२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

श्रीपती समाज सेवा पुरस्कार मानव सेवा आश्रम नेपाललाई प्रदान गरिने

श्रीपती गुठीले प्रदान गर्ने पुरस्कारहरूबारे जानकारी गराउँदै गुठीका अध्यक्ष फणिन्द्रराज कोइराला।

यस वर्षको श्रीपती समाज सेवा पुरस्कार मानव सेवामा समर्पित मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ।

श्रीपति कोइराला गुठीको २१९ औं जन्मजयन्तीको अवसरमा शनिबार पोखरामा आयोजित कार्यक्रममा पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार २०८२ सो आश्रमलाई अर्पण गर्न लागिएको जानकारी दिइएको हो। पुरस्कारको राशी नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित सम्मान पत्र र पदक रहेको गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाले जानकारी दिए।

छनौट समितिको सिफारिसमा मानव सेवामा समर्पित सो आश्रमलाई पुरस्कार प्रदान गरिने निर्णय भएको उनले बताए। पुरस्कार गुठीको ३० औं वार्षिक साधारणसभामा प्रदान गरिने समाजका महासचिव नवराज कोइरालाले जानकारी दिए।

पुरस्कृत संस्था मानव सेवा आश्रमले विभिन्न जिल्लामा आश्रम स्थापना गरेर हजारौं असहायहरूलाई आश्रय प्रदान गर्दै आएको छ। बेसहारा, असहाय, मानसिक रुपमा अस्वस्थ, वृद्धवृद्धा तथा सहयोगापेक्षी व्यक्तिहरूको उद्धार, संरक्षण, उपचार, पुनर्स्थापना र पारिवारिक पुनर्मिलन गराउने उद्देश्यले २०६९ सालमा मकवानपुरको हेटौंडाबाट सुरु भएको यस संस्थाले हाल सातै प्रदेशका २१ जिल्लाबाट ३४ सेवा आश्रममार्फत सेवा प्रदान गर्दै आएको छ। जहाँ १ हजार ६ सय ९७ जना आश्रित रहेका छन्। आश्रममा उनीहरूलाई सुरक्षित आवास, पौष्टिक भोजन, स्वास्थ्य उपचार, मानसिक परामर्श दिइनुका साथै आवश्यक पुनर्स्थापनाका लागि पहल गर्दै आएको छ।

संस्थाले हालसम्म करिब १४ हजार जना सडक आश्रितको उद्धार गरिसकेको मानव सेवा आश्रम कास्कीकी संयोजक सम्झना बर्तौलाले जानकारी दिइन्। उनका अनुसार तीमध्ये ५ हजार ८ सय ६१ जना पारिवारिक पुनर्मिलन भएर घर फर्किएका छन् भने १ हजार ८१ जना सामुदायिक पुनर्स्थापना भएको जनाइएको छ। आश्रममा पुगेकामध्ये १ हजार ७ सय ५६ जनाको निधन भइसकेको बर्तौलाले बताइन्।

आश्रम सञ्चालन मात्र नभई मानवता, करुणा र सामाजिक उत्तरदायित्वबारे जनचेतना जगाउन पनि यस संस्थाले भूमिका खेल्दै आएको छ। त्यस्तै, संस्थाले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र बनाउने दीर्घकालीन अभियानसमेत सञ्चालन गरिरहेको बर्तौलाले जानकारी दिइन्।

चेलीबेटी बेचबिखनविरुद्ध सशक्त आवाज बुलन्दसहित अभियान सञ्चालन गरिरहेको माइती नेपाललाई २०७९ सालमा पुरस्कृत गरेर पुरस्कार अर्पण गर्न सुरु गरेको यस संस्थाले महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्र, विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति, आँखाको ज्योति फर्काउन अभियान सञ्चालन गरिरहेको तिलगंगा इन्ष्टिच्यूट अफ अप्थाल्मोलोजीका संस्थापक सन्दुक रुईत र असहायहरूलाई सहारा दिइ आवासीय रूपमा राखेर बस्ने, खाने, स्वास्थ्य उपचार गर्ने कार्य गर्दै आएको सर्लाहीको पद्म भुवनेश्वरी नमूना वृद्ध सेवा आश्रमलाई पुरस्कृत गरिसकेको सचिव कोइरालाले जानकारी दिए।

प्रकाशित: २७ असार २०८३ १५:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App