दुर्घटनाको ‘हटस्पट’ मानिएको मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका-७ अँधेरी क्षेत्रमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बिहीबार दिउँसो ३ः०० बजेतिर मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख २८४२ नं. को मालवाहक ट्रकले सोही दिशातर्फ आउँदै गरेको स ५ प ९९ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार यमुना विश्वकर्माको मृत्यु भएको हो।
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवैजना घाइते भएका थिए। उनीहरूको उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल गाईघाट पर्याउँदा श्रीमती यमुनालाई चिकित्सकले मृत घोषित गरेको हो।
ट्राफिक प्रहरी निरीक्षक दानबहादुर मिरिङचिङ मगरका अनुसार घाइते श्रीमान् यमबहादुर विश्वकर्माको सोही अस्पतालमै उपचार भइरहेको छ।
घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर मगरले बताए।
विगत ३ महिना यता स्थानीय अभियन्ताको टोलीले दुर्घटना न्यूनीकरण गर्न सुरक्षित यात्रा –शुभ यात्रा) अभियान सञ्चालन गर्दै आएका छन्। मदन भण्डारी लोक मार्गमा धेरै दुर्घटना हुने र त्यसमा पनि अँधेरी क्षेत्रको झन्डै १ किलोमिटर खण्डमा अत्यधिक हुने दुर्घटना कम गर्न स्थानीय रमा मगर संयोजकत्वको टोलीले सुरक्षित अभियान चलाउँदै आएको छ।
अभियान चलाउन थाले यता कम हुँदै गएको सवारी दुर्घटना फेरि हुन थालेको छ। अँधेरी क्षेत्रमा कहिलेकाहीँ दैनिक र कहिले दिनमा २÷३ पटकसम्म दुर्घटना हुने गर्दा धेरै जनधनको क्षति भएकाले मगरले सबै क्षेत्र, पेसा, व्यवसायीको स्वयंसेवक टोली बनाएर सुरक्षित यात्रा अभियान चलाउन थालेको बताएकी छिन्।
अभियान चलाउँदा चलाउँदै पनि दुर्घटना हुनुमा पहिलो पटक सो क्षेत्रमा यात्रा गर्नेहरू भएर सडकको अवस्थाबारे जानकारी नहुनु मुख्य कारण रहेको अनुमान गरिएको छ। संगम चोक नजिकै जोगी टोलदेखि अँधेरी झर्नासम्मको लगभग १ किलोमिटर सडक पश्चिमबाट आउँदा घुम्ती र ओरालो भएकाले गाडी अनियन्त्रित भएर दुर्घटना धेरै हुने गरेको ट्राफिक कार्यालयले जनाएको छ।
प्रकाशित: १८ असार २०८३ १७:४५ बिहीबार





