२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पश्चिमाले नकारात्मक टिप्पणी मात्र गरे: इन्फान्टिगो

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतार विश्वकप २०२२ प्रति पश्चिमा संचारमाध्यमहरू सुरुआतबाटै नकारात्मक रहेको र मानव अधिकारका विषयलाई नकारात्मक तरिकाले टिप्पणी गरिएको आरोप लगाएका छन्।

विश्वकपको पूर्वसन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष इन्फान्टिनोले खाडी मुलुकले आयोजना गर्दा आप्रवासी कामदार, महिला र मानव अधिकारका विषयमा गलत तरिकाले व्याख्या गरिएको आरोप लगाएका हुन्। जसले गर्दा आयोजकले सहज तरिकाले आयोजना गर्न केही बाधा पुगेको समेत पत्रकार सम्मेलनमा व्यक्त गरेका छन्। आयोजकलाई रंगभेदीको निशाना बनाउन खोजिएको र रंगशाला निर्माणका क्रममा कामदारले अपनाउनुपर्ने सावधानीको विषयमा प्राथमिता नदिएर आलोचनामा मात्रै उत्रिएको कतारले आधिकारिक अभिव्यक्ति दिएको थियो। यद्यपि, सर्बत्र आलोचनाका बाबजुद सोमबार कतारले विश्वकपको आयोजना गर्दै छ।

तयारी अन्तिम भएको अवस्थामा आयोजकले इक्वेडरसँग खेल्दै २२औं संस्करणको विश्वकप सुरुआत हुनेछ। दोहामा आयोजना गरिएको पत्रकार सम्मेलनमा कडा शैलीमा कतारको टिप्पणी गर्नेहरूमाथि इन्फान्टिनोले आलोचना गरेका हुन्। पत्रकार सम्मेलनमा उनले विश्वकप आयोजना गर्दा कतारबाट लिनुपर्ने सन्देशभन्दा नकारात्मक टिप्पणी हुनु दुखद भएको बताएका छन्।

‘कतार विश्वकपले केही सन्देश दिएको छ। खाडी मुलुकमा प्रतियोगिता आयोजना हुनु सामान्य विषय होइन। कतारले विश्वकप आयोजना गर्दैगर्दा एकतर्फी तरिकाले केही विषयलाई मात्र व्याख्या र विश्लेषण गरियो। यो एउटा अनावश्यक टिप्पणी हो,’अध्यक्ष इन्फान्टीनोले भने, ‘म मेरो जिन्दगीको कुनै शिक्षा दिन चाहन्नँ। मात्र कतारले विश्वकप आयोजना गर्दैगर्दा भएका टिप्पणी अनावश्यक भएको ठान्दछु।’

मानव अधिकार र कामदारका विषयमाथि टीकाटिप्पणी हुँदा युरोपेलीले पछिल्लो तीन हजार वर्षमा जे भयो त्यसको समीक्षा गर्नुपर्ने अध्यक्ष इन्फान्टिनोको धारणा थियो। त्यसका लागि बाँकी विश्वलाई अर्को तीन हजार वर्षसम्म युरोपले क्षमा माग्नुपर्ने समेत उनको भनाइ थियो।

साथै इन्फान्टिनोले आप्रावासी समुदायलाई आफूले सहयोग गर्ने समेत बताएका छन्। सो क्रममा उनले अरबियन समुदायको पीडा पनि आफूले महसुस गरिरहेको धारणा व्यक्त गरे। ‘अरबको पीडा महसुस गरेको छु। म अफ्रिकालाई महसुस गरिरहेको छु। म आप्रवासी कामदार र समलिंगीलाई महसुस गरिरहेको छु। मेरो परिवारमा पनि आप्रावशी कामदार थिए। ती कतारमा होइन, स्विट्जरल्यान्डमा थिए। मेरो बाल्यकालको अवस्थालाई केलाउँदै छु। म दक्षिण अफ्रिकाको समस्या होइन, युरोपकै कुरा गर्दै छु,’अध्यक्ष इन्फान्टिनोले पत्रकार सम्मेलनमा भने।

यस्तै मादक पदार्थ (बियर) बिक्रीको विषयलाई पनि नकारात्मक तरिकाले टिप्पणी गरिएको उनको आरोप थियो। इस्लामिक राज्यहरूमा मादक पदार्थको खपतलाई पूर्ण रूपमा प्रतिबन्ध छ। सोही कारण आयोजकले ४८ घण्टा अगाडि रंगशाला वरिपरि मादक पदार्थ बेच्न पूर्ण रूपमा प्रतिबन्ध गरेको छ। यस विषयमा फिफाले आधिकारिक रूपमा केही निर्णय नदिएको र कतारले हस्तक्षेप गर्न खोजेको टिप्पणी पश्चिमा सञ्चारमाध्यमले गरेका छन्। सबैतिरबाट आलोचना मात्र हुँदा कतारले गरेको राम्रा कामलाई ध्यान नदिइएको अध्यक्षले आरोप लगाए।

विश्वकप आयोजनाकै लागि सन् २०१६ बाट धेरै परिवर्तन भएका छन्। न्युनतम तलब तोकिएको छ। ज्यादा गर्मीमा काम गर्न नपाइने नियम छ। जुन कदमको स्वागत गरिएको थियो। कामदारको अवस्थाबारे अध्ययन गर्ने मानव अधिकार संस्थाहरूले नै कतारको प्रशंसा गर्दै रिपोर्ट निकालेको उनले बताएका छन्। इन्फान्टिनोले यस विषयमा चर्चा कही नभएको उनको दुखेसो पनि गरे। कतारमा कामदारको अवस्था पश्चिम युरोपको जस्तो रहेको इन्फान्टिनोको दाबी छ। तलब समान नहोला, तर कामदारको सुरक्षा र काम गर्ने वातावरण निकै राम्रो रहेको रिपोर्ट बाहिरिएको र उक्त चर्चा रिपोर्टमा सीमित भएको उनले बताए।

प्रकाशित: ४ मंसिर २०७९ ०१:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App