३१ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

पोखरामा लोपोन्मुख लाखे नाचको रौनक

पोखरामा लोपोन्मुख लाखेनाच संरक्षणको प्रयास गरिएको छ। मालेपाटन ताया:मचा नाच समिति पोखरा-५ ले नेवारी समुदायको अनुपम संस्कृति लाखेनाच संरक्षणको प्रयास गरेको हो। 

नेवा:खल कास्कीको संरक्षणमा लाखेनाच संरक्षण, संवर्द्धन र पुस्तान्तरणको प्रयास स्वरूप शनिबार पोखरा-५ मालेपाटनस्थित वाराही माविको खेल मैदानमा तेस्रो संस्करणको लाखेनाच प्रदर्शन सम्पन्न भएको छ।

पोखरामा लाखेनाच लोपोन्मुख अवस्थामा पुगेपछि नयाँ पुस्तामा लाखेनाचप्रति आकर्षण जगाउन तीन वर्षअघि सुरु भएको लाखेनाच प्रदर्शन यस वर्ष पनि भव्य रूपमा भएको हो। जहाँ एउटै मञ्चमा कास्कीसहित तनहुँ, बागलुङ र पर्वतका २० वटा लाखेनाच समूहले प्रस्तुति दिएको कार्यक्रम संयोजक विनय श्रेष्ठले जानकारी दिए। उनका अनुसार मालेपाटन ताया: मचा समितिले नाचको सुरुवात गरेपछि नेवार कल्याण समाज पर्वत, नेपाल राष्ट्रिय खड्गी समाज पोखरा-२, बागलुङको नारायणस्थान हटिया समाज, पोखरा-६ स्थित बैदाम नेवा: खल, जाल्पा देवी ल्याम्ह पुच: सिमलचौर पोखरा, हेमजा नेवा खल पोखरा-२५, चण्डेश्वरी नेवा समाज पोखरा-१४ को प्रस्तुति दिएका थिए। त्यस्तै रानीपौवा रामबजार ताया: मचा समिति, रानीपौवा खड्गी समाज, रातोपैह्रा लाखे खल पाखरा-१४, कुँडहर राधाकृष्ण मन्दिर पोखरा-१३, राष्ट्र बैंक चोक ड्यामसाइड नेवा खल, पृथ्वी चोक ल्याम्ह पुच:, जोजोलपा लाखे, तेर्सापट्टी यमलोकको लाखे, मोहरिया सिंहनाथ टोल ताया: मचा समिति पोखरा-१, गैह्रापाटन नेवा समाज पोखरा-४, नयाँ बजार ल्याम्ह पुच: पोखरा-९ र नव पञ्चाली लाखे समूह पोखरा-२ लगायतको प्रस्तुति रहेको थियो।

अप्रतियोगितात्मक कार्यक्रम बिसौं हजार दर्शकको माझमा भएको थियो। जहाँ पानीको प्रवाह नगरी दर्शकले नाच अवलोकन गरेका थिए। बिहान १० बजेदेखि सुरु भएको प्रदर्शन राती १० बजेसम्म पनि जारी रहँदा पनि दर्शकहरू मन्त्रमुग्ध भएर हेरिरहे। जसले आयोजकलाई आगामी दिनमासमेत कार्यक्रम गर्न हौसला मिलेको संयोजक श्रेष्ठको भनाई छ।

कार्यक्रममा नेवारी संस्कार, संस्कृति झल्कने बाजा, भेष भूषासँगै नेवारी खानाका परिकारहरू पस्किदा नयाँ तथा पुरानो पुस्ता रमाइरहेका थिए। यसले संस्कृति संरक्षणसँगै स्थानीय उत्पादनकोसमेत खपतमा सघाएको श्रेष्ठले बताए। उनले भने,‘हाम्रो उद्देश्य संस्कृति संरक्षणसँगै पुस्तान्तरणमा पनि सघाउने हो, सँगसँगै स्थानीय उत्पादनको खपतले अर्थतन्त्र चलायमान गराउन पनि भूमिका खेल्यो।’

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले यस प्रकारका कार्यक्रमले लोपोन्मुख संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले भनिन्,‘संस्कृति जोगाउनु हाम्रो दायित्व हो। यसमा मालेपाटन ताया:मचा समितिले उदाहरणीय कार्य गरेको छ।’

नेवा:खल कास्कीका अध्यक्ष अशोक पालिखेले संस्कृति कुनै जातीको पहिचान भएकाले त्यसको संरक्षण गर्नु आवश्यक रहेको बताए। पछिल्लो समय मालेपाटन ताया:मचा समितिले लाखेनाच संरक्षणमा देखाएको जागरूकताप्रति धन्यवाद दिँदै उनले भने,‘संस्कृति बचाए मात्रै हाम्रो अस्तित्व र पहिचान पनि बच्छ। त्यसैले संस्कृति संरक्षणमा सबै लागौं।’

कार्यक्रमको अध्यक्षता गरेका कार्यक्रम संयोजक विनय श्रेष्ठले लाखेनाच नेवार समुदायको मौलिक सांस्कृतिक र परम्परा भएकाले यसको संरक्षण र नयाँ पुस्तामाझ हस्तान्तरणका लागि मैत्रीपूर्ण प्रदर्शन आयोजना गरिएको स्पष्ट पारे। उनले भने,‘आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइनेछ।’

प्रकाशित: ३१ श्रावण २०८३ २०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App