२३ असार २०८३ मंगलबार
image/svg+xml
समाज

पोखरा–मुग्लिन सडकको म्याद तेस्रो पटक थपियो

पोखरा–मुग्लिन सडक (पश्चिम खण्ड) आयोजनाको निर्माण अवधि तेस्रो पटक थपिएको छ।

तनहुँको जामुनेदेखि कास्कीको पोखरा पृथ्वीचोकस्थित सेती पुलसम्मको ३८.७१ किलोमिटर सडक स्तरोन्नति तोकिएको मिति असार १६ गतेसम्ममा नसकिएपछि तेस्रो पटक म्याद थपिएको हो।

२०७८ साल जेठ ३ गते निर्माण सम्झौता भई दुई वर्षमा सक्ने लक्ष्य लिइएको यस सडक खण्ड विविध कारणले समयमै नसकिएपछि यसअघि दुई पटक एक÷एक वर्ष निर्माण अवधि थपिएको थियो। तर दोस्रो पटकको म्याद सकिदा पनि निर्माण सम्पन्न नभएपछि तेस्रो पटक निर्माण अवधि ५ महिना थपेर २०८३ साल मंसिर १० गतेसम्म लम्ब्याइको आयोजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए।

प्रि–मनसुनको प्रभाव, पेट्रोलियम पदार्थको मूल्यवृद्धि लगायतका कारणले निर्माण कार्य प्रभावित भई निर्माण कार्यमा ढिलाइ भएकाले म्याद थप गरिएको उनले प्रस्ट्याए। ‘थपिएको म्याद भित्र निर्माण सम्पन्न गर्ने गरी अहिले काम भइरहेको छ’, उनले भने।

यस खण्डमा अब लेखनाथस्थित पोखरा विश्वविद्यालय अगाडिको क्षेत्रमा ३ सय ५० मिटर मात्र पिच हुन बाँकी छ। त्यस क्षेत्रमा रेनफोर्स स्वाईल वाल निर्माण कार्य भइरहेकाले पिच निर्माण हुन बाँकी रहेको उनले बताए।

त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा रहेका २९ वटा विद्युत् पोल नहटाउँदा त्यस क्षेत्रमा पनि निर्माण कार्य प्रभावित भएको छ। उनले भने,‘अन्य सबै क्षेत्रमा साइड क्लियर भइसके पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रका पोल हटाउन ढिलाइ हुँदा त्यसको असर सडक निर्माणमा परेको छ। पोल हट्ने बित्तिकै त्यहाँको काम पनि सकिन्छ।’ विमानस्थलको बोर्ड बैठक बस्नमा ढिलाइ भएकाले पोल सार्न ढिलाइ भएको र त्यसको असर बाटो निर्माणमा परेको उनले बताए।

यस पश्चिम खण्डको भौतिक प्रगति ८२.२७ प्रतिशत तथा वित्तीय प्रगति ७२.१७ प्रतिशत पुगेको आयोजना प्रमुख कुँवरले जानकारी दिए। उनका अनुसार हालसम्म ३८.३६ किलोमिटरमा प्रथम तहको चार लेन सडक कालोपत्रे भएको छ भने ३७.२८ किलोमिटर सडकमा दोस्रो तहको कालोपत्रे भएको छ।

त्यस्तै, यस सडक खण्डमा ३६.३९ किलोमिटर सडकमा सर्भिस लेन निर्माण गर्नुपर्नेमा २३.५२ किलोमिटर मात्रै सर्भिस लेन निर्माण भएको छ।

चालु आर्थिक वर्षमा मात्रै यस खण्डमा १२.३५ किलोमिटरमा चार लेनमा कालोपत्रे, २४.७० किलोमिटरमा दुई लेनमा प्रथम तहको कालोपत्रे काम सम्पन्न भएको छ। त्यस्तै, ३७.२८ किलोमिटर चार लेनमा सडक कालोपत्रे गरिएको उनले बताए।

यस खण्डमा चालु आर्थिक वर्षमा १२ वटा पुल निर्माण गर्ने लक्ष्य लिइएकोमा १२ वटै पुल, १०५ वटा कल्भर्ट बनाउने लक्ष्य लिइएकोमा सबै कल्भर्ट निर्माण सम्पन्न गरिएका छन् भने ६०.१४ किलोमिटर नाली निर्माण गर्ने लक्ष्य लिइएकोमा ६०.१४ किलोमिटर नाली निर्माण सम्पन्न भएको छ।

यसैगरी यस खण्डमा ७७.०५ किलोमिटरमा रोड सेफ्टी ब्यारियर (डब्लु बिम) निर्माण गर्ने लक्ष्य लिइएकोमा १७ किलोमिटर मात्रै डब्लुबिम निर्माण सम्पन्न भएको आयोजना प्रमुख कुँवरले जानकारी दिए।

यस खण्डमा हाल सर्भिस लेनको काम भइरहेको छ भने सेती पुलको निर्माण कार्य जारी छ। सडक निर्माण कार्य अन्तर्गत पोखरा विश्वविद्यालय अगाडिको भागमा रेनफोर्स वाल निर्माण कार्य जारी रहेको आयोजना प्रमुख कुँवरले जानकारी दिए। उनले भने, ‘त्यसबाहेक विभिन्न ठाउँमा सेफ्टी ब्यारियर राख्ने काम र थर्मोप्लास्टिक पेन्ट (रोड मार्किङ) कार्य जारी छ।’

पोखरा–मुग्लिन सडक खण्ड निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै आवतजावतमा सहज भएको छ। पोखरा–काठमाडौं र चितवन हुँदै पूर्व जानेहरुका लागि सडक पहुँच सहज भएपछि यात्रा सहज हुनुका साथै यात्रा अवधि पनि छोटिएको छ।

सडक निर्माण हुनुअघि ४ देखि ६ घण्टासम्म लाग्ने पोखरा–मुग्लिन सडकको यात्रा अवधि छोटिएर अहिले डेढदेखि दुई घण्टामा झरेको छ। त्यस्तै झन्झटिलो यात्रा पनि सहज बनेको यात्रुहरू बताउँछन्।

यात्रा अवधि छोटिनुका साथै सहज पनि भए पछि सडक मार्गबाट आवतजावत गर्नेको संख्या पनि बढेको छ। यससँगै पोखरा र आसपासका क्षेत्रमा पर्यटक आगमनमा समेत वृद्धि ल्याएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए।

‘यात्रा अवधि पनि लम्बियो, यात्रा पनि सहज बन्यो’,उनले भने,‘पहिले हवाई मार्गबाट यात्रा गर्नेहरू अहिले सडक सहज भएसँगै सडक मार्गबाट आवतजावत गर्न थालेका छन्।’

अर्कोतर्फ छिमेकी देश भारतबाट आउने पर्यटकको संख्या पनि सडक पहुँचले ह्वात्तै वृद्धि गरेको छ। सडक निर्माण सम्पन्न भई सञ्चालनमा आएको, यात्रा सहज भएको र सडक यात्रा सुरक्षित भएको सन्देश फैलिएपछि भारतीय पर्यटकको आगमनमा सकारात्मक प्रभाव परेको उनको भनाई छ।

प्रकाशित: २३ असार २०८३ १८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App