विगत ५ महिनाअघि चुँडिएको बिजुलीको तार मर्मत नगरेका कारण उदयपुरगढी गाउँपालिका–७ तिल्केनीको पुरै बस्ती खानेपानीको हाहाकारमा परेको छ।
विद्युतको सहारामा सञ्चालन भइरहेको खानेपानीको लागि जोडिएको तार, हावाहुरीले चुँडाइदिएपछि गाउँलेहरू खानेपानी अभावमा परेका हुन्।
तिल्केनीबासीलाई लक्षित गरी केही वर्षअघि निर्माण गरिएको भूमिगत खानेपानीको बोरिङमा जोडिएको विद्युतको तार हावाहुरीले ५ महिनाअघि चुँडाइदिएको थियो।
तार, चुँडिएपछि बन्द भएको खानेपानी योजनाको समयमा मर्मत नहुँदा पुरै गाउँले खानेपानीको हाहाकारमा परेको स्थानीयले बताए।
सो आयोजनाको पानी खाँदै आएका तिल्केनीका २३ घरधुरी परिवार अहिले घण्टौँ लगाएर खोलाको धमिलो पानी खान बाध्य भइरहेको सामाजिक अभियन्ता रमा मगरले बताइन्।
सामाजिक विषयको चासो लिँदै तिल्केनी पुगेकी मगरका अनुसार खानेपानी आयोजना बन्द भएपछि स्थानीयवासी दैनिक ३४ घण्टा हिँडेर स्थानीय खोलाको धमिलो पानी ल्याएर खानुपर्ने बाध्यतामा छन्।
गएको जेठ पहिलो साता हावाहुरीले आयोजनामा जोडिएको विद्युतको तार चुँडाइदिएपछि मर्मतका लागि धेरै पटक नेपाल विद्युत् प्राधिकरणमा सम्पर्क गरेको तर, बेवास्ता गरेकाले स्थानीयवासी पानीबाट वञ्चित हुन पुगेको मगरले बताइन्।
विद्युत् प्राधिकरण, वडा कार्यालय र गाउँपालिकासम्म गुहार्दा पनि काम नभएपछि खोलाकै धमिलो पानी खानुपर्ने बाध्यतामा स्थानीयहरू रहेको उनले बताइन्।
उदयपुरगढी ७ का वडाध्यक्ष भुवन केप्छाकी मगरले विद्युतको तार चुँडिएर आयोजना बन्द भएको स्वीकारे। उनले यसबारे गाउँपालिका र प्राधिकरण दुवैलाई बेलैमा मर्मतका लागि आग्रह गरेको तर, विभिन्न समस्या देखाउँदै मर्मत गर्ने काम नभएको गुनासो गरे।
विद्युत् प्राधिकरण, गाउँपालिका र खानेपानी डिभिजन कार्यालय फिल्ड अफिससम्मलाई पनि यसबारे जानकारी गराइसकेको वडाध्यक्ष मगरले बताए।
मर्मत गर्ने भन्दाभन्दै असार लागेको, त्यसपछि साउनमा गर्ने भन्दाभन्दै भदौ पनि कटेर असोज पहिलो साता बित्न लाग्दासम्म मर्मत नभएपछि गाउँलेलाई खानेपानीको ठुलो समस्या भएको उनले बताए।
वडामा मर्मत सम्भार शीर्षकमा बजेट नभएकाले माथिल्लो निकाय नै गुहार्नुपर्ने बाध्यताले तिल्केनीवासीलाई समस्या भएको टुलुटुलु हेरेर बस्न बाध्य भएको चालारी मगरले सुनाए।
प्राधिकरण वितरण केन्द्र उदयपुरले ५ महिना नभएर केही समयअघि खानेपानी आयोजनामा जोडेको विद्युत् तार मर्मत गर्न माग भई आएको तर, प्राविधिक कारण मर्मत गर्न नभ्याएको भन्दै अब प्राविधिक पठाउन लागेको जनाएको छ।
वितरण केन्द्र प्रमुख मनोजकुमार झाले असारको चटारो र साउनदेखि नयाँ आर्थिक वर्ष सुरु भएर अझै आर्थिक कारोबार सुरु नभएकाले मर्मत केही ढिला भएको बताए।
हाकिम झाका अनुसार सो आयोजना खानेपानी कार्यालयले निर्माण गरेकाले मर्मत गर्ने जिम्मा पनि उसैको भएको तर, प्राधिकरणमा पनि आग्रह भएपछि अब छिट्टै प्राविधिक पठाएर मर्मत गर्ने बताए।
सानातिना समस्याहरू स्थानीय सरकारले पनि गर्नुपर्नेमा प्राधिकरणको मात्र मुख ताक्ने प्रवृत्तिले पनि स्थानीयवासी मार्कामा पर्ने झा बताउँछन्।
प्रकाशित: ६ आश्विन २०८३ १२:५७ मंगलबार





