पोखरामा प्याराग्लाइडिङ सुरु भएको तीन दशक पुगेको छ। सन १९९६ बाट सुरु भएको पोखराको प्याराग्लाइडिङको व्यवसायीक यात्राले तीन दशक पार गरेको हो।
कम्पनी खडा नगरी सिक्ने थलोको रूपमा प्रशिक्षणात्मक उडानबाट सुरु भएको पोखराको प्याराग्लाइडिङले सन २००० देखि व्यवसायीक रूप लिएको थियो। जति बेलादेखि कम्पनी खडा गरेर व्यवसायीक रूपमा प्याराग्लाइडिङ उडान भर्न थालियो।
७ कम्पनीबाट सुरु भएको प्याराग्लाइडिङमा अहिले ५७ कम्पनी पुगेका छन्। र यसमा हालसम्म करिब एक अर्ब लगानी भएको प्याराग्लाइडिङ व्यवसायीहरूको साझा संस्था नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष अनिल केसी बताए।
सुरुवातमा ३ नेपाली प्यारापाइलटले सुरु गरेको यस यात्रामा हाल ४ सय १३ प्यारापाइलट जोडिएका छन्। विदेशीको वर्चस्व रहेको प्यारापाइलटमा अहिले नेपालीको एकल वर्चस्व रहेको अध्यक्ष केसीले जानकारी दिए।
पोखराको प्याराग्लाइडिङको टेकअफ (उडान) पोखरा–१८ सराङकोटभन्दा केही तल १ हजार ५ सय मिटरको उचाइमा रहेको सराङकोट तथा तोरीपानीको बाहाकोटबाट हुँदै आएको छ भने फेवातालको ईण्ड अफ दी लेक (खपौंदी) र पामेदेखि केही माथि चंखपुरमा ल्यान्डिङ (अवतरण) हुँदै आएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै उडानमा बाधा पर्ने भन्दै सराङकोटबाट टेकअफ मान्द्रेढुंगा सारिएपछि प्याराग्लाइडिङ यात्रुको चाप कम भएको थियो।
तर प्याराग्लाइडिङका कारण विमानस्थलबाट उड्ने जहाजमा असर नगर्ने भन्दै व्यवसायीले दबाब दिएपछि नेपाल हवाई उड्डयन प्राधिकरणले नियमन गर्ने गरी सराङकोटबाटै उडान अनुमति दिएपश्चात् सोही ठाउँबाट नियमित उडान र अवतरण हुँदै आएको छ।
सराङकोटबाट उडान गर्दा पोखरा बजारबाटै नाङ्गो आँखाले देखिने भएकाले व्यवसायमा यसको सकारात्मक प्रभाव देखिने गरेको छ। जसका कारण प्याराग्लाइडिङ गर्ने संख्यामै फरक पर्ने गरेको छ।
तर बेलाबेलामा आउने प्राकृतिक विपत्ति भूकम्प, बाढी, पहिरोलगायतका कारण पर्यटन आगमनमा कमी आएसँगै प्याराग्लाइडिङ गर्ने संख्यामा पनि कमी आउने गरेको अध्यक्ष केसीले बताए।
उनका अनुसार कुनै बेला प्याराग्लाइडिङ गर्ने पर्यटक वार्षिक १ लाख ५० हजार नाघ्थ्यो। तर अहिले यो घटेर ७० हजारदेखि ८० हजारमा खुम्चिएको छ।
पोखरामा आएका २० प्रतिशत पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको अनुमान गरिन्छ। अझ पोखरा आएका ८० प्रतिशत चिनिया पर्यटकले प्याराग्लाइडिङ गर्छन् भन्ने विश्वास गरिन्छ।
किनकि नेपालीले दसैँमा पिङ खेलेजस्तो चिनियाँहरुमा पनि ‘वर्षमा एक पटक भुईँ छोड्नैपर्छ’ भन्ने मान्यताका कारण उनीहरू त्यसका लागि प्याराग्लाइडिङ गर्न पोखरा आउँछन् भन्ने गरिन्छ।
त्यसबाहेक भारत, एसियाली मुलुक, युरोप, अस्ट्रेलिया, अमेरिकाबाट आएका पर्यटकहरू पनि साहसिक पर्यटनमा रमाउने गरेका छन्।
त्यसैले त पोखराको पर्यटनमा प्याराग्लाइडिङ पर्यायजस्तै बनेको नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेल बताउँछन्। ‘प्याराग्लाइडिङ बिनाको पोखराको पर्यटन सोच्न पनि सकिँदैन’,उनले भने,‘तर यसको सुरक्षामा भने विशेष ध्यान दिनुपर्छ।’
उनले पोखराको पर्यटनलाई बाह्रैमास गुलजार बनाउन जल, जमिन र आकाश तीनवटै क्षेत्रमा समानान्तर गतिविधि गर्नुपर्ने बताए। त्यसका लागि जमिनमा भौगोलिक तथा सांस्कृतिक गतिविधि, आकाशमा प्याराग्लाइडिङसहित अल्ट्रालाइटदेखि स्काइडाइभिङसम्मका गतिविधि भइरहेका छन्। तर अब पोखरामा जल अर्थात् पानीमा वाटर स्पोर्टस् सञ्चालन गरेर पर्यटक आकर्षित गर्नुपर्ने उनको सुझाव छ।
पोखराको प्याराग्लाइडिङले त्यत्तिकै चर्चा पाएको भने होइन। यहाँको हिमाल, ताल र प्राकृतिक छटाहरुले पर्यटकलाई मोहित बनाउँछ। त्यसमा झन् ‘हावामा कावा’ खाँदै हिमाल र तालको दृश्यावलोकन गर्दै त्यसको दृश्य कैद गर्नुको मज्जा नै छुट्टै हुन्छ।
यसमा रमाउने पर्यटक खर्च गर्न सक्ने अर्थात् पोखरेली पर्यटन व्यवसायीले भनेको गुणस्तरीय पर्यटक हुन्। पोखराको पर्यटनमा प्याराग्लाइडिङको भूमिका महत्त्वपूर्ण रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए। तर विभिन्न क्राईट एरिया तोकेर प्याराग्लाइडिङलाई खुम्च्याउन खोजिएको गुनासो गरे।
एड्भेन्चरल गतिविधिमा विभिन्न क्राईट एरिया तोकेर कतै हामीले कठघरामा थुनेर बन्देज लगाउने काम गरेका छैनौँ ? भन्ने प्रश्न गर्दै उनले भने,‘बरु यसलाई बिना बन्देज खुल्ला आकाशमा उड्न दिएर जल, जमिन र आकाशको माध्यमबाट पोखराको पर्यटनलाई विश्वमा ब्राण्डिङ गरोस् सरकारले।’
पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य पनि प्याराग्लाइडिङ पोखराको पहिचान भएको स्विकार्छन्। नेपाल हवाई खेलकुद संस्था (ना)को २३ औँ साधारण सभा तथा १२ औँ अधिवेशनलाई बुधबार सम्बोधन गर्दै उनले भने,‘पोखराको पर्यटनमा यसको महत्त्वपूर्ण योगदान छ तर यसलाई सुरक्षित बनाउन भने जरुरी छ।’
यसका लागि व्यवसायी र प्यारापाइलटले स्वास्थ्य र सुरक्षाका मापदण्डहरू पूर्ण रूपमा पालना गरेर उडान, अवतरण गर्नुपर्ने उनको सुझाव छ।
पोखराको प्याराग्लाइडिङलाई बचाई राख्नकै लागि पोखरा–दुबई उडानलाई रातीको समयमा उडान तालिका बनाइएको उनको दाबी छ। ‘अन्तर्राष्ट्रिय उडान पनि चलोस्’,उनले भने,‘पोखराको परिचय बोकेको प्याराग्लाइडिङ पनि चलोस् भनेर यसो गरिएको हो।’
नेपाल उड्डयन प्राधिकरणका फ्लाई सेप्टी विभाग प्रमुख प्रभाकरचन्द्र मल्लिकले पोखराको पर्यटनको जग बनेको प्याराग्लाइडिङ नियमन गर्दै सञ्चालन गर्न जरुरी रहेको बताए। कुनै पनि दुर्घटना नहोस् भन्नका लागि नियमन जरुरी रहेको उनको प्रस्टोक्ति थियो।
आफूहरू पनि प्याराग्लाइडिङ पोखरामा रहिरहोस् भन्ने पक्षमा रहेको बताउँदै उनले भने,‘त्यसका लागि सुरक्षा सतर्कतामा ध्यान दिनुपर्यो, व्यवसायी र प्यारा पाइलटहरू सचेत भएर नियम पालना गर्नुपर्यो।’
पोखराको प्याराग्लाइडिङले गुणस्तरीय पर्यटक भित्राउन सघाइरहेको ‘ना’का अध्यक्ष केसीले बताए। ‘प्याराग्लाइडिङ गर्नकै लागि भनेर पोखरा आउने पर्यटकको हिस्सा पनि राम्रै छ’,उनले भने,‘ आएका खर्चालु पर्यटकको बसाई लम्ब्याउन पनि यसको भूमिका उत्तिकै छ।’
उनका अनुसार ११ हजार ५ सय सम्म पुगेको प्याराग्लाइडिङ शुल्क हाल घटेर ८ हजार ५ सयमा झरेको छ। त्यसमा पनि हाल ३७ प्रतिशतसम्म छुट दिएर उडान भइरहेको उनले बताए।
प्रकाशित: ७ आश्विन २०८३ १६:४७ बुधबार





