जुम्लाको तिला गाउँपालिकाले सिँचाई कुलो निर्माणकार्यमा श्रमदान गर्ने व्यक्तिको नाममा तयार पारिएको ताम्रापत्र अनावरण गरेको छ। गाउँपालिका ४ मा अवस्थित ६ किलोमिटर लामो बुहार, झारखेत मार्सी धान फल्ने सिँचाई कुलो खनेर नि: शुल्क योगदान पुर्याउने श्रमिकहरूलाई ताम्रपत्रमा नाम लेखेर सम्मान गरिएको हो।
श्रमदानकर्ता र परिवारलाई अविर र नेपाली ढाका टोपीले सम्मान गरिएको थियो।
‘श्रमप्रतिको सम्मान, कदरयोग्य योगदान’ भन्ने मूल नारा तय गरिएको थियो।
उक्त ताम्रापत्रको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले अनावरण गरेकी थिइन्।
तिला गाउँपालिका ४ मा पर्ने सापुली, रावतवाडा र नुवाकोटगाउँका मार्सी धान फल्ने भण्डारी ज्युला, सिमखेत, बुङ्गार र झार खेतका चार ज्युलामा सिँचाइ सुविधा सम्पन्न कुलो खनेर श्रमदान गर्ने सापुल्लीगाउँका नेतृत्वकर्ता वीरबहादुर सिंह र सहायक नेतृत्वकर्ता रावतवाडाका खम्मानाथ योगी नेतृत्वमा श्रमदान गर्ने ४६ व्यक्तिको नाम ताम्रपत्रमा नाम कैद गरिएको छ।

ताम्रपत्रमा उल्लेख भए अनुसार कुलो खन्न १९६२ सालमा थालिएको हो। त्यसबेला अहिलेको तिला गाउँपालिका-४, बुङ्गारको भिरसम्म कुलो ल्याएर छोडिएको थियो। पुनः दोस्रो पटक रावतवाडा निवासी मोतीलालनाथ योगी लगायतका व्यक्तिले केही काम गरेका थिए तर नाभिडाँडाको भिर काट्न नसक्दा कुलो पूरा हुन सकेको थिएन।
कुलो खन्न थालेको झन्डै एक सय वर्षपछि तत्कालीन कुडारी गाविस अध्यक्ष चक्रबहादुर शाहीको पहल र नुवाकोट गाउँका भक्तबहादुर चौलागाईसहितका व्यक्तिको समर्थनमा तिला ४, सापुल्लीगाउँका वीरबहादुर सिंहको नेतृत्वमा पुनः श्रमदानबाट निर्माण गर्न थालिएको थियो।
बुङ्गार नाभीडाँडा हुँदै झारखेत सिँचाइ कुलो निर्माणमा योगदान पुर्याउनेहरूको नाम अभिलेखीकरण गर्ने गाउँ कार्यपालिकाको निर्णय अनुसार आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रममा श्रमदानकर्ताको अभिलेखीकरण गरिएको हो।
योगदानकर्ताका अनुसार कुलो निः शुल्क निर्माण गर्न २०५३ देखि २०६३ सम्म १० वर्ष लागको थियो। १० वर्षमा पाँच करोड तीन लाख ६ हजार रुपैयाँको श्रमदान भएको ताम्रापत्रमा उल्लेख छ।
ताम्रपत्रको अनावरण गर्दै तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले यो निकै ऐतिहासिक कार्य भएको बताइन्। ‘निस्वार्थ कार्यमा सहयोग पुर्याउने सबै नेतृत्व र श्रमिकहरूप्रति उच्च सम्मान छ’ उनले भनिन्। दिगो र दुर्दर्शी काम सबैले अनुसरण गर्नुपर्ने बताउँछिन्। अमूल्य कार्यको इतिहास दस्तावेजीकरण गर्न गाउँपालिकाले ताम्रपत्रबाट सम्मान गरेको हो।
बुङ्गार (नाभिडाँडा) झारखेत सिँचाइ कुलोका श्रमदान नेतृत्वकर्ता ७५ वर्षीय वीरबहादुर सिंहले उतिबेला खन्ने कुनै ओजार र उपकरण थिएनन्। कोदालो भरमा, “घरबाट भुटेका मकै, भटमास बोकेर आउँथ्यौं, कतिले त भटेउला नामक जरीबुटी खाएर संघर्ष गरिएको स्मरण गरे।

कुलो निर्माण गर्दा छोरा धीरबहादुर सिंह खसेर पुर्नजन्म पाएको उनले सुनाए। कुलो निर्माण गर्दा काठका लठ्ठी, डोरीको प्रयोले चट्टान फोरेका थिए। तीमध्ये धेरै श्रमिक अहिले दिवंगत भइसकेका छन् तर उनीहरूको योगदान ताम्रपत्र मार्फत दस्तावेज गरिएको छ।
श्रमिकको कदर स्थानीय सरकारले गरेको भन्दै विरबहादुरले खुसी प्रकट गरे।ताम्रपत्रमा नाम लेखिदिएको भन्दै गाउँपालिकालाई धन्यवाद दिए। यता तत्कालीन गाविस अध्यक्ष चक्रबहादुर शाहीले नयाँ पिँढीले यस्ता ऐतिहासिक श्रमको मूल्य बुझ्नुपर्ने बताए।
मान्छे मेरर गए पनि समाजका लागिएको अम्बर बनेका छन्। यस्तै अर्का स्थानीय धनबहादुर हमालले श्रमप्रतिको सम्मानले उत्साहित भएको बताए। हामी मरेर गए पनि छोरानातिले नाम ताम्रापत्रमा पढ्न पाउने बताए।
सम्मान हुन पाउँदा हौसलासँगै यसबाट आत्मसम्मान बढेको छ। कुलो निर्माणमा श्रमिकहरूले देखाएको त्याग र समर्पण गाउँपालिकाले सम्मान गरेको गर्याे ,”उनले भने।
स्थानीयले अहिले बुङ्गार (नाभिडाँडा) झारखेत सिँचाइ कुलो निर्माण समिति निर्माण गरेर गाउँपालिकामा यो कामका लागि माग गरेको निर्माणका समितिका अध्यक्ष वीरबहादुर सिंहले बताए। अरू केहीको नाम छुटेको र त्यसमा पछि थपिने बताइएको छ।
प्रकाशित: १ श्रावण २०८२ १२:०६ बिहीबार





