ताप्लेजुङ जिल्लाका नयाँ प्रहरी प्रमुख (डिएसपी) कमल बजगाईँले सरोकारवालाले प्रस्तुत गरेका समस्याको सूक्ष्म विश्लेषण गरी समाधान गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताएका छन्।
शान्ति सुरक्षा सम्झौताहीन विषय भएको बताउँदै डिएसपी बजगाईँले जिल्लाको समसामयिक समस्याको पहिचान गर्न थालेको र समाधानका लागि सम्बन्धित पक्षसँग आवश्यक समन्वय र सहकार्य गर्न तयार भएको बताए।
यहाँको नयाँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको भोलिपल्ट शुक्रबार सञ्चारकर्मीसँग परिचयात्मक भेटघाट गर्दै डिएसपी बजगाईँले सरोकारवालाले दिएका सुझावका आधारमा आवश्यक समन्वय र सहकार्यको खाँका तयार गर्ने बताए।
नागरिकले अनुभूत गर्ने गरी शान्ति सुरक्षा र अमन चयन प्रदान गर्न आफू र आफ्नो निकायलाई प्रभावकारी ढङ्गले परिचालन गर्ने बजगाईँको भनाई छ।
भित्रँदै गएका नेपालीहरूका चाडपर्व, मेला बजार र फुटबलसहितका क्रियाकलापमा कारण मानिसहरूको बढ्दो जमघट र शान्ति सुरक्षामा देखिन सक्ने सम्भावित समस्याप्रति जिल्ला प्रहरी कार्यालय सजग रहेको उनको भनाई थियो।
डिएसपी बजगाईँले नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व प्रहरी प्रशासनको भए पनि यसमा प्रहरी–नागरिक सहकार्य अनिवार्य हुने बताए। प्रहरी र नागरिकको सहकार्यबाट सम्भावित सुरक्षाका जोखिम कम हुने विषय नागरिक स्तरमा समेत बुझाउन आफूहरूले प्रहरी–समुदाय साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना बनाएको समेत उनले बताए।
लागुऔषध दुर्व्यसन विरुद्ध प्रहरी कडाइ रूपमा प्रस्तुत हुने बताउँदै डिएसपी बजगाईँले लागु औषधको प्रयोग तथा कारोबार पूर्ण रूपले नियन्त्रण गर्ने गरी आफूले योजना बनाउने बताए।
फुङलिङमा सवारी पार्किङको समस्याका बारेमा आफूले सूक्ष्म ढङ्गले बुझ्न थालेको बताउँदै अति भिडभाड हुने समयमा सवारी पार्किङ तथा सवारी व्यवस्थापनका विषयमा विशेष योजना नै बनाउनुपर्ने आफूले महसुस गरेको बताए।
रातको समयमा हुने सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीको गस्ती टोलीको प्रभावकारी परिचालन,आपराधिक गतिविधि विरुद्ध शीघ्र कारबाही र सवारीको द्रुत गति नियन्त्रणमा आफ्नो विशेष ध्यान जाने उनको भनाई थियो।
उनले विपद् पूर्वको तयारी र प्रतिकार्यको योजनाका बारेमा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँगको सुझावका आधारमा अघि बढ्ने समेत बताए। मातहतका प्रहरी युनिटलाई शान्ति सुरक्षाका सवालमा सम्झौताविहीन ढङ्गले काम गर्न निर्देशन दिई सकिएको समेत जानकारी दिए।
प्रकाशित: २९ श्रावण २०८३ ११:४३ शुक्रबार





