१५ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

जुम्लामा बजार अनुगमन : म्याद गुज्रेका खाद्यवस्तु भेटिए

चाडपर्व नजिकिँदै गर्दा जुम्लामा गरिएको बजार अनुगमनका क्रममा म्याद सकिएका खाद्यवस्तुदेखि अखाद्य सामग्रीसम्म भेटिएका छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका अनुसार सोमबार र मंगलबार १६ तथा बुधबार थप ९ गरी २५ वटा पसलमा अनुगमन गरिएको हो।

अनुगमनका क्रममा म्याद सकिएका दूध पदार्थ, पेय पदार्थ र मिठाइँ फेला पर्नुका साथै खाद्य तथा अखाद्य वस्तु एकै ठाउँमा राखिएको, सरसफाइमा कमी भएको र खाद्यवस्तुमा अस्वीकृत रंग प्रयोग गरिएको पाइएको छ। खाद्य कार्यालयका प्रमुख सुवास तिमिल्सिनाका अनुसार सोमबार र मंगलबार गरिएको अनुगमनका क्रममा १८ हजार ५ सय ५० रुपैयाँको सामान नष्ट गरिएको छ।

चन्दननाथ नगरपालिका-४ मा रहेको कालिका जनरल स्टोर, स्वदेश मार्ट तथा नगरपालिका-५ मा अवस्थित देवराज मिठ्ठान भण्डार, अर्मन एण्ड अमन जनरल स्टोर, सगरमाथा मिठाइँ भण्डार, दर्ता चन्दननाथ, रहिम बिहानी चन्दननाथ, महत फ्रेस हाउस, भवानी ताजा फलफूल, सरस्वती डेरी पसल, अनुस जनरल स्टोर, भुवनेश्वरी रोकाया खुद्रा, श्री श्याम सप्लायर्स, सागर ट्रेड्स सप्लायर्स, न्यौपाने जनरल स्टोर र समाज जनरल स्टोरमा अनुगमन गरिएको हो।

अनुगमनका क्रममा म्याद सकिएका दूध पदार्थ, पेय पदार्थ, खाद्य तथा अखाद्य वस्तु एकै ठाउँमा राखिएको, सरसफाइमा कमी, मसीले लेखिएको कागज फेला परेको तथा आलु चपमा कलर प्रयोग गरिएको पाइएको तिमिल्सिनाले बताए। त्यस्तै, म्याद सकिएका मिठाइँसमेत भेटिएको उनले बताए। खाद्य स्वच्छता ऐन, २०८१ बमोजिम बजार अनुगमन तथा निरीक्षण गरिएको हो।बुधबार चन्दननाथ नगरपालिका-६ बसपार्कमा रहेका थप ९ पसलमा अनुगमन गरिएको छ।

बि एन सप्लायर्स, बिधान जनरल स्टोर, प्रणय जनरल स्टोर, आर बि सप्लायर्स, सूर्य स्टोर, भूपू सैनिक जनरल स्टोर, न्यु आकृति अडर सप्लायर्स, सिद्धार्थ किराना पसल र उमा न्यौपाने पसलमा निरीक्षण गरिएको हो। ती पसलबाट ३४ हजार १ सय ६० रुपैयाँको अखाद्य सामान जफत गरी नष्ट गरिएको छ। ऐनले खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर कायम गर्ने, नियमन गर्ने र उपभोक्ताको स्वास्थ्य तथा हित संरक्षण गर्ने कानुनी आधार दिएको छ।

ऐनको उद्देश्यअनुसार खाद्य पदार्थको स्वच्छता र गुणस्तर कायम राख्नु तथा उपभोक्ताको स्वास्थ्यमा असर पार्ने खाद्य पदार्थको नियमन गर्नु बजार अनुगमनको मुख्य कानुनी आधार हो।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाको आयोजनामा जिल्ला प्रशासन कार्यालय जुम्ला लगायतका सरोकारवाला निकायको संयुक्त आयोजनामा बजार अनुगमन गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलको संयोजकत्वमा उद्योग कार्यालय, कर कार्यालय लगायतको सहभागीता थियो।

प्रकाशित: १५ आश्विन २०८३ ०८:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App