आफ्ना नागरिक बेपत्ता भएको तीन साता बित्दा पनि उनीहरू कहाँ र कुन अवस्थामा छन् भन्ने जवाफ राज्यले दिन नसकेपछि जुम्लाको पातारासी गाउँपालिका-५ माथिल्लो लोर्पा गाउँका १० जनाको परिवारले हार खाएर अन्तिम संस्कार गरेका छन्।
रसुवाको बाढीमा बेपत्ता भएका उनीहरूको शनिबार कुशको शव बनाएर सामूहिक दाहसंस्कार गरिएको हो।
गत भदौ १० गते रसुवामा आएको बाढीका क्रममा टनेल नम्बर २१६ बाट उनीहरू बेपत्ता भएका थिए। त्यसयता परिवारले खोजी र उद्धारको आशमा दिन गन्दै बसे।
तर समय बित्दै जाँदा आफन्तको कुनै अत्तोपत्तो लागेन। जिउँदा छन् कि छैनन् भन्ने यकिनसमेत राज्यले गर्न नसकेपछि, हिन्दु परम्पराअनुसार कुशलाई नै शवको प्रतीक बनाएर परिवारले सामूहिक रूपमा दाहसंस्कार गर्न बाध्य भए।
स्थानीय युवा अगुवा रमन बुढाका अनुसार बेपत्ता भएको लामो समय बितिसक्दा पनि राज्यले उनीहरूको अवस्था पत्ता लगाउन नसक्दा परिवारको पीडा अझ गहिरिएको छ।
‘हामीले हाम्रा मान्छे खोजिदिन पटकपटक आग्रह गर्यौं। तर न सासको खबर आयो, न लास पाइयो,’ उनले भने, ‘अन्ततः कुर्दाकुर्दै आश मरेपछि कुशको शव बनाएर अन्तिम संस्कार गर्न बाध्य भयौं।’
जुम्लाका ६३ जना अझै बेपत्ता
जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांकअनुसार रसुवाको बाढीमा परी पातारासी गाउँपालिकाका मात्रै ४९ जना अझै बेपत्ता छन्।
जसमध्ये माथिल्लो लोर्पाका १० (शनिबार अन्त्येष्टि गरिएका), तल्लो लोर्पाका ४, लाम्रीका १५, तिर्खुका ९, जम्नाका २, तल्फीका १ र बाता गाउँका ८ जना सम्पर्कविहीन छन्।
यस्तै, चन्दननाथ नगरपालिकाका-४, सिंजा गाउँपालिकाका १ र गुठीचौर गाउँपालिकाका ९ जनासमेत गरेर जुम्ला जिल्लाका कूल ६३ जना नागरिक अझै बेपत्ता रहेको प्रशासनको विवरणमा उल्लेख छ।
प्रकाशित: ३ आश्विन २०८३ २०:२१ शनिबार





