उदयपुरको पश्चिमी व्यापारिक केन्द्र कटारी बजारमा टिपर व्यवसायीको बन्दका कारण मदन भण्डारी लोकमार्गको आवागमन प्रभावित भएको छ।
स्थानीयवासीले निर्बाध रूपमा टिपर चलाउन नदिँदा व्यवसायमा गम्भीर असर पुगेको भन्दै टिपर व्यवसायीले बिहीबार बिहानदेखि कटारी बजारमा टिपर रोकेर बन्द गर्दा लोकमार्गको आउजाउ असहज भएको हो।
कटारी नगरपालिका–३ स्थित कटारी बजारमै टिपर तेर्साएर विरोध गरेपछि कटारी–६ रिस्कु–७ मौवासी हुँदै छिमेकी स्थानीय तह उदयपुरगढी–६ नेपालटारसम्म गाडीको जाम हुन पुगेको छ।
नेपालटारका शिक्षक श्याम खत्रीका अनुसार कटारीमा बिहानदेखि सुरु भएको जाम १२ः३० बज्दा नेपालटारसम्म आइपुगेको छ। कटारीको घटना ३ घण्टामा २६ किलोमिटर पूर्व नेपालटारसम्म जाम हुँदा हजारौँ यात्रु अलपत्र परेको खत्रीले बताए।
प्रायः सडक छेउमै पसल, खाजा घर र होटलहरु भएकाले यात्रुलाई सहज भए पनि कतिपय ठाउँ जंगल र गाउँ बस्ती नभएकाले त्यस्ता ठाउँमा रोकिएका गाडीका यात्रुहरू अलपत्र परेको स्थानीय पूर्ण मगरले बताए।
कटारीदेखि रिस्कुसम्म बस्ती भएकाले पानी, खाजा किनेर खाने ठाउँ छ तर, राईटोलस्थित वैजनाथ खोला पुल तरेपछि पूर्वतर्फ गोहीया, मौवासी, दनुवार बेँसी र नेपालटारसम्म बीचमा बस्ती र पसलहरू नहुँदा यात्रु सकसमा परेको मगरले बताए।
नेपालटारमा रोकिएका गाडीका यात्रुहरू भने होटल पसल प्रशस्त भएकाले उत्रिएर खाजा पानी खान पाएका छन्। कटारीदेखि पूर्वतर्फ नेपालटारसम्म जाम हुँदा पश्चिमतर्फ ३० किलोमिटर भिमानसम्मै जाम परेको अनुमान स्थानीयले गरेका छन्।
जामका कारण नजिकिएको दसैँ तिहारका लागि घर फर्कँदै गरेका तथा अन्य कामले लामो छोटो दूरी तय गरेको गन्तव्य प्रभावित भएको छ।
खासगरी कटरी नगरपालिका–८ सिरिसे, आहाले, पट्नाभन्ज्याङ र मरुवाक्षेत्रका बासिन्दाले चुनढुंगा ढुवानी गर्ने टिपरका कारण अत्यधिक प्रदूषण बेहोर्नुपरेको गुनासो गर्दै आएका छन्।
वर्षौँदेखि मारुती, कसमस र सौर्य सिमेन्ट उद्योगका लागि चुनढुंगा बोक्ने टिपरहरू सो रुट भएर रातदिन हिँड्ने गर्दा धुवाँ, धुलोले वातावरण प्रदूषण गर्नुका साथै बालीनाली, खानेपानी र भान्सासम्म धुलो खानुपर्ने बाध्यता रहेको उनीहरूको भनाई छ।
त्यसले मानव स्वास्थ्यमा अत्यन्त नकारात्मक असर पर्ने तथा सवारी साधनको ध्वनि प्रदूषणले विद्यार्थी, बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा असर र दुर्घटना हुने गरेको भन्दै स्थानीयले टिपर चलाउन वैकल्पिक मार्ग अपनाउनुपर्ने माग गर्दै आएका छन्।
तर, सरोकारवाला निकाय, प्रशासन, प्रहरी र जनप्रतिनिधिले यस विषयमा वास्तै नगरेको भन्दै बेलाबेलामा टिपर चल्नमा रोक लगाउँदै आएका छन्।
यस्तो मागसहित स्थानीयले पटक पटक बन्द हडताल गर्दा टिपर व्यवसायमा गम्भीर असर पर्दै आएको गुनासो टिपर व्यवसायीहरूको छ।
टिपर माथि स्थानीयले गर्ने पटक पटकको अवरोध सह्य नहुने भन्दै बाध्य भएर बन्द हडतालमा उत्रिनु परेको गुनासो व्यवसायीहरूको छ।
उनीहरूले सुरक्षित र निर्बाध तरिकाले टिपर चलाउन पाउनुपर्ने, पेसा व्यवसाय स्वतन्त्र ढंगले गर्न पाउनुपर्ने ग्यारेन्टी नगरेसम्म बन्द नखोल्ने अडानसमेत लिएका छन्।
बन्दकर्ताको माग सम्बोधन गर्ने विषयमा कटारी नगरपालिकामा छलफल भइरहेको र छिटै यातायात सुचारु गर्ने प्रयास गरिने इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी उपेन्द्र खरेलले बताए।
उनका अनुसार कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ जिल्लाबाहिर भएकाले उपप्रमुख गीता खड्काले छलफलको सुरुवात गराएकी छिन्।
इलाका प्रशासन कार्यालय कटारी, इलाका प्रहरी, टिपर व्यवसायी र स्थानीय सरोकारवालालाई सहभागी गराएर छलफल अगाडि बढाइएको छ।
छलफलको क्रममा मेयर श्रेष्ठ फर्केपछि आउँदो सोमबार नगरपालिकामा प्रहरी, प्रशासन, जनप्रतिनिधिलगायत स्थानीय सरोकारवालाहरूलाई राखेर सर्वपक्षीय छलफल गर्ने उपमेयर खड्काले बताएकी छिन्।
बारम्बार बल्झँदै आएको टिपर व्यवसायी र स्थानीय बासीबिचको समस्याको दिगो र दीर्घकालीन समाधान गर्ने गरी व्यापक छलफल गर्न आउँदो सोमबार सबैलाई बोलाउने आश्वासन दिएपछि छलफल सहमति नजिक पुगेको छ।
आफ्नो प्रस्ताव मान्नेतर्फ छलफल अघि बढेकाले अव चाँडै टिपर व्यवसायीको बन्द फिर्ता हुने र यातायात सुचारु गर्ने उपमेयर खड्काले बताइन्।
प्रकाशित: २२ आश्विन २०८३ १४:३९ बिहीबार





