२५ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

पोखरामा स्कुल बस दुर्घटना : महानगरले बनायो ५ सदस्यीय छानबिन समिति

कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु भएको छ। 

पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको कालिका माध्यमिक विद्यालयको ग.२ ख. १४१७ नम्बरको स्कुल बस ओख्लेभीरमा दुर्घटना हुँदा ३ छात्रा, १ छात्र र एक जना प्रौढ गरेर कुल ५ जनाको मृत्यु भएको हो।

मृत्यु हुने सबैको पहिचान खुलेको छ। मृतकहरूमा १५ वर्षीया ममता तिवारी, १५ वर्षीया शुभेक्षा तिवारी र १४ वर्षिया रुमिका नेपाली, १३ वर्षीय असीम कँडेल र ६५ वर्षीय बाबुराम तिवारी रहेको कास्की प्रहरीले जनाएको छ। मृतकमध्ये ६५ वर्षीय तिवारी विद्यालयको बसमा लिफ्ट मागेर चढेका यात्रु भएको बताइएको छ।

दुर्घटना स्थलबाट बेहोस अवस्थामा उद्धार गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) ल्याइए पनि उनीहरूलाई चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए।

दुर्घटनामा अन्य १५ जना घाइते भएका छन्। घाइते भएकामध्ये एक विद्यार्थीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। टाउको र ढाडमा चोट लागेकी १५ वर्षीया अस्मी कँडेलको अवस्था गम्भीर रहेको अस्पतालका आकस्मिक विभागका चिकित्सक सन्तोष बानियाले जानकारी दिए।

अन्य घाइतेहरूमा पोखरा–२८ कालिकाका आकृति बुढाथोकी, १४ वर्षीया स्नेहा गौतम, १३ वर्षीया सोनिया तिवारी र १३ वर्षीय अंकित पराजुली रहेको छन्।

त्यस्तै, मादी गाउँपालिका–१२ का १५ वर्षिया स्मृती खत्री, १६ वर्षीया स्नेहा तिवारी, १४ वर्षीया आकृती बुढाथोकी, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया सुप्रिया आचार्य, १६ वर्षीय यमन मगर घाइते छन्।

बसका चालक पोखरा–१५ का ५७ वर्षीय तुलबहादुर गुरुङ पनि घाइते छन्। घाइते सबै विद्यार्थीको टाउकोमा चोट लागेको छ भने चालक गुरुङको छाती र ढाडमा चोट लागेको उनले बताए।

यसैगरी, पोखरा–२८ की १६ वर्षीया सृष्टि तिवारी, १६ वर्षीय शिसन थापा मगर र १६ वर्षीय नै सौगात तिमिल्सिना पनि घाइते छन्। उनीहरूको टाउको, ढाड र हातमा चोट लागेको तर बोल्न सक्ने अवस्थामा रहेको चिकित्सक बानियाले जानकारी दिए। ‘केही घाइतेहरूको अवस्था मध्यम छ भने केही सामान्य पनि छन्’, चिकित्सक बानियाले भने।

दुर्घटनापछि शुक्रबार दिनभरी नै अस्पतालमा मृतक तथा घाइतेका आफन्तको भीड लागेको थियो। भावविह्वल अवस्थामा रहेका उनीहरूले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

घटनाको कारण खुलिसकेको छैन। यद्यपि गाडी अत्यन्त पुरानो अवस्थामा रहेकाले प्राविधिक समस्याका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

स्कुल बस भनिए पनि बसमा पहेँलो रङ नपोतिएको देखिएको छ। पोखरा–बेगनास चल्ने बसलाई नै स्कुल बसको रूपमा प्रयोग गरेको पाइएको छ।

चालक घाइते भएकाले दुर्घटनाको यकिन कारण खुल्न नसकेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) बिरेन्द्रकुमार पासवानले जानकारी दिए। उनले भने,‘चालक घाइते भई बोल्न सक्ने अवस्था छैन, अनुसन्धानपछि खुल्ला दुर्घटनाको कारण।’

घटनापश्चात् पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीसहितको टोलीले घटनास्थलको स्थलगत अवलोकन गर्नुका साथै घाइते तथा मृतकका आफन्त भेटेका थिए।

महानगरले बनायो ५ सदस्यीय छानबिन समिति

पोखरा महानगरपालिकाले स्कुल बस दुर्घटनाको छानबिनका लागि समिति बनाएको छ। वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिको सदस्यहरूमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक प्रहरी सहायक निरीक्षक अमृत भट्टराई रहेका छन्।

समितिलाई घटनाको कारणसहित सत्य तथ्य छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको छ। विद्यालय बसको अवस्था, विद्यार्थीको सुरक्षित आवागमनसँगै आगामी दिनमा अपनाउनुपर्ने सावधानीका बारेमा समेत सुझाव पेस गर्न छानबिन समितिलाई निर्देशन दिइएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए।

प्रकाशित: २३ आश्विन २०८३ १६:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App