मेची राजमार्गको ताप्लेजुङ-काबेली सडकखण्डअन्तर्गत पाथीभरा याङवरक गाउँपालिका-१ स्थित खहरेमा विपरीत दिशाबाट आइरहेका दुईवटा बस एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।
घाइते तीनै जनाको टाउकोमा चोट लागेको भए पनि अवस्था बोल्न सक्ने र मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि पाँचथरस्थित जिल्ला अस्पतालतर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) कमल बजगाँईले जानकारी दिए।
प्रहरीका अनुसार दुर्घटनामा भक्तपुर नगरपालिका-३ वंशगोपाल बस्ने अन्दाजी ४८ वर्षीय लक्ष्मी सोनेप, सूर्यविनायक नगरपालिका-६ फलाटे बस्ने अन्दाजी ३८ वर्षीया सुनिता सोहङमिखा र काठमाडौं तारकेश्वर नगरपालिका-४ बस्ने अन्दाजी ४७ वर्षीया सुनिता कटुवाल घाइते भएका छन्।
डिएसपी बजगाँईका अनुसार ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको प्र.३-०१-००६ख ०५९६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१-००६ख ५६५८ नम्बरको बस खहरेमा एकआपसमा ठोक्किएका हुन्।
घटनाको उद्धार तथा थप अनुसन्धानका लागि प्रहरी सहायक निरीक्षक कृष्णकुमार माझीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: २८ कार्तिक २०८३ १९:४९ शनिबार





