१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
समाज

लगातार वर्षाले बन्द भएका सडकहरू सुचारु

चार दिन देखिको अविरल वर्षा रोकिएसँगै उदयपुरका सडकहरू सुचारु भएका छन्। 

वर्षा रोकिनुका साथै धुमलिएको आकाश खुलेपछि प्रशासनले रोकिएका दुई सडकसँगै पहिरोले अवरुद्ध सडकहरू मंगलबारदेखि सुचारु हुन थालेका छन्।

जिल्ला प्रशासन कार्यालय उदयपुरले दुई वटा लोकमार्ग कटारी–घुर्मी सिद्धिचरण र साउने–रसुवा खण्डको सगरमाथा लोकमार्गमा रात्रिकालीन यातायात आवागमन बन्द गराएको थियो। ती दुवै लोकमार्गमा प्रशासनले यात्रा गर्न रोक लगाएको थियो।

७२ घण्टासम्म निरन्तर परेको वर्षाले पहाडी भेगका कच्ची सडकहरू पहिरो र हिलोले अवरुद्ध हुन पुगे भने तराईभेगका सडकहरू डुबान र कटानले यातायात चल्न अयोग्य थिए।

प्रशासनले रोक लगाएका दुवै सडक सोमबार बिहानदेखि सुचारु भएका छन् भने वर्षाले भत्के बिग्रेका स्थानीय आन्तरिक सडकहरू पनि दुखसुख सञ्चालनमा आएको यातायात व्यवसायीहरूले बताएका छन्।

गाईघाट–मुर्कुची–माझखर्क हुँदै बाराहा जोड्ने गाईघाट–लिमचुङबुङ सडक, गाईघाट–भुट्टार–रौतामाई खण्ड, उदयपुरगढीका आन्तरिक सडकहरू पनि सुचारु भएका छन्।

यस्तै कटारी नगरपालिकाका पहाडी वडा जोडिएका कच्ची सडकहरू बन्द भएकोमा ती पनि सुचारु भएको स्थानीय कुमार प्याकुरेलले बताए।

यता चौदण्डीगढीको बेलटारदेखि विभिन्न पहाडी भेग जोडिएका सडकहरू पनि चल्न थालेको छ भने बेलका नगरपालिका केन्द्र रामपुरदेखि पहाडी भेगका वडाहरू मैनामैनी, बबला, पोखरे जोड्ने कच्ची सडकहरू पनि सुचारु हुन थालेको बेलका–८ का वडाध्यक्ष जयराम राईले बताए।

वर्षाले डुबान र कटान गरेका कारण यातायात रोकिएका तराई र समथर भेगमा सडकहरू पनि चल्न थालेको हिमाली यातायात व्यवसायी केन्द्र गाईघाटका महासचिव उमेश बस्नेतले बताए।

उनका अनुसार वर्षाले रोकिएका लामो तथा छोटो दूरीका प्राय सबै सडकहरू सुचारु भएका छन्। गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग, मिर्चया–कटरारी–घुर्मी सिद्धिचरण लोकमार्ग तथा आन्तरिक कच्ची सडकहरूमा पनि आइतबार बिहानदेखि यातायात सुचारु भएको महासचिव बस्नेतले बताए।

वर्षाले धेरै सडकहरू प्रशस्त ठाउँमा पहिरोले पुरिएर र ठाउँ ठाउँ भत्किएर बिगारेको अवस्था भने कायम छ। बिग्रे भत्केका सडकहरू गाईघाट–दिक्तेल सडक योजना कार्यालय, कटारी–घुर्मी सडक योजना कार्यालय तथा स्थानीय तहहरूले समन्वय गरेर मर्मत सम्भार गर्ने काम भइरहेको छ।

कतिपय ठाउँमा भने सरकारी सहयोग नपाउँदा यातायात व्यवसायी, उद्योगी, व्यापारी र जनप्रतिनिधिले सर्वसाधारणसँग समन्वय गरेरै पनि सडक मर्मत गरेर यातायात खुलाउने काम गरिरहेका छन्।

उदयपुर पहाड, भित्री मधेस र तराईको संगम जिल्ला भएकाले वर्षा याममा भूगोल पिछे फरक फरक समस्या हुने गरेको छ। सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिका, चौदण्डीगढी, कटारी र बेलका नगरपालिकाका आधा भूभाग पहाडी भेग र आधा तराईमा पर्छन्।

त्रियुगाका १ देखि १३ सम्म भित्री मधेस र तराईमा पर्छन् भने झन्डै आधा भूभाग ओगटेको १४, १५ र १६ नं वडाहरू पहाडी भेगमा छन्।

तराई क्षेत्रमा त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका ३ वटै स्थानीय तहलाई त्रियुगा नदीले वर्षा याममा सताउने गरेको छ। त्रियुगामा मात्र अन्य खोला खहरेहरू सरस्वती, शाही, ठाडी, बरुवा, असारी, कङ, बगाहा र देउरी खोलाहरू सडक अवरोध र खेत बारी डुबान, कटानको कारण बन्दै आएका छन्। चुरे क्षेत्र शिर भएका यी खोलाहरू सामान्य वर्षामै भेलको रूप लिएर उपद्रो गर्ने गरेको स्थानीय बताउँछन्।

उता चौदण्डीगढीमा द्वार खोला, लामा खोला, छाउरी खोलालगायत त्रियुगा नदीका सहायक स्रोतहरू वर्षा याममा बहुलाउने गरेका छन्। बेलका नगरमा सेती, यशोदा, गिनेरी, काली खोलाहरूले पनि वर्षा याममा साम्राज्य जमाउँछन्।

उता कटारीमा तावा, ककुर, वैजनाथ, मौवासी र अँधेरी खोलाहरूले पनि उत्तिकै यात्रामा अवरोध सृजना गर्ने तथा खेतबारी कटान गर्ने गरेका छन्। अहिलेसम्म कतिपय खोलामा पुल पुलेसा नभएका कारण पनि सर्वसाधारणलाई वर्षा याममा घर, बजार, कार्यालय र विद्यालय आउजाउ गर्न समस्या पर्ने गरेको छ।

निर्माणाधीन सडकहरूमा वर्षाले गर्दा सजिलै पहिरो खस्ने भएर पनि सडक अवरुद्ध हुने गरेका छन्। खसगरि वर्षा याममा पहाडी भेगका लिमचुङबुङ, ताप्ली, रौतामाई र उदयपुरगढी गाउँपालिकालाई पुरै सताउने गरेको छ भने नगरपालिकाका पहाडी भेगका वडाबासी समस्या भोग्न बाध्य छन्। पहाडी भेगका सडकमा अहिलेसम्म बोलेरो र मोटरसाइकल मात्रै मुख्य सवारी साधन रहँदै आएका छन्।

बोलेरो व्यवसायीहरूका अनुसार वर्षाले आन्तरिक तथा सदरमुकाम जोड्ने  सडकहरू भत्के बिग्रेर यात्रुलाई सास्ती दिने गरेका छन्। गाईघाटदेखि मुर्कुची, पुँवारे, माझखर्क हुँदै लिमचुङबुङ केन्द्र जोडिएको सडक दर्जनौँ ठाउमाँ पहिरोले पुरिएर बोलेरो र मोटरसाइकलसम्म चल्न नसक्ने अवस्था भएकाले मर्मत गर्दै चलाउनु परेको चालक दीपक मगरले बताए।

प्रकाशित: १३ आश्विन २०८३ १२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App