सिरहाको मिर्चयादेखि उदयपुरको कटारी हुँदै ओखलढुंगा र सोलुखुम्बु जोड्ने सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्ड स्तरोन्नति हुने भएको छ। दुई दशकदेखि जीर्ण अवस्थामा रहेको सडक स्तरोन्नतिका लागि सरकारले ३ अर्ब ९४ करोड ५४ लाख ९८ हजार २ सय ९१ रुपैयाँ बजेट सुनिश्चित गरेपछि ठेक्का प्रक्रिया अघि बढेको हो।
कटारीको मरुवादेखि घुर्मीसम्मको ४६ किलोमिटर सडकमध्ये पहिलो चरणमा मरुवा–बेतिनी १५ किलोमिटर र बेतिनी–गहुँबारी १२.५ किलोमिटर गरी २७.५ किलोमिटर सडक स्तरोन्नति गरिनेछ। उक्त कामका लागि ५७ वटा बोलपत्र परेको र मूल्यांकनपछि आशयपत्र प्रकाशन गर्ने तयारी भइरहेको योजना प्रमुख डीई विवेक पाण्डेले बताए।
उनका अनुसार दसैँअघि ठेक्का सम्झौता गरी दसैँ–तिहारलगत्तै निर्माण सुरु गर्ने तयारी छ। बाँकी गहुँबारी–घुर्मी १२.५ किलोमिटर सडकका लागि आगामी वर्ष बजेट माग गरिनेछ।
पुरानो प्रविधिबाट निर्माण भएको साँघुरो र घुम्ती सडकमा क्षमताभन्दा बढी भार बोकेका टिपर तथा ट्रक नियमित सञ्चालन हुँदा सडक लामो समयदेखि जीर्ण बन्दै आएको स्थानीय बताउँछन्। वर्षायाममा पहिरो, हिलो र खाल्डाखुल्डीका कारण यातायात अवरुद्ध हुने गरेको छ।
कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले वर्षौँको प्रयासपछि सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित भएकाले अब सडक बन्ने आशा जागेको बताए।
सडक कालोपत्रेसहित स्तरोन्नति भएपछि कटारीका पहाडी वडालाई नगरमुकामसँग जोड्न सहज हुनुका साथै ओखलढुंगा–सोलुखुम्बु आवागमन र प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीसम्मको यात्रासमेत सहज हुने अपेक्षा गरिएको छ।
प्रकाशित: २० भाद्र २०८३ १९:४७ शनिबार





