वर्षापछि खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बालक छिमेकी जिल्ला सिरहामा मृत फेला परेका छन्।
बुधबार दिउँसो खोलामा नुहाउन जाँदा बाढीले बगाएर बेपत्ता भएका जिल्लाको कटारी नगरपालिका–२ का ९ वर्षीय बालक बिहीबार दिउँसो सिरहामा मृत फेला परेका हुन्।
कटारी नगरपालिका–२ गराँसस्थित गौरीटोलका स्थानीय च्याङ्बा तामाङका ९ वर्षीय छोरा गणेश नुहाउने क्रममा बाढीले बगाएको थियो। कमला र नराङ्गे खोलाको दोभानमा साथीहरूसँग नुहाउन गएका गणेशलाई एक्कासि आएको बाढीले बगाएर बेपत्ता पारेको थियो।
अघिल्लो दिउँसोदेखि हराइरहेका बालक २४ घण्टापछि सिरहाको बन्दीपुरस्थित चिसापानी क्षेत्रमा मृत अवस्थामा फेला परेको कटारी नगरपालिका–२ का वडाध्यक्ष प्रेमबहादुर थापा क्षेत्रीले बताए। बालक हराएदेखि नै प्रहरी र आफन्तको संयुक्त टोलीले विभिन्न स्थानमा खोजीकार्य गरिरहेको अवस्थामा सिरहामा शव फेला परेको उनले जानकारी दिए।
मृत बालकको शव प्रहरीले सिरहाबाट कटारी ल्याइसकेको र कटारी प्रादेशिक अस्पतालमा पोस्टमार्टमको प्रक्रिया चलिरहेको वडाध्यक्ष थापाले बताए। पोस्टमार्टमपछि शव आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको उनले जानकारी दिए।
प्रकाशित: ३२ असार २०८३ १९:२९ बिहीबार





