिल र सर्बिया छन्। यो समूहमा ब्राजिललाई बलियो टोलीका रूपमा लिइन्छ र सोही ब्राजिलविरुद्ध जित निकाल्ने लक्ष्यमा स्विस टोली छ। तर, स्विट्जरल्यान्डका लागि विश्वस्तरीय खेलाडीले भरिएको ब्राजिललाई रोक्न सहज हुने छैन।

ब्राजिलका रिचार्लिसन पनि स्विट्जरल्यान्डका लागि चुनौती बन्नेछ, जसले पहिलो खेलमा क्यामरुनविरुद्ध दुई गोल गरेका थिए। रिचार्लिसनले ब्राजिलका लागि ३९ खेलमा खेलमा १९ गोल गरिसकेका छन्। उनी ब्राजिलका लागि विश्वकपको डेब्यु खेलमा नै दुई गोल गर्ने आठौं खेलाडी हुन्। पछिल्ला सात खेलमा उनले बाजिलका लागि ९ गोल गरेका छन्। त्यस कारण पनि स्विस टोलीको ठूलो चुनौती हुन्। गत अक्टोबरमा चोट बोकेपछि एभर्टनका स्टार रिचार्लिसनको यस विश्वकप यात्रा दुविधामा थियो।

तर, उनले अवसर पाए र आफूलाई प्रमाणित पनि गरे। पहिलो खेल जितेकाले ब्राजिल र स्विट्जरल्यान्ड दुवैको नकआउट चरण सम्भावना बलियो छ। स्विस टोली पहिलोपटक विश्वकपमा लगातार दोस्रो जित निकाल्दै देशका लागि कीर्तिमान बनाउन चाहन्छ। यता, प्रमुख खेलाडी नेइमारबिनाको बाजिल पनि तुलनात्मक रूपमा कमजोर टोलीमाथि जित निकाल्ने लक्ष्यमा छ। ब्राजिलका प्रशिक्षक टिटेले कतार विश्वकपमा नेइमारले खेल्ने विश्वास व्यक्त गरे।

अर्को खेलमा यसै समूहका सर्बिया र अफ्रिकन राष्ट्र क्यामरुन सोमबार अल जानौब स्टेडियममा भिड्दैछन्। यी दुवै राष्ट्रले पहिलो खेल गुमाएका थिए। सर्बिया ब्राजिलसँग र क्यामरुन स्विट्जरल्यान्डसँग स्तब्ध भएका हुन्। त्यसैले दोस्रो खेल जित्दै दुवै टाली नकआउट चरणको सम्भावना जीवन्त राख्न चाहन्छन्। सर्बियाका स्पोर्टिङ डाइरेक्टर स्टेभन स्टोजानोभिचले ब्राजिलसँगको खेलमा आफ्ना खेलाडीलाई जितको विश्वास नभएकाले हार बेहोर्नुपरेको उल्लेख गर्दै क्यामरुनविरुद्ध सुधार हुने विश्वास व्यक्त गरे। क्यामरुन सन् २००२ पछि विश्वकपमा पहिलो जितको खोजीमा रहेको छ।

सर्बियाले पहिलो खेलमा ब्राजिललाई २–० को नतिजा सुम्पिएको थियो। सन् २०१८ को रुस विश्वकपको समूह चरणमा पनि सर्बिया ब्राजिलसँग २–० ले स्तब्ध भएको थियो। स्टार खेलाडीमा फिटनेसको समस्याका कारण दबाबमा रहेको सर्बिया क्यामरुनविरुद्ध जितसहित नकआउट चरणमा आफ्नो दाबेदारी कायम राख्न चाहन्छ।

यता समूह ‘एच’ मा उरुग्वेको सामना गर्दा पोर्चुगल जितको लयलाई निरन्तरता दिँदै एक खेल अगावै नकआउट चरणको टिकट पक्का गर्न चाहन्छ। क्रिस्टियानो रोनाल्डो विश्वकपको पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेको खेलमा पोर्चुगलले घानामाथि ३–२ को जितसहित सुखद सुरुआत गरेको थियो। सन् २०१८ मा पोर्चुगल उरुग्वेसँगै निराश हुँदै अन्तिम १६ बाट बाहिरिएको हो। रोनाल्डोको टोली सो हारको बदला यो पटक लिने लक्ष्यमा छ।

यता उरुग्वे भने चार वर्षअघिकै नतिजा दोहोरिएको हेर्न चाहन्छ। पहिलो खेलमा उरुग्वे दक्षिण कोरियासँग गोलरहित बराबरीमा रोकिएको थियो। समूह ‘एच’ मै घानाले दक्षिण कोरियाको सामना गर्नेछ। पहिलो खेलमा पोर्चुगलसँग निराश घाना दक्षिण कोरियामथि जित निकाल्दै समूहचरण पार गर्ने सम्भावना कायम राख्ने लक्ष्यमा छ। दक्षिण कोरिया पनि प्रतियोगितामा पहिलो जितको खोजीमा छ।

प्रकाशित: १२ मंसिर २०७९ ०१:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App