१३ भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

पोखरामा पनि गाईजात्राको रौनक

नेवारी समुदायको परम्परागत गाईजात्रा पोखरामा पनि मनाइएको छ। नेवारी समुदायका एक वर्ष भित्र आफन्त बितेका परिवारबाट निकालिने गाईजात्राको रौनक आज पोखरामा पनि देखिएको हो।

विगतका वर्षहरुमा झैं यस वर्ष पनि पोखरामा बाक्लै मात्रामा गाईजात्रा निस्किएको नेवाःखल कास्कीले जनाएको छ।

पोखराका प्रायः सबै गाउँ र टोलबाट गाईजात्रा निस्किएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए।

‘यति नै संख्यामा गाईजात्रा निस्कियो भनेर त भन्न सकिन्न’, उनले भने, ‘तर हरेक गाउँ/टोलमा एक वा त्यो भन्दा बढी मान्छे बितेका घर भएकाले उनीहरुले गाईजात्रा निकाले।

गाईजात्राको अवसरमा शनिबार कम्तीमा पनि ४० स्थानबाट तायामचाःसमेत निकालिएको छ। नेवा खलः कास्कीको आह्वानमा ४० शाखा (कचाः)खलःहरुले तायाः मचा निकालेका हुन्।

शनिबार पुरानो पोखरामा ३० स्थान, लेखनाथमा ८ स्थान, रुपा गाउँपालिका र माछापुच्छ्रेे गाउँपालिकाको घाचोकमा १/१ स्थान गरेर कुल ४० स्थानबाट तायाःमचा निस्किएको अध्यक्ष पालिखेले जानकारी दिए। उनका अनुसार पोखरामा शनिबार हेमजा, लामौचार, बगर, मोहरियाटोल, भैरवटोल, भीमसेनटोल, गणेशटोल, रामकृष्णटोल, बगालेटोल, सिमलचौर, राष्ट्रवैंकचोक, पार्दी विरौटा, छोरेपाटन, पृथ्वीचोक, नयाँबजारबाट तायमचाः निकालिए।

त्यस्तै, महेन्द्रपुल, तेर्सापट्टी, रानीपौवा, गौंडाकोमुख, कुँडहर र रामबजारबाट पनि तायाःमचा निस्केको उनले बताए। त्यस्तै लेखनाथबाट सिसुवा, अर्घौं, गगनगौंडा, जनताको चौतारा, बागमारा, हंसपुर, देउरालीलगायतका स्थानबाट तायाः मचा निकालिएको जनाइएको छ।

तायाःमचा ४० ठाउँबाट भएपनि गाईजात्रा भने एक सय भन्दा बढी ठाउँबाट निस्किएका छन्। एउटा टोलबाट धेरै गाई निस्किएपनि तायाःमचा एउटै हुने भएकाले गाईको संख्या धेरै भएको अध्यक्ष पालिखेको भनाई छ।

उनले भने, ‘एउटा टोलबाट एउटा तायाःमचा निकालिन्छ। तर, एउटा टोलमा २–३ जनादेखि ५–६ जनासम्म पनि मान्छेको मृत्यु भएकाले सो अनुसार प्रत्येक घरबाट गाई निस्किदा सयभन्दा बढी निस्किएका छन्।’

गाईजात्राको अवसरमा पोखरामा शनिबार रामायण पनि निकालिएको छ। तायाः मचासँगै पोखरामा यस वर्ष रामायण पनि निकालिएको संस्कृतिकर्मी अष्टमान प्रधानाङ्गले जानकारी दिए।

सिद्धिविनायक गणेश मन्दिर संरक्षण समितिभैरवटोलका अध्यक्ष कृष्णदेव प्रधानाङ्गको श्रीमती स्व.विजयालक्ष्मी प्रधानाङ्गको स्मृतिमा उनको परिवारले शनिबार गाईजात्राको अवसरमा रामायण परिक्रमा गराएको उनले बताए।

मृतकको सम्झनामा उनको गुणगान गाउँदै निकालिने रामायणमा सबै भगवानको प्रतिमूर्ति बनाएर बाजागाजासहित निकालिने खर्चालु भएकाले रामायण परिक्रमा अक्कलझुक्कल मात्रै निस्किने गरेको र पोखरामा यस पटक निस्किएको उनको भनाई छ।

यसैबिच, गाईजात्राको अवसरमा नेवा खलः कास्कीको आह्वानमा तायाः मचा नृत्य प्रतियोगिता यही भदौ २० गते शनिबार आयोजना हुँदैछ। लामाचौर कचाः खल गुठीको आयोजनामा पोखरा–१६ लामाचौर चोकमा प्रतियोगिता हुन लागेको हो।

हरेक वर्ष हुँदै आएको प्रतियोगिताको यस वर्षको शृङ्खलामा ३८ टिम प्रतियोगिता रुपमा र २ वटा टिम अप्रतियोगिका रुपमा सहभागी हुने आयोजक लामाचौर कचाः खल गुठीका अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिए।

यस वर्षको प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, द्वितीय हुनेले ७७ हजार ७ सय ७७ रुपैयाँ र तृतीय हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ तथा सान्त्वना हुने एक टिमले २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए।

यस वर्ष महिलातर्फको उपाधि विजेतालाई ४० हजार, द्वितीय हुनेलाई ३० हजार, तृतीय हुनेलाई २५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई २० हजार प्रदान गरिने पनि उनले बताए।

प्रकाशित: १३ भाद्र २०८३ २०:१९ शनिबार